एकैदिन सुनको मूल्य १८ सयले घट्यो
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा प्रतितोला एक हजार ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ ।
सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन मंगलबार एक हजार ८०० ले ओरालो लागेको हो । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ ।