बर्दिबास बालिका हत्या प्रकरण : घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगियो
बर्दिबास : प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका संजय न्यौपानेलाई हेलिकोप्टरबाट र श्याम कार्कीलाई एम्बुलेन्सबाट काठमाडौं लगिएको हो।
उनीहरुको स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको हो। अर्का घाइते अफतब आलमको भने बर्दिबासकै हस्पिटलमा उपचार भइरहेको छ । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही राउण्ड गोली चलाएको थियो ।
सहिद आलमकी ६ वर्षीया छोरी इन्तजार भनिने गुलाश साह खातुन मंसिर ७ गते बेलुकादेखि बेपत्ता भएकी थिइन्। फुपुको घरमा खेल्दै गर्दा उनी आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएकी थिइन्।
उनको शव सोमबार मध्य रातमा बर्दिबास- १४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा भेटिएको थियो ।हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।