अफगान सेनाको हवाइ आक्रमणमा ६ तालिबान लडाकु मारिए, ४ घाइते
काबुल : अफगानिस्तानमा यहाँको सेनाको गरेको हमलाबाट कम्तिमा ६ तालिबान लडाकु मारिएका छन् । ४ जना घाइते छन् ।
सोमबार राति उत्तरी बाल्ख प्रान्तको ग्रामीण क्षेत्रमा सरकारी फौजले आक्रमण गरेको थियो । तालिबानी शिविरलाई लक्षित गर्दै सेनाको एयर फोर्सले आक्रमण गरेको जनाएको छ ।
पछिल्लो केही सातादेखि नै देशका विभिन्न क्षेत्रमा सशस्त्र समूहको आक्रमण बढ्न थालेपछि सेनाले कारवाही गरेको जनाएको छ । अफगानिस्तानका विभिन्न ग्रामीण इलाकामा तालिबान लगायत विभिन्न सशस्त्र समूह सक्रिय रहँदैआएका छन् ।
गत साता मात्रै राजधानी काबुल नजिकै सशस्त्र समूहको हमलाबाट ८ जना मारिएका थिए । २० वर्षदेखि युद्धरत तालिबानसँग भने अफगान सरकारले वार्ता प्रक्रिया अघि बढाएको छ । यद्यपि दुबै पक्षबाट वार्ताको क्रममा भएका सम्झौता उल्लंघन हुँदैआएका छन् ।