ममताको मन र वृहस्पतिको विद्रोह
ममता ! आज हदै राम्री देखिएकी छौ। यौवनकी रानी, रूपकी खानीमाथि चन्द्रप्रकाशको थप चाँद लागेको छ। जीवन भोग्नका लागि हुन्छन् बुझ्यौ ? सुकाउनका लागि होइन। रूप र यौवन भनेका दुई दिनका पाहुना हुन्। फुलेका फूल कति बेला ओइलाउँछन् पत्तै हुँदैन। बिहान फुल्छन्, बेलुकासम्म झरिसक्छन्।
बुझ, रूप र यौवन दुई सहोदरा दिदीबहिनी हुन्। यौवन आउँदा रूप पनि सँगै आउँछ, जाँदा सँगै जान्छ। किन खेर फाल्छ्यौ प्रकृतिको वरदानलाई ? जीवन अनमोल छ, न कसैले ल्याउँछु भनेर ल्याउँछ न कोही आउँछु भनेर आएको हुन्छ। आउनेले दरखास्त हालेका पनि हुँदैनन्, ल्याउनेले हुकुमप्रमांगी गराएका पनि हुँदैनन्। आफैं हुन्छ, कति बेला हुन्छ कसैले पनि भन्न सक्दैन। संयोगवश हुने हो, फेरि हुन्छु भनेर हुने पनि होइन। जसरी भयो भयो। पिँजडाको चराजस्तै न हो यो, उडेपछि
उड्यो। न बचेराले खोज्छन्, न बचेराकै खोजी हुन्छ। संयोगवश पाइएको जीवन खेर फाल्नु भनेको मूर्खता हो बुझ्यौ ? भाइ उतथ्य पत्नी ममताको रूप र लावण्यप्रति पागल भएका वृहस्पतिले आशय बुझ्ने प्रयास गर्र्दै एकोहोरो बोलिरहे।
कुरो सही हो, ऋषिवर ! वेदवेदान्तका ज्ञाता हुनुहुन्छ। वैदिक सूक्त तथा मन्त्र साक्षात्कार कर्तामा पर्नुुहुन्छ। कुनै पनि वैदिक संहिता यस्ता छैनन्, जहाँ हजुरको उपस्थिति नभएको होस्। सुरासुर वन्दित गुरुको पदमा आसीन भएर ज्ञानगंगा प्रवाहित गराउँदै आउनुभएको छ। धर्मशास्त्र, स्मृतिशास्त्र, नीतिशास्त्र हजुरजस्ता वेदान्त विसारदबाट अन्यथा कुरा हुनै सक्दैन। कदाचित् अन्यथा नै रहेछ भने पनि हजुरले भनेपछि सही हुन्छ। सूर्यका अगाडि बत्ती, हजुरका अगाडि के नै हुँ र ? न उमेरले भेट्छ न ज्ञान र गुणले नै। तथापि जीवन संयोगले हुने हो भन्ने केही बुझेकी छु। रूप र यौवन क्षणिक हुन् भन्ने पनि बुझेकी छु। पञ्चभूतको शरीर हो, आउँदा जो–जसले दिएका थिए जाँदा उनीहरूलाई नै फिर्ता गर्नुपर्छ। काँचको चुरा न कति बेला फुट्छ भन्ने थाहा हुन्छ न फुटेपछि जोड्नै सकिन्छ। मेरो पनि मान्यता जीवन भोग्नकै लागि भन्ने नै हो। रूप र यौवन भनेका प्रकृतिको उपहार हुन् जसका सम्मान गर्नैपर्छ। तथापि केही समस्या छन्, जसलाई बुझिदिन आग्रह गर्छु’, ढेपिँदै आएका कामातुर जेठाजु वृहस्पतिलाई पन्छाउन खोज्दै ममताले भनिन्।
‘होइन सुन्दरी ! त्यति कठोर नबन। मनले आँटे असम्भव भन्ने नै के छ र ? जस्तोसुकै समस्या पनि समाधान गर्न सकिन्छ। समाधान नभएको समस्या हुनै सक्दैन। हरेक समस्याभित्रै समाधान छन्। समस्या आफैं समाधानको पोको बोकेर आएको हुन्छ। मुख्य कुरो मन हो। मनले चाहे समस्याका पहाड जति नै अग्लो किन नहोस्, सजिलै फोर्न सकिन्छ। हुँदैन र सकिँदैन भन्न थाले एकै पाइलो सार्न पनि गाह्रो पर्छ। समस्या संसारमा होइन, मनमा हुने कुरा हो। संसार बसाउने र बनाउने पनि