उद्योग व्यवसायको मर्यादा जोगाउने मेरो जिम्मवारी छ

उद्योग व्यवसायको मर्यादा जोगाउने मेरो जिम्मवारी छ

उद्योग व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि राजधानीमा ५४ औं वार्षिक साधारणसभा र  अधिवेशन हुँदैछ। अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ। महासंघसँग आबद्ध देशभरका उद्योग व्यवसायीका लागि यो अधिवेशन र साधारणसभा कुम्भमेलाभन्दा कम हुनेछैन। आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि शेखर गोल्छा विधानतः स्वत अध्यक्ष हुने व्यवस्था छ।

आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी दिएका छन्। दुवै पक्षधर आफूहरू विजयी हुने दाबी गरिरहेका छन्। प्रधानसँग अन्नपूर्णकर्मी तुलसी सुवेदीले गरेको कुराकानी :


चुनावी तयारी कस्तो छ ?

चुनावी तयारी राम्रो छ। जिल्ला, नगर, वस्तुतर्फका साथीहरूले हौसला र विश्वास दिनुभएको छ। यसपटक हाम्रो टिम नै आउने देखिएको छ। निर्वाचित भइसकेपछि जिल्ला, नगर, वस्तुगत र एसोसिएटका समस्या कसरी समाधान गर्ने भन्ने विषयमा अध्यक्षले कार्यक्रम ल्याउँदै हुनुहुन्छ। जसले देशको अर्थतन्त्रमा सघाउ मात्र पुग्ने छैन सबै निजी क्षेत्रलाई एकीकृत गर्ने प्रयासको सुरुवातसमेत हुनेछ।

हुनेवाला अध्यक्षको भनाइअनुसार नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघको सहमति लिएर निजी क्षेत्रको राष्ट्रिय एजेन्डा बनाउने र त्यसमा सहकार्य गर्ने योजना तयार हुँदैछ। त्यही एजेन्डामा अघि बढ्ने छौं। कोरोना भाइरस (कोभिड १९) ले अर्थतन्त्र मारमा परेको छ। तीन चरणमा सम्बोधन गर्ने कार्यक्रम तय हुँदैछ। 

कोरोना भाइरसका कारण अर्थतन्त्र कमजोर भएको छ, तपाईं वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दै हुनुहुन्छ, अर्को कार्यकालको अध्यक्षसमेत हुने भएकाले नयाँ र फरक खालको केही योजना ल्याउनुभएको छ ?

अब आउने तीनवर्षे कार्यकाल शेखर गोल्छाको नेतृत्वमा काम गर्छाैं। उहाँको बनाएका योजना, निर्देशन र सहकार्यमा काम गर्ने सोच छ। कृषि क्षेत्रमा व्यावसायिक योजना मैले एक दशकदेखि नै सोच्दै आएको छु। अर्र्बाै, खर्बाै रुपैयाँको कृषिजन्य वस्तु आयात भइरहेको अवस्था छ। उब्जनीलाई बढावा दिएर कृषि वस्तु आयात प्रतिष्ठापन गर्ने योजना छ। सरकारले कृषि क्षेत्रमा उल्लेख्य काम गर्न सकेको छैन।

व्यावसायिक कृषिका माध्यममा सरकारले सहुलियत ऋण उपलब्ध गराउनुपर्ने, वित्तीय सहजीकरण गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन। कृषिमा व्यावसायीकरण तत्कालको आवश्यकता हो। व्यवसायीले नै लगानी गर्छ। किसानका छोरा विदेशमा काम गर्न गइरहेका छन्। ४० लाखभन्दा बढी मानिस वैदेशिक रोजगारीमा गएका छन्। हामीले व्यावसायिक खेती गरेमा उनीहरू विस्तारै आफ्नै देश फर्किन सक्छन्। अहिले पनि वार्षिक चार लाखलाई रोजगारी दिनुपर्ने अवस्था छ तर सबैले रोजगारी पाइरहेका छैनन्। श्रमबजारमा आउने सबैलाई रोजगारी दिनका लागि कृषि उत्पादन र कृषिजन्य उद्योग स्थापना गर्नुपर्छ। यसरी कृषिमै प्रशस्त रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखेको छु।

व्यवसायीले तपाईंलाई किन भोट दिने ?

जितिसकेपछि अहिले हुने अध्यक्षलाई सघाउ पुर्‍याउने नै हो। त्यसपछि म अध्यक्ष भइसकेपछि उहाँहरूले दिएका महत्वपूर्ण विषयलाई आत्मसात् गर्दै अघि बढ्ने र छुटेका विषय थप्दै अर्थतन्त्रको विकासका लागि लाग्ने योजना छ। अहिले पनि कर, राजस्व, बैंकको अवस्था दयनीय छ। सरकारसँग गृहकार्य गरेर यी समस्या समाधान गर्दै उद्योगी, व्यवसायीलाई प्रतिफल दिनुपर्नेछ। सानामझौलादेखि ठूला उद्योगसम्मलाई प्रतिफल दिन नसके हाम्रो नेतृत्व सफल मानिँदैन। उद्योगी व्यवसायीले उद्योग वाणिज्य संघले केही पनि गरेन भनेर दुःखमनाउ गरिरहनुभएको छ। अब परिवर्तनको दिन आएको छ। व्यक्ति विशेषका कारणबाट उद्योग वाणिज्य महासंघले विगतका केही वर्षमा काम गर्ने माहोल बनाउन सकेन। अब हुनेवाला अध्यक्षले त्यो माहोल बनाउनुहुन्छ। उद्देश्यअनुरूप फल प्राप्ति गर्न हामी क्रियाशील हुनेछौं। उद्योगका सम्पूर्ण समस्या सम्बोधन गरेर सरकारसँग समन्वय र सहकार्य गर्छाैं।

पछिल्लो समयमा उद्योग वाणिज्य महासंघको भूमिका कमजोर देखिएको छ, यसलाई सुधार गर्न अबको नेतृत्वले त्यसतर्फ ध्यान दिन सक्ला ?

उद्योग वाणिज्य महासंघको गरिमा र महत्व अझ बढाउन अबको नेतृत्वले सशक्त भूमिका खेल्ने छ। त्यसमा कुनै शंका गर्नुपर्ने कारण छैन।

बैंक तथा वित्तीय संस्थाले धेरै नाफा कमाए भन्ने आउँछ, उद्योगी, व्यवसायी सफल हुन सकिरहेका छैनन्, यो विवाद कसरी अन्त्य गर्न सकिएला ?

बैंकले सहयोग नगरेको साना तथा मझौला उद्योगी व्यवसायीको गुनासो छ। व्यवहारमा सीमित वर्गको हितका लागि मात्रै बैंकहरूले काम गरिरहेका छन्। २७ वटा वाणिज्य बैंकहरूले केही ठूला उद्योगलाई मात्रै सम्बोधन गरेको आभास भएको छ। विशेषगरी कोभिडपछिको अर्थतन्त्र उकास्न नेपाल उद्योग वाणिज्य महासंघले लबिङ गरेको थियो। पुनरत्थानलगायतका काम गर्न मौद्रिक नीतिले सम्बोधन गर्ने आश्वासन दियो तर त्यो आश्वासन पनि नाम मात्रको भयो। व्यावहारिकरूपमा बैंकहरूले मौद्रिक नीतिअनुरूप काम गरेनन्। अब पनि राष्ट्र बैंकमार्फत् सुविधा दिलाउने स्थिति भएन भने उद्योगी व्यवसायी धराशायी हुने सम्भावना छ। राष्ट्रबैंक तथा अर्थमन्त्रालयले पुनर्विचार गरेर उद्योगव्यवसाय बचाउनुपर्छ। उद्योग व्यवसाय ‘सर्भाइभ’ भएनन् भने राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई विशेषरूपमा निर्देशन दिएर बचाउने उपाय सोच्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले पनि सरल र सहज तरिकाले कर्जा प्रवाह गर्ने वातावरण मिलाउनुपर्छ। हामी त्यतातिर लाग्छौं।

तपाईंलाई भावी अध्यक्ष र पूर्व अध्यक्षहरूको समर्थन छ तर वास्तविक मतदाताले तपाईंलाई मत नहाल्नान् कि भन्ने आशंका गर्ने ठाउँ छ कि छैन ?

