दशरथचन्दका मेयर थापासहित थप १८ जनामा कोरोना पुष्टि
बैतडी : बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापासहित बैतडीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ।
शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रमुख थापासहित थप १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत ३ जना स्वास्थ्यकर्मी, नेपाली सेनाका ३ जना, नेपाल प्रहरीका एक जना, दुईजना श्रीलंकाली पर्यटक र दशरथचन्द नगरपालिकाका ८ जनामा कोरोना पुष्टि भएको उनले बताए। कोरोना पुष्टि भएका स्थानीय बजार क्षेत्रकै बढी रहेको उनले बताए। शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमितको संख्या ५५१ पुगेको छ।
संक्रमित मध्ये ५५ जना मात्रै सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना रहेका छन्। यस्तै डिलाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा ४, पाटन नगरपालिकामा ३ र सुर्नया तथा पञ्चेश्वर गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन्।
जिल्ला अस्पातल बैतडीको प्रयोगशालामा शनिबार ७४ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो। १९ जना मध्ये १८ जना बैतडीका हुन् भने एकजना दार्चुलाको मार्माका रहेका जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए।
दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले आफूमा कोरोना पुष्टि भएकाले आफ्नो सम्पर्कमा रहेकालाई सुरक्षित बस्न र कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। केही दिन अघिबाट ज्वरोको लक्षण देखिएका मेयर थापामा शनिबार कोरोना पुष्टि भएको हो। उनले आफूसंग सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।
आफू अहिले घरमै बसिरहेको र विभिन्न जडीबुटीसहित औषधि सेवन गरिरहेको प्रमुख थापाले बताए। अहिले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको उनले बताए। अन्नपूर्णसँग कुरा गर्दै मेयर थापाले आफूले कोरोनासँगको लडाइँ जितेर काममा फर्किने विश्वास समेत व्यक्त गरेका छन्।
बैतडीको दशरथचन्द नगरपालिका कोरोनाको हटस्पट बन्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्। नगरपालिकाकै ३६ जना सक्रिय संक्रमित रहेका र एकैदिन १८ जनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
चिसोको समयमा कोरोनाको संक्रमण झन् फैलिने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन उनले आग्रह गरे। कोरोना भाइरसको औषधि नबनेको सन्दर्भमा नगरपालिकाले गरेको लकडाउन पूर्ण रुपमा परिपालना गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए।