विज्ञानको कसीमा मुत्दुम

विज्ञानको कसीमा मुत्दुम

वीर्य वा बीज जीवनको मुहान हो। यही वीर्य र वीजकै निरन्तरता र कारणले यो संसार चलायमान छ। वीर्य पुरुष र डिम्ब महिलाबाट उत्पन्न हुने तत्वहरू हुन्। यिनै तत्वको संयोजनका कारण जीवन र जगत् सृष्टिमय र सौन्दर्यपूर्ण छ। व्यवहारमा वीर्य र डिम्बको संयोजनलाई नै यौन समागम÷सम्भोग भनिन्छ। संसारका सानाभन्दा साना जीवदेखि विशाल जीव हात्ती पनि आजसम्म निरन्तर जीवित रहनुको मुख्य रहस्य यौन सम्बन्ध नै हो। यस कारणलाई बाहेक गर्ने हो भने जीवनको मुहान बन्द हुन्छ। जीवन बन्द हुनुको अर्थ संसार शून्यमा परिणत हुनु हो।

संसार शून्य हुनु भनेको जीवन घडीको काँटा उल्टो दिशामा घुम्नु हो। त्यसैले यौन समागम अर्थात् सम्भोग जीवनका लागि अनिवार्य सर्त हो। सम्भोगकै परिणामतः युगौंयुग अगाडिबाट आजसम्म जीवन सततः चल्दै आएको छ। त्यसैले त आचार्य वात्स्यायन भन्छन्, ‘काम (सम्भोग) बिना मन कुण्ठित हुन जान्छ। मनमा कुण्ठा भयो भने धर्ममा असर पर्छ। त्यसरी कुण्ठित मनले मोक्षको द्वार खोल्न सक्दैन।’ अर्थात् जीवनको गति उल्टो जानु भन्ने हो। वात्स्यायनको वीर्य महिमाजस्तै राई जातिको मुत्दुम दर्शनको उत्पत्ति मिथकहरूमा पनि प्रशस्त मात्रामा वीर्य र यौन समागमबारे नै उल्लेख भएको पाइन्छ। मुत्दुम÷मुन्धुम, किरात राई जातिको जीवन दर्शन हो। उनीहरूको मुत्दुमप्रति अगाध आस्था छ। यही दर्शनका आधारमा सारा किरात राईहरूको आस्था र विश्वास तय भएको हुन्छ भने जीवन व्यवहार पनि सञ्चालित भएको पाइन्छ। किरात राईहरूका लागि मुत्दुम, हिन्दुहरूको वेद, क्रिस्चियनको बाइबल र बुद्धिस्टहरूको त्रिपिटकजस्तै हो।

मुत्दुमसँग सम्बन्धित मुत्दुमी मिथकहरूमा मानव, अन्य जीव तथा वनस्पतिहरूको उत्पत्तिबारेमा उल्लेख छ। मिथकहरूका अनुसार सुम्निमाले पारुहाङको वीर्य परोक्ष रूपमा धारण गरेर सन्तान जन्माएको कुरा पाइन्छ। उनले पानीको तिर्सना मेट्न जल खोजी गर्ने क्रममा पारुहाङको वीर्य पानीका रूपमा फेला पारेर पिउँदा सुम्निमा गर्भवती भएको उल्लेख छ। कतिपय लेखमा भने सुम्निमाले पारुहाङको पिसाब पिएर गर्भ रहन गएको पाइन्छ।

किरात राईहरूका लागि मुत्दुम, हिन्दुहरूको वेद, क्रिस्चियनको बाइबल र बुद्धिस्टहरूको त्रिपिटकजस्तै हो।