सबैले बुझिसक्नुभएको छ, मलाई हुनेवाला अध्यक्ष र पूर्व अध्यक्षहरूको समर्थन छ भनेर। अहिलेको अध्यक्षको पनि समर्थन छ। त्यो समर्थनको कारण होला नि। त्यसै त कोही मान्छेले समर्थन गर्दैन। समर्थनको कार्य के हो भने इमान्दारी र निष्ठापूर्वक मैले २८ वर्ष काम गरेँ। त्यसैको परिणाम हो। दुइटा अध्यक्षको कार्यकालमा म उपाध्यक्ष बसें। उपाध्यक्षका हैसियतमा मेरो कामबाट सन्तुष्ट भएर आउने अध्यक्षले मलाई वरिष्ठ उपाध्यक्ष पदमा लिड गर्नुपर्छ भनेर भन्नुभयो। सिंगो टिमले विजय हासिल गर्छ। परिवर्तनको नयाँ दृष्टिकोण दिने र त्यसको फाइदा उद्योगी व्यवसायीले मात्र होइन सम्पूर्ण जनताले लिन सकुन् भन्ने हाम्रो भनाइ हो।

तपाईंका वास्तविक मतदाता कम परिचित छन् भन्ने सुनिन्छ नि ?

यो झुटको खेती हो। म २८ वर्षसम्म सेवा गरिरहेको मान्छेका मतदाता कसरी कम हुन्छन्। आफ्नै मनले जे मन लाग्यो त्यो भनेर त हुँदैन, व्यवहारमा उतार्नुपर्छ। एसोसिएटमा मेरो अलि कमजोर छ। सुरुमै मेरो संलग्नता नभएका कारण साथीहरूले आँकलन गरे होलान्। मेरो प्रतिद्धन्द्धिले जिल्लामा मेरो नेटवर्क छ भन्नुहुन्छ, के कर्मचारीले जिल्ला अध्यक्षलाई आश्वासन बाँड्ने हो त ?

उहाँले वास्तविक उद्योगपतिको कुरा गर्नुहुन्छ। वास्तविक उद्योगपति म हुँ। केको वास्तविक उद्योगपति ? साना मझौला उद्योगी उद्योगपति होइनन्। उहाँसँग ठूलो उद्योग छ भन्दैमा उहाँ मात्रै वास्तविक उद्योगी हुने हो र ? उहाँको प्रस्तुतिले साना तथा मझौला उद्योगी केही होइनन्, अस्तित्व नै छैन भन्ने देखाउँछ। त्यो अशोभनीय छ। मैले उद्योग सञ्चालन गर्ने बेला उहाँ कर्मचारी हुनुहुन्थ्यो। उद्योगको सपना पनि देख्नुभएको थिएन। भनेपछि को उद्योगपति ? म ठूलो भएँ भनेर आफूलाई जन्म दिने बाबुआमालाई नमान्ने ?

उद्योग वाणिज्य महासंघले साना तथा मझौला उद्योगलाई हेर्न सकेन भन्ने आरोप छ नि ?  तपाईं वरिष्ठ उपाध्यक्षमा निर्वाचित भइसकेपछि कसरी सम्बोधन गर्नुहुन्छ ?

मेरो उद्देश्य नै साना तथा मझौला व्ययसायलाई अघि बढाउने हो। सानालाई मझौला र मझौलालाई ठूलो बनाउने उद्देश्य हो। त्यसको लागि सरकारसँग गृहकार्य गरेर उद्योग व्यवसायीलाई अधिकतम सुविधा दिलाउने, आगामी दिनमा व्यवसायीलाई सहयोग गरेर उसको लक्ष्य प्राप्तिमा लाग्ने सोच छ। जितको असाध्यै नजिक पुगेका छौं। जितपछि शेखरजीलाई स्थापित गरेर उहाँको कार्यक्रम लिएर अघि बढ्ने छौं। मेरो परिश्रम, इमान्दारिता र निष्ठा धेरै व्यवसायीले बुझ्नुभएको छ, मैले अहिलेको अध्यक्षलाई सहयोग गरेर जान्छु। मेरो पालामा पनि योजनाबद्घ ढंगले अघि बढ्छौ।

कृषिप्रधान देश भनिए पनि कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं, महासंघमा कृषि उद्यम केन्द्र भए पनि प्रभावकारी छैन। अब कृषिमा लगानी बढाएर कति वर्षभित्र आत्मनिर्भर हुन सकिएला ?