मनले नै हो बिगार्ने पनि मनले नै हो। आँट्नुपर्छ जे पनि गर्न सकिन्छ। इतिहासलाई हेर, सुरसम्राट् इन्द्रले समग्र सिन्धुसभ्यता ध्वस्त पार्न सकेका थिए भने हाम्रा त के नै होलान्, जो समाधान गर्न सकिने। तिमीलाई थाहै छ एकताका कुरु, पाञ्चाल, तक्षशिला, गान्धार, मद्रदेखि कम्बोज (इरान), पारामा कम्बोज (ताजकिस्तान), उत्तरकुरु (उज्वेकिस्तान) सम्मका झन्डै १३ लाख वर्गकिलोमिटर क्षेत्रमा असुर सम्प्रदायद्वारा निर्मित हजारौं नगर सभ्यता थिए, जसलाई सुर सम्प्रदायका इन्द्रले ध्वस्त पारेका थिए। त्यति बेला हजारौं असुर सम्राट् इन्द्रको हातबाट मरेका थिए भने बाँकी बसेका डरले सिन्धुपारिका मुलुक (युनान) तिर लुक्न पुगेका थिए। यी सबै आँटकै प्रभाव हुन्। समस्या ठूलै भए पनि पनि तिम्रा सौन्दर्यका अगाडि केही होइनन्। बरु मैले के गर्नु पर्यो, तिमीले भनेपछि जे गर्न पनि तत्पर छु’, ममताको मन पगाल्ने प्रयास गर्दै वृहस्पतिले भने।
रूप र यौवन क्षणिक हुन् भन्ने पनि बुझेकी छु। पञ्चभूतको शरीर हो, आउँदा जो–जसले दिएका थिए जाँदा उनीहरूलाई नै फिर्ता गर्नुपर्छ। काँचको चुरा न कति बेला फुट्छ भन्ने थाहा हुन्छ न त फुटेपछि जोड्नै सकिन्छ। मेरो पनि मान्यता जीवन भोग्नकै लागि भन्ने नै हो। रूप र यौवन भनेका प्रकृतिको उपहार हुन्।
‘हो मलाई थाहा छ, ती सबै सुरहरूका आग्रहमा उनीहरूका सम्राट् इन्द्रले गरेका हुन्, जसको प्रायश्चित्त अहिले पनि सुर सम्प्रदायका अनुयायीहरू गरिरहेका छन्। त्यति बेला उनीहरूले जुन उत्साहका साथ असुरहरूलाई लखेटेका थिए, अहिले उनीहरूकै नीति अनुसरण गर्न तँछाडमछाड गरिरहेका छन्। अन्ततः उनीहरूकै बाटोमा आउनु थियो भने त्यति ठूलो नरसंहार मच्चाउनुको के अर्थ रह्यो र ? त्यस्तो पनि पराक्रम हुन्छ र ? म त पागलपन भन्छु त्यसलाई, जसमा असुरहरूप्रतिको ईष्र्याबाहेक केही देखिरहेको छैन। उनीहरूको प्रकृतिप्रेम त बहाना मात्र हो। असुरहरूले ठूला ठूला चमत्कार गरे, नगर तथा बस्ती बसाए। माटो पोलेर स्थायी घर तथा धारो, कुवा, चौतारो बनाउन लगाए, लिपिको विकास गरी अक्षर यात्रामा क्रान्तिकारी छलाङ मारे, नदीहरूमा आवश्यकताअनुसार नहर तथा कुलो निर्माण गरी खेतीकिसानी युगको जग बसाए, जुन कुरा वन्य फलफूल तथा पशु चौपायाजीवी सुरहरूले पचाउन सकेनन् र प्रकृति संरक्षणको नाममा भाँजो हाल्न आइपुगे। पहिले असुुरहरूलाई योनी र लिंगपूजक भन्थे, सामन्तवादलाई जन्माएको, पुरोहितवादलाई प्र श्रय दिएको, प्रकृतिमाथि खेलवाड गरेको नदीको पानी दूषित गरेको जस्ता संगीन आरोप लगाउँथे, घृणा र तिरस्कार गर्थे तर पछि उनीहरू नै तीन बित्ता अगाडि उभिन पुगे सोही मार्गमा। भो छाडौं यस्ता कुरा, त्यता जान चाहन्नँ। मेरा समस्या अर्कै छन्, जुन हजुरले चाहेर पनि समाधान गर्न सक्नुहुन्न’, पुनः पन्छिन खोज्दै ममताले भनिन्।
‘अर्कै कारण ?’
