धान बेच्न सकस

धान बेच्न सकस

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका—६ सिंहपुरका किसान बुिद्धराम चौधरीलाई नेपाल खाद्य संस्थान धनगढीको धान खरिद केन्द्रमा आएको शुक्रबार चार दिन भयो। आफ्नो डेढ बिघा र अधिया गरी कमाएको १ सय १३ बोरा धान बिक्री गर्न उनी चार दिनदेखि ट्यांक्टरमा ओछ्यान लगाएर रात काटिरहेका छन्।

‘घर टाढा छ, खाना खाने पैसा छैन, नास्ता गरेर चार दिनदेखि पालो कुरिरहेको छु’, उनले भने। ‘अहिले त गहुँमा पानी लगाउने बेला भएको छ, मल हाल्ने पनि बेला भयो, न मल किन्न पैसा छ, न पानी लगाउन डिजल नै।’

बुद्धिराम, संस्थानको मोहनपुर गोदाममा निराश देखिन्थे। ‘पहुँच हुनेका त हिजो (बिहीबार) पनि तौल भयो, पैसा लगेर पनि गइसके तर मलाई मंसिर ९ गते तौल हुने भनेर कुपन दिइएको छ, ११ गते भइसक्यो, मेरो पालो आएको छैन’, उनले गुनासो गरे। उनको धान बोकेको ट्यांक्टर मंसिर ८ गतेदेखि मोहनपुरमा रहेको संस्थानको गोदाम बाहिर सडकमा छ।

धनगढी उपमहानगरपालिका—११ घोडसुवाका किसान कालीचरण चौधरीले चार दिन लगाएर धानको तौल गरे। १३ क्विन्टल धानको मंसिर ३ गते तौल गराएका उनले, शुक्रबार (मंसिर ११ गते) सम्म पनि भुक्तानी पाएका छैनन्। ‘अधिया, ठेक्का गरेर धान बिक्री गरेँ तर भुक्तानीका लागि चार दिन चक्कर काटिसकेँ’, उनले गुनासो गरे।

बालबच्चाको पढाइ सुरु भइसकेको तर रकम अभावले भर्ना गर्न नसकेको उनले बताए। ‘बर्खापछि निकालेको उधारो, गहुँका लागि चाहिने मल र डिजेल, बालबच्चाको पढाइ खर्च तिर्ने रकम नपाएपछि चिन्ता लागेको छ’, उनले भने। धनगढीदेखि झन्डै ६ किलोमिटर टाढा रहेको नेपाल खाद्य संस्थानको गोदामबाहिर दर्जनौं किसानका ट्यांक्टर, गोरुगाढा र ट्रक धानको तौलको प्