म्याराडोनाको निधनमा भारतीय प्रधानमन्त्री सहित सेलिब्रिटीले के भने ?
नयाँदिल्ली : विश्व प्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको निधनमा विश्वभरका प्रभावशाली व्यक्तित्व साथै विभिन्न देशका राजनीतिज्ञले समेत दुख व्यक्त गरे ।
यस्तैमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका थुप्रै बलिउडकर्मी तथा अरु सेलिब्रिटीले म्याराडोनाको निधनमा दुख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
शाहरुख खान, अभिषेक बच्चन, करिना कपुर, रणवीर सिंह, विकी कौशल, प्रियंका चोपडा, सिद्धार्थ शुक्ला, महेश बाबु लगायत कलाकारले म्याराडोनाको निधनमा दुख व्यक्त गरे । अभिनेता शाहरुख खानले म्याराडोनाको सम्झनामा लेखेका छन्, 'डिएगो म्याराडोना तिमीले फुटबललाई झनै सुन्दर बनायौ । तिम्रो पक्कै पनि याद गरिनेछ र तिमीले स्वर्गमा पनि मनोरन्जन दिँदै मोहित पार्नेछौ यस संसारलाई जस्तै ।तिम्रो स्वर्गमा बास होस् ।'
विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर म्याराडोनाको यही सोमबार हृदयघातका कारण निधन भएको हो । मस्तिष्कको शल्याक्रिया गरेको तीन हप्तापछि ६० वर्षको उमेरमा घरमै उनको निधन भएको हो ।
यस्तै रणवीर सिंहले म्याराडोनाको तस्बिर शेयर गर्दै दुखी बनेको 'इमोजी' देखाएका छन् । बीगबोस सेलिब्रीटी सिद्धार्थ शुक्लाले भने आफू बाल्यकालमा म्याराडोना जस्तै बन्न चाहेको तर अर्को म्याराडोना बन्न सम्भव नभएको कुरा उल्लेख गरे । साथै उनले आफूले फुटबल म्याराडोनाबाटै थाहा पाएको पनि लेखेका छन् । म्याराडोनालाई उच्च सम्मान दिँदै शुक्लाले ट्वीटर मार्फत श्रद्धाञ्जली प्रकट गरेका छन् ।
यसवाहेक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि म्याराडोनाको उच्च सम्मान सहित उनको निधनप्रति दुख व्यक्त गरे । मोदीले ट्वीटरमा लेखेका छन्, 'डिएगो म्याराडोना फुटबलका उस्ताद थिए । जसले विश्वव्यापी लोकप्रियताको आनन्द लिए । उनको खेलजीवन भरी, उनले हामीलाई फुटबल मैदानमा केही सर्वाधिक राम्रा कौशल देखाए । उनको असामयिक निधनले हामी सबैलाई दुखी तुल्याएको छ । उनको आत्माले शान्ति पाओस् ।'
म्याराडोना विश्व फुटबल इतिहासमा जति सफल र प्रभावशाली खेलाडी हुन् उत्तिकै विवादित व्यक्तित्व पनि । १९८६ को विश्वकपमा उनले इंग्ल्याण्डविरुद्धको खेलमा हातले गोल हान्दै अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । तर नाटकीय रुपमा उनको हाते गोल रेफ्रीले जित फैसला गरेपछि मात्रै थाहा भयो ।
जुन कुरा म्याराडोना स्वयंले पनि स्वीकार गरेका थिए । उनले उक्त गोललाई ईश्वरको हातले गोल हानेको अभिव्यक्ति दिए । यसवाहेक उनी बारम्बार खेलमा प्रतिबन्धित हुनुका साथै अत्याधिक कोकिन सेवनका कारण सुधारकेन्द्रमा समेत राखिए । पछिल्ला वर्षहरुमा उनको स्वास्थ्य बिग्रिँदैआएको थियो ।