‘हो अर्कै कारण।’
‘के हो त्यो भनेको ?’
‘धेरै छन् ऋषिवर ! जसको पछाडि हजुरजस्ता ब्रह्मपुत्र अंगिराका सन्तानले नलाग्नु नै उचित होला।’
‘समस्या दर्जनौं होस् कि सयौं फरक पार्दैन। तिमीले भन्नुमात्र पर्छ समाधान हुनेछन्।’
‘मुखले मात्र कि कामले पनि ?’
‘यो वृहस्पतिले अहिलेसम्म कसैसामु झुट बोलेको छैन भने तिमीजस्ती सुन्दरीका सामु कसरी बोल्न सक्ला ?’
‘समस्या हजुरभित्रै छ भने नि ?’
‘त्यो त झन् कुन ठूलो कुरा भयो र ? भनेर त हेर।’
‘प्रस्टै छ नि, हजुर विवाहित हुनुहुन्छ। अहिले पनि तारा हजुरकी आधिकारिक श्रीमती हुन्। एउटी नारीले अर्की नारीको अधिकार कसरी खोस्न सक्छे ?’
‘त्यसको बन्धन तारा आफैंले टुटाइसकेकी छन्। देखिनौ मलाई छाडेर आफ्नै छोरासमान शिष्य चन्द्रमासित लहसिन पुगेकी ? जब उनले चन्द्रमाको साथमा रहेर सन्तान नै जन्माइसकेकी छन् भने कसरी मेरी श्रीमती रहन सक्छिन् ? उनी चन्द्रमाकी हुन्, मेरी होइनन्।’
‘तथापि अहिले पनि हजुरकै आधिकारिक श्रीमती उनै हुन्। देवासुर संग्रामकै समयमा छोरा बुध चन्द्रमाको हुने र आमा तारा हजुरको हुने गरी छिनोफानो भएको होइन र ?’
‘उनले धोका दिन हुन्छ भने मैलेचाहिँ हुँदैन भन्ने के छ र ? पतिपत्नीको सम्बन्ध विश्वासमा अडेको हुन्छ। जब एकअर्कोमा विश्वास नै छैन भने कसरी जीवन चल्न सक्छ र ?’
‘लौ मानौं एकछिन यसलाई यही रूपमा मानौं तर मेरो आफ्नै पनि त दायित्व छन्, त्यसलाई के भन्नुहुन्छ ? दिदी तारासितको समस्या हजुरहरूको व्यक्तिगत हो। कहाँ के भयो म जान्दिनँ तर म हजुरका भाइलाई धोका दिन सक्दिनँ। दिदी ताराले धोका दिँदा हजुरको चित्त दुख्यो भने मैले धोका दिँदा उनको चाहिँ दुख्दैन होला र ?’
‘धोकाकै कुरा गछ्र्यौ भने सुरुआत उतथ्यले गरिसकेका छन् सुन्दरी ! सामान्य अवस्थामा तिमीले भनेको ठीकै हो, कसैले पनि धोका दिनु हँुदैन तर रोटी एकोहोरो पाक्दैन नि।’
‘कुरो बुझिएन, प्रस्ट पार्न आग्रह गर्छु।’
‘धत् लाटी ! त्यति पनि थाहा छैन ? प्रस्टै छ नि। इमानदारिताको ठेक्का तिमीले मात्र लिएकी छौ र ? के उसले चाहिँ तिमीप्रति इमानदार हुनु पर्दैन ? समय दिन सकिँदैनथ्यो भने किन विवाह गरेको ? अर्काकी छोरीको जीवन बर्बाद गर्न पाइन्छ ? जहिले पनि तपस्या भनेको छ, शरीर सुकाएको छ। आफ्नो त सुकायो सुकायो, तिम्रो पनि सुकाउँदै छ। एकबाट दुई भएपछि अर्काको पनि चाहना होलान्, समय दिनुपर्ला भन्ने सोच्नु पर्दैन ? के उसले त्यस्तो सोचेको छ ? कतिपटक सम्झाएँ सुन्ने कान लगाएको होइन। मेरो जीवन मेरो खुसी भन्दै उल्टै हप्कायो। अब तिमी नै भन्न सक्छ्यौ के उसले चाहिँ ठीक गरेको छ ?’ ममतालाई भड्काउन खोज्दै वृहस्पतिले भने।
‘त्यो त हो तर ?’