लेखक नीराजन बतासको पुस्तक ‘खोक्चिलिप’ मा उल्लेख भएअनुसार माङले पानी र माटोको सिर्जना गरेपछि जीवन सृष्टि गर्न चाहे। त्यसैले सर्वप्रथम नेवामा निनाम्मा र हितुहाङ निनाम्मा सिर्जना गरे। यिनै नेवामा निनाम्मा र हितुहाङ निनाम्माबाट सुम्निमा (चेली) र पारुहाङ (माइती) को जन्म भयो। दुवै चेली हुर्केपछि सुम्निमाले पारुहाङसँग विवाह गर्न चाहिन्। तर सुम्निमा चेली भएकाले पारुहाङलाई विवाह गर्न उचित लागेन। विवाहको अर्थ हुन्थ्यो, यौन समागम अर्थात् सम्भोग गर्नु। त्यसैले उनी सुम्निमाको नजरबाट अलप भएर साल्पा पोखरीमा भिन्न रूप धारण गरी लुकेर बसे। सुम्निमालाई भने बिहे नगरी नहुने भयो। पारुहाङको खोजीमा सम्पूर्ण जीवजन्तुलाई लगाए।

जीवजन्तुहरूले पारुहाङ साल्पा पोखरीमा बसेको भन्ने पत्ता लगाए पनि बाजिकुहाङ मात्र पारुहाङलाई भेटेर सुम्निमाको बिहेको प्रस्ताव राख्न सफल भए। पारुहाङलाई अझै पनि चेली–माइतीबीच विवाह हुनु राम्रो ठानेनन्। तर सुम्निमाको सृष्टि गर्ने क्षमतालाई ध्यानमा राखेर प्रत्यक्ष यौन समागम अस्वीकार गरेर दोस्रो उपाय निकाले। यसका लागि उनले आफ्नो वीर्य पिँडालुका पातमा पोको पारेर बाजिकुहाङमार्फत खाने औषधिका रूपमा सुम्निमालाई पठाइदिए। सुम्निमाले पनि पारुहाङले राम्रै औषधि पठाइदिएको सम्झी खाए। त्यो औषधि खाएपछि सुम्निमाको गर्भ रहन गयो र बाघ, भालु र मान्छेलाई जन्म दिन पुगिन्।

‘कुलुङ सांस्कृतिक अध्ययन’ नामक पुस्तकमा भूपध्वज थोमरोसले ‘मानव उत्पत्ति’ शीर्षकमा उल्लेख गरेका छन् कि निनामरिदुम (सुम्निमा) ले आफ्नो वैवाहिक जोडी बाँध्न आकाशमा बस्ने वृहस्पतिलाई लिन होहोरेमलाई पठाइन्। तर होहोरेमले वृहस्पतिलाई भेटेनन्, बरु थुन्से बुनिरहेको पारुहाङलाई देखेर सुम्निमाको जोडी बन्न अनुरोध गरे। आफू बूढो, गाँड निस्केर कुरूप भएको भन्दै होहोरेमको अनुरोध पारुहाङले अस्वीकार गर्‍यो। होहोरेमले ढिपी गरेपछि पहिला आफ्नो सीप उपहार काँगियो र थाँक्रो पठाइदिने र यी उपहार निनामरिदुमले स्वीकारेमा मात्र बिहे गर्ने वाचा दिएर होहोरेमलाई फर्काइदिए। पारुहाङबाट पाएको उपहार निनामरिदुम मक्ख भई बिहेका लागि लिन पठाइन्। पारुहाङ निनामरिदुमको प्रस्ताव स्वीकारेर आइपुगे। तर पारुहाङको कुरूप शरीर देखेपछि भने निनामरिदुमले बिहे गर्न अस्वीकार गरे।

निनामरिदुमको व्यवहारबाट पारुहाङले अपमानित भएकाले बदला लिन चाहे। उनले वीर्य निकालेर पिँडालुका पातमा पोको पारेर पदुवा चरामार्फत सुम्निमालाई तिर्खा लाग्दा खान दिनू भनेर पठाइदिए। यसपछि पृथ्वीको सारा पानी सुकाइदिए। निनामरिदुमलाई साह्रै तिर्खा लाग्यो। कतै पानी छैन। निनामरिदुमले खाने पानी माग्दा पदुवा चराले पारुहाङले दिएको पोका ल्याएर खान दियो। त्यो खानेबित्तिकै पृथ्वीमा सुकेका सारा पानीका मुहानबाट पानी आउन सुरु भयो। विस्तारै निनामरिदुम बिरामी हुन थालिन्। जोखाना हेराउँदा गर्भवती बनेको भन्ने देखिएपछि तनावमा परिन्। पारुहाङले निनामरिदुमको गर्भ आफ्नो भएको स्वीकार गरेपछि सहज भयो। क्रमशः निनामरिदुमले रुद्राक्ष, रिठा, अरारी, कुकुरडाइने, सुनगाभा जन्माए। त्यसपछि भालु, बाघ छोरा तुम्नो (मान्छे) र छोरी छुक्रिमलाई जन्म दिए।

