नदेखिएको जात देखाए भुर्तेलले
काठमाडौं : राज्यले जातीय छुवाछूतको अन्त्य गरे पनि व्यवहारमा लागू हुन सकेको छैन। दूरदराजको कुरा छाडौं सहरिया, शिक्षितहरू नै यो कुरा मान्न तयार छैनन्। यस्तो अवस्थामा पीडितहरू जो दलित भएकै कारण अमानवीय व्यवहार सहँदै आएका छन्। यस्तै विषयमा अन्तरजातीय विवाह सम्बन्धी मार्मिक र चेतनामूलक चलचित्र ‘नदेखिएको जात’ निर्माण भएको छ।
नेपालमा तिनै उत्पीडित जातिको नाममा ब्रम्हलुट मच्चिएकै छ। राजनीति भएकै छ। र, एउटा ‘नदेखिएको जात’ जो उत्पीडनबाट मुक्ति खोजिरहेको छ त्यही मुक्तिको खोजीमा यो समाजसँग लडिरहेका छन् निर्देशक वेदप्रसाद भुर्तेल। समाजमा रहेको अन्धविस्वासको पर्खाल तोड्नुपर्छ भन्ने सोचले २०६८ पुसमा अन्तरजातीय विवाह गरेका भुर्तेल अहिले आफ्नो परिवार र समाजसँग मात्र होइन, कानुन बनाएर लागू गर्न नसक्नेसँग पनि एक्लै लरिहेका छन्।
झापाको अर्जुनधाराकी नीलम सुनाम दर्जीसँग प्रेम विवाह गरेका भुर्तेलले आफ्नै गाउँ चुलाचुली पुगेर पुसमै विवाह दर्ता गराएको भए पनि सोही सालको चैतमा जिल्ला अदालत विराटनगरबाट सम्बन्ध विच्छेद भएको थियो। कानुनी रूपमा सम्बन्धविच्छेद भए पनि उनीहरूको प्रेम टुटेको भने थिएन। घर परिवार र समाजलाई देखाउन सम्बन्ध विच्छेद गर्न बाध्य भएका उनीहरूको पाँच वर्षे छोरा छन्। अदालती कागजमा उनीहरूबीच सम्बन्ध विच्छेद छ। यिनै कथावस्तु समेटिएर चलचित्र ‘नदेखिएको जात’ निर्माण भएको हो जसको छायांकन सम्पन्न भई प्राविधिक कार्य भइरहेको छ।
चलचित्रमा निर्माणमा लीला बम्जन, चन्द्र स्याङ्तान, श्यामकुमार बन, माधव गिरी, सन्तोष घिमिरे, नवीन आचार्यले भुर्तेललाई साथ दिएका छन्। चलचित्रमा सन्तोष श्रेष्ठको संगीतमा प्रमोद खरेल र प्रविशा अधिकारीको स्वर छ भने कलाकारमा संजोग राना, जानवी बस्नेत, लय संग्रौला, विशाल पहारी, अनिता केसी, रुकु विष्ट, किरण थापा, चन्द्र स्याङ्तान, विकास नेपाल, विष्णु गिरी आदि छन्।