‘के तर ?’
‘यही कि यति बेला गर्भवती छु।’
‘कसरी ?’
‘कसरी भन्ने ऋषिवर ! यसको पनि उत्तर हुन्छ र ?’
‘कसको तर्फबाट भनेको नि।’
‘उहाँकै तर्फबाट।’
‘विवाहपछि तिमीहरू दुईको भेट पनि कहिल्यै भएको छ र ?’
‘करिब सात वर्षपछि एक रात आ श्रममा आउनुभएको थियो।’
‘कति भयो ?’
‘त्यस्तै आठ, नौ महिना भयो होला।’
‘सात वर्षमा एक रात आएर दायित्व निर्वाह गर्यो भनेर कसरी भन्न सक्छ्यौ ?’
‘त्यसो भन्न खोजेकी होइन ?’
‘के भन्न खोजेकी त ?’
‘यही कि मैले उनीप्रति नभए पनि उनको बच्चाप्रति इमानदार हुनुपर्छ। अहिले पनि पेटमा चलिरहेको छ, कहिले रुन्छ, कहिले कराउँछ, अँध्यारो कोठामा एक्लै गाह्रो भयो, चाँडै निकालिदेऊ भनिरहेको छ। त्यस्तो अबोधलाई कसरी धोका दिन सक्छु।’
‘हो, उसलाई धोका दिनु हुँदैन, त्यसो भन्न खोजेको पनि होइन तर हाम्रो मिलनले उसलाई फरक पार्दैन।’
‘कसरी भन्न सक्नुहुन्छ ?’
‘कसरी भन्ने खोइ ? यही बुझ उसको संसार अन्तै हुन्छ, हाम्रो संसार अन्तै।’
ममता लाजले रातोपिरो भइन्, बूढा वृहस्पति आफ्नो काम तमाम गर्नतिर लागे। ममताले वृहस्पतिलाई स्वीकारे
पनि उनको गर्भमा रहेको बालकले स्वीकार गर्न सकेन र रोक्ने प्रयास गर्यो, जुन कुरा वृहस्पतिलाई मन परेन र ‘जन्मँदै अन्धो हुनेछस्’ भन्ने श्राप दिए। बालक पनि के कम थिए र ? त्यसपछि एकछिन पनि त्यहाँ रहन चाहेनन्, जन्मँदै अपांगताको चिह्न लिएर बाहिर आए, जो पछि गएर जातिस्मर महर्षि दीर्घतमाको नामले लोकविख्यात भए।
दीर्घतमाले ठाउँ खाली गरिदिएपछि वृहस्पतिलाई के खोज्छस्... आँखो भनेजस्तो भयो। उनीहरूको मधुर मिलन जारी रह्यो। अलिकति फुर्सद हुनेबित्तिकै वृहस्पति आफैं ममतालाई खोज्दै आउँथे। बानी भन्ने पनि विचित्रकै हुँदो रहेछ। बिस्तारै ममतालाई पनि एक दिन वृहस्पतिलाई नदेख्दा कता भेटूँ, कहिले देखूँ जस्तो लाग्न थाल्यो। रहँदाबस्दा ममताले वृहस्पतिको तर्फबाट पनि एक बालकलाई जन्म दिइन्, जो पछि गएर महर्षि भारद्वाजको नामले प्रख्यात भए। वृहस्पतिको तर्फबाट उतथ्यको क्षेत्रमा जन्मेकाले उनको नाम द्विअर्थी भारद्वाज रहेको हो।
वैदिक ग्रन्थहरूमा आधारित यो कथा हजारौं वर्ष अगाडिको घटना विवरणसित सम्बन्धित छ।