दुङ्मालीभाषी राईहरूको ‘डुङमालि याङमाखाउ’ नामक मुन्दुम, धर्म, संस्कार, कर्मकाण्ड संग्रहमा पारुहाङ र सुम्निमाबीच विवाह गर्ने कुरा चलेको उल्लेख छ। यसका लागि सुम्निमाले पारुहाङलाई हेर्न चाहिन्। पारुहाङ कुरूप शरीर लिएर सुम्निमाकहाँ आइपुगे। पारुहाङको शारीरिक अवस्था देखेर सुम्निमाले विवाह गर्न मानिनन्। परिणामतः पारुहाङलाई अपमान बोध भयो र बदला लिन पृथ्वीको सम्पूर्ण पानी सुकाइदिए। सुम्निमालाई प्यास लाग्यो। कतै पानी छैन। चिफुर्के चरा पानी खोज्दै जाँदा सिरुका पातमा पानीका थोपा भेट्टाए। यही पानी खाएर सुम्निमाले प्यास मेटाइन्। सुम्निमाले पानी खानेबित्तिकै मुहानहरूबाट पानी आउन थाल्यो। वास्तवमा सिरुका पातमा भएको पानी पारुहाङको वीर्य थियो। सुम्निमा गर्भवती बन्न पुगिन्। यो गर्भ पारुहाङले स्वीकार गरेपछि सुम्निमाले लगातार दूबो, मानिस, भालु र बाघ जन्माइन्।

साम्पाङ राईहरूको मुत्दुममा पारुहाङ र नाइमा (सुम्निमा) बीच विवाह हुने निश्चित भएपछि कुहुमा (हावा) र पारुहाङ मिलेर नाइमा लिन गए। पारुहाङको लट्टाधारी केश र खरानी घसेको शरीर देखेपछि नाइमाले विवाह गर्न अस्वीकार गरिन्। पारुहाङलाई रिस उठ्नसम्म उठ्यो। बदला लिन टोड्कामा पिसाब गरी पृथ्वीको सम्पूर्ण पानी सुकाइदिए। नाइमालाई तिर्खा लाग्यो। पानी खोज्दै जाँदा टोड्कामा फेला पारेर नाइमाले खाइन्। पानी खानेबित्तिकै घनघोर पानी पर्न थाल्यो। वास्तवमा नाइमाले खाएको पानी, पानी नभएर पारुहाङको वीर्य थियो। त्यसैले नाइमा गर्भवती बन्न पुगिन्। नाइमाकोे गर्भ पारुहाङले स्वीकार्‍यो र त्यसपछि नाइमाले क्रमशः बाघ, मान्छे, भालु र कुकुर जन्माए।

