सपनाको सपना

सपनाको सपना

नेपाली समाजले सितिमिति छोरीलाई मृत शरीरमाथि दागबत्ती दिने अनुमति दिँदैन। परापूर्वकालदेखि चलिआएको यो संस्कार परिवर्तनमा केही क्रान्तिकारी महिलाले आँट गरे पनि अपरिचित मानिसका शवलाई दागबत्ती दिने हिम्मत गर्ने बिरलै भेटिन्छन्। बेवारिसे शवलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्ने कर्ममा होमिएको म्याग्दीकी सपना रोका मगरले सारा विश्वलाई नै प्रेरित गरिदिएकी छन् । विश्वव्यापी मिडिया बीबीसीले विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा समावेश गरेपछि उनको असाधारण कामको प्रशंसा गर्नेहरू बढेका छन् । समाजमा मानवता बचाइराख्ने अभियानमा जुटेकी यी १९ वर्षीया किशोरीको सफलताले सामान्य पृष्ठभूमिमा जन्मेहुर्केका थुप्रै महिलालाई प्रेरणा थपेको छ । सबैलाई सम्मान दिएको छ। 

प्राविधिक रूपमा सपनाले भर्खरै मात्र कर्मको फल प्राप्त गरेजस्तो देखिन्छ, तर उनी जहिलेदेखि यो सत्कर्मको बाटोमा थिइन्, त्यही दिनदेखि नै धन्यवादको पात्र बन्दै आइन्। उनको हिम्मतिलो कामको प्रशंसासँगै सिंगो मुलुकको शिर उँचो भएको छ। बीबीसीको सूचीमा परेपछि ग्रामीण परिवेशमा हुर्किएकी साधारण युवतीको पहिचान रातारात चुलिएको छ। उनी परिवारको एक असल छोरी र समाजको प्रेरणादायी पात्र मात्र बनेकी छैनन्, सिंगो मुलुककै महँगो निधि बनेकी छन्। सांस्कृतिक विविधताले भरिएको नेपाली समाज र यहाँको संस्कारलाई विश्वव्यापीकरण गर्न सपनाले पुयाएको योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ। मानवता बचाउने सपनाको सपनालाई थप हौसलाको खाँचो छ। उनको यो सार्थक कर्मलाई प्रभावकारी बनाउन सबैको तर्फबाट साथ र सहयोग हुनुपर्छ। 

महिलाले शवलाई दागबत्ती दिँदा अनिष्ट निम्तिन सक्छ भन्ने संकुचित सोच राख्ने कतिपय पात्रलाई समेत सपनाको पौरखले सचेतनाको काम गरेको छ। त्यसमाथि उनले अपरिचितका शवलाई व्यवस्थापन गर्दै आएकी छन् । यस्तो पृथक् साहसिक कामको तारिफ गर्ने थुप्रै भए पनि अझै उनले अंगीकार गरेको पथमा लाग्ने हिम्मत जोकोहीले सजिलै गर्न सक्दैन। तर, यो सफलताले नेपाली समाजमा विस्तारै अंकुराउँदै गएको मानवता, सद्भाव र विश्वासलाई थप तेजी बनाउन भने अवश्य मद्दत गरेको छ। सँगसँगै सपनाको साहसलाई सलाम गर्दै समाजमा जरा गाडेर बसेको विकृति, विसंगति र कुरीतिविरुद्ध आवाज बुलन्द गर्नेलाई सहज बनाएको छ। समाज हितका लागि हुने यस्ता अभियानमा सबैको सहयोग हुनु जरुरी छ। हुन त सपनाको सत्कर्म बीबीसीले सम्मान नगर्दासम्म सरकारले देखेको थिएन। अहिले प्रशंसा र बधाईले सामाजिक सञ्जाल भरिएका छन्। दुर्गा, लक्ष्मी तथा सरस्वतीका साक्षात् रूप मान्दै सम्मान प्रकट गर्नेहरू प्रशस्तै छन्। उनीमाथिको खास सम्मान तब हुनेछ, जब धेरैले यस्ता सत्कार्य गर्न हिचकिचाहट त्याग्ने छन्। 

सपनाले पाएको सम्मानले जति उद्देलित पारेको छ, यो कलिलो उमेरमै उनले भोगेका अनुभव, जिन्दगीका गोरेटामा पार गर्नुपरेका कठिन घुम्ती र पछिल्लोपटक अंगीकार गरेको बाटोको कथा उत्तिकै मर्मस्पर्शी छ। आत्मविश्वासी र निडर व्यक्तिले रोजेको बाटो कहिल्यै गलत हुँदैन भन्ने सन्देश यो सफलताले दिएको छ, जुन आम नेपाली महिला/पुरुषका लागि अनुकरणीय छ। यस्ता आत्मविश्वासी किशोरीलाई सरकारबाट पनि थप हौसला दिन जरुरी छ। सयौंको बलिदानी दिएर आन्दोलन गर्नुभन्दा यस्ता महिलाका सत्कर्म उजागर गर्न सकियो भने सामाजिक विकृति छिटो हटाउन सकिन्छ भन्ने सोच्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.