मेरो पहिलेदेखि नै कृषि क्षेत्रमा रुचि छ। कन्ट्रयाक फार्मिङका आधारमा अघि बढ्नुपर्छ। भूमि बैंकको अवधारणा आएको छ। त्यसलाई फोकस गरेर चक्लाबन्दी गरी व्यावसायिक खेती गर्नुपर्छ। उद्देश्य बोकेर उत्पादन गर्ने र त्यस्ताखाले उद्योग सञ्चालन गर्नेगरी अघि बढ्नुपर्छ। म अध्यक्ष भएपछि त्यसतर्फ ठूल्ठूल्ला व्यवसायीलाई आकर्षित गर्ने सोच छ।

विदेशका सामान ल्याउने र बेच्नेमा हाम्रो अर्थतन्त्र चलिरहेको छ, अब उत्पादन बढाउन के गर्नुपर्ला ?

हाम्रो आयातमुखी अर्थतन्त्र छ। अब आत्मनिर्भर भएर केही वर्षभित्र उत्पादित सामान बेच्न सक्नुपर्छ। अहिले पनि निर्यात त भइरहेको छ तर पर्याप्त छैन। ब्रान्डिङ गरेर निर्यात गर्न सक्नुपर्छ। आत्मनिर्भर बनेपछि मात्र निर्यात गर्ने हो। दीर्घकालीन नीति हाम्रो अध्यक्षको कार्यक्रममा आउँदै छ। आउँदो ६÷७ वर्षमा लक्ष्य प्राप्त गर्ने गरी त्यसतर्फ हाम्रो ध्यान जाने छ।

कोभिडले बेरोजगार बढेको छ, श्रम बजारमा आउने थोरैले मात्रै स्वदेशमा रोजगारी पाइरहेका छन्, यस्तो अवस्थामा रोजगारी सिर्जना गर्न निजी क्षेत्रले भूमिका खेल्न सक्छ ?

रोजगारी सिर्जना गर्न निजी क्षेत्रको मात्र काम होइन, सरकारको पनि काम हो। त्यसमा सरकार चुकेको छ। हामी चुकेका छैनौं, सरकार चुकेको छ। निजी क्षेत्र र सरकार सहकार्य गरेर रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि सरकारले पहल गर्नुपर्छ। सरकारले रोजगारी पहल नगर्दा लाखौ मानिस वैदेशिक रोजगारीमा जान वाध्य छन्।

कुनै समय तपाईं शेखरजी चुनाव लड्नुभएको थियो, यसपाली कसरी मिलेर जानुभयो ? के उहाँका मतदाताले तपाईलाई भोट हाल्लान् ?

प्रतिस्पर्धा गर्‍यो भन्दैमा नमिल्नुपर्ने कारण के छ र ? कारण त केही पनि छैन। शुद्घ व्यवसायीको हितका लागि काम गर्ने संस्था भएकाले कसैसँग दुष्मनी हुँदैन। निर्वाचनमा भएको क्षणि प्रतिस्पर्धी हुँदैमा सहकार्य गर्नु हुँदैन  र ? सहकार्यबाट नै सबै समस्या समाधान हुन्छ। मेरो इमान्दारिता र कर्तव्यनिष्ठाकै कारण उहाँले मलाई साथ दिनुभएको हो। अब महासंघको भविष्य परिवर्तन गर्ने अभिभारा हाम्रो काँधमा आएको छ। त्यो बेला शेखरजीलाई भोट हालेका सबैले र अझै धेरैले मलाई मतदान गर्नु हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.