गडुलमान राईले ‘किराँत संस्कार’ नामक पुस्तकमा नायिम्मा (सुम्निमा) उमेरदार भएपछि बिहेका लागि केटाको खोजीमा कुरिम्मालाई लगाएको कुरा उल्लेख गरेका छन्। कुरिम्माले केटा खोज्दै जाँदा हिमालमा पारुहँलाई फेला पारे र नायिम्माकहाँ लिएर आए। तर पारुहँ सिँगाने, कचेरासरीे, गँड्याहा र खटिरासरि भएर आए। पारुहँको यो अवस्था देखेपछि नायिम्माले विवाह गर्न अस्वीकार गरिन्। नायिम्माको यो व्यवहारले पारुहँलाई चोट पुग्यो र बदला लिन संसारको पानी सुकाई पिँडालुका पातमा वीर्य स्खलन गरेर हिमालतिर अलप भए। नायिम्मालाई तिर्खा लाग्यो। उनले चराहरूलाई पानी खोज्न पठाउँदा पिँडालुका पातमा तैरिएको फेला पारे। यही पानी ल्याएर नायिम्मालाई खुवाए। यो पानी नायिम्माले खानासाथ पृथ्वीमा पानी पर्न थाल्यो। विस्तारै नायिम्मा बिरामी हुन थालिन्। धामीलाई देखाउँदा बिरामी हुनुको कारण गर्भवती भएको सुनाए। गर्भ पारुहँको भएको र पारुहँलाई सोध्दा स्वीकार गरेकाले सुम्निमाले क्रमशः वाइलुङमा नामकी छोरी र बाघ, भालु र मानिस जन्माइन्।

प्रवीण पुमाले प्रज्ञा–प्रतिष्ठानबाट प्र्र्र्र्र्र्र्र्रकाशन गर्ने पत्रिका सयपत्री (२६) मा लेखेका छन् कि पारुहाङले सुम्निमालाई विवाहका लागि प्रस्ताव राखे। तर यो प्रस्तावलाई सुम्निमाले ठाडै अस्वीकार गरिन्। पारुहाङले आफ्नो अपमान भएको ठानेर नाचिहोङ (पिँडालुको एक जाति) का पातमा वीर्य खसाली पृथ्वीका सारा पानी सुकाइदिएर अलप भए। सुम्निमालाई असाध्यै तिर्खा लाग्यो। पानी खोजेर ल्याउन ताङटुप्मी चरालाई पठाउँदा नाचिहोङका पातमा पानी फेला पारेर ल्याई सुम्निमालाई खुवाए। यो पानी सुम्निमाले खाएपछि भने संसारमा पानी चिप्चिपाउन थाल्यो। तर विस्तारै सुम्निमा भने बिरामी हुन थालिन्। धामीलाई देखाउँदा गर्भवती भएको र गर्भ पारुहाङको भएको पत्ता लाग्यो। पारुहाङलाई सोध्दा स्वीकार गरेकोले सुम्निमाले क्रमशः बाघ, भालु र मान्छेलाई जन्म दिइन्।

मुत्दुमी मिथकहरूले पृथ्वीमा जीवनको उत्पत्ति वीर्य सेचनबाट मात्र सम्भव हुने कुरा निश्चित गरेको पाइन्छ। कुनै मिथकले पिसाबको उल्लेख गरे पनि वीर्यतिर नै संकेत गरेको देखिन्छ। बरु वीर्य र पिसाबको निष्कासन मार्ग एउटै हुनु र तत्कालीन समाजमा यौन अंग र यौन सम्पर्कबारेमा सीधा अभिव्यक्ति दिन कठिनाइ हुनुले वीर्यलाई पिसाब भनेर लाक्षणिक अर्थबाट प्रस्तुत गरिएको हो भन्न सकिन्छ। यति मात्र होइन, मुत्दुमी मिथकहरूले मानवसँगै अन्य जीवजन्तु र वनस्पतिको पनि जन्म भएको उल्लेख गरेका छन्। यसले वर्तमानमा मानव, अन्य जीव र बनस्पतिहरूबीचको अन्तरसम्बन्ध रहने सत्यतालाई पनि मुत्दुमले प्रस्ट पारेको पाइन्छ।

मुत्दुमी मिथकहरू नै मुन्दुम दर्शनको जीवन उत्पत्तिसम्बन्धी मान्यताका आधारहरू हुन्। यसरी मुत्दुममा उल्लिखित जीवनको उत्पत्ति वीर्य÷वीजबाट भएको हो भन्ने मान्यतालाई प्रचलित जीव विज्ञान र वनस्पति विज्ञानले पनि प्रमाणित गरेको पाइन्छ। यस अर्थमा आधुनिक विज्ञानको कसीमा पनि मुत्दुम दर्शनको जीवन उत्पत्ति मान्यता सशक्त सावित हुन पुगेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.