जब यी प्लेब्वायले ६ गर्भवती महिलाको बच्चाको बाबु आफैँ भएको दावी गरे...
नाइजेरिया : नाइजेरियाली एक प्लेब्वायले एक जना सेलिब्रिटीको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरुलाई साथै उपस्थित गराउँदै उनीहरु सबैको पेटमा आफ्नो सन्तान रहेको दावी गरेका छन् ।
माइक एजे न्वाली न्वोगु नाम गरेका ती पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना महिलाहरुसँग सामूहिक तस्बिर समेत खिचेका छन् । र उनले उक्त तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरे । अभिनेता विलियम्स उचेम्बाको विवाह समारोहमा शनिबार उनले यस्तो खुलासा गरेका हुन् ।
नाइटक्लबका मालिक समेत रहेका ती पुरुषले आफ्नो नामको अगाडि आफैँ 'सुन्दर' उपनाम दिने गरेका छन् । अर्थात उनी आफूलाई 'प्रिटी माइक' भनी चिनाउँछन् । उनले ती ६ महिलाको गर्भ आफ्नै कारण भएको र उनीहरुले जन्माउँदै गरेका सन्तान आफ्नै भएको दावी गरिरहँदा विवाह समारोहका अतिथिहरु चकित परेका थिए ।
अर्को एक भिडियोमा उनी ती सबै ६ जना महिलाहरुलाई आमा बन्न लागेकोमा मुस्कुराउँदै बधाइ तथा शुभकामना दिँदै गरेको अवस्थामा देखिएका थिए । साथै उनीहरुको पेटमा चुम्बन समेत उनले दिएका थिए । यस्तो खुलासापछि उनका ३ लाख जति फलोअर्सहरुको बीचबाट उनलाई अनौठा जिज्ञासा पनि सोध्न थालिएको छ ।
एकजना फलोअरले सोधेका छन्, 'के ती सबै जना एकै हप्ता आमा बन्नेवाला छन् ?' कसैले भने 'प्रिटी माइक'लाई मनोचिकित्सकको गहन हेरबिचार आवस्यक रहेको सुझाव दिएका छन् । उनको यस्तो गतिविधिलाई उनीहरुले मानसिक समस्या भएको टिप्पणी गरेका छन् । प्रिटी माइक नाइजेरियामा 'प्लेब्वाय लाइफस्टाइल'का लागि चर्चित छन् । उनले अघिल्लो एक पोस्टमा आफूले ५ वटी पत्नी बनाउन चाहेको कुरा बताएका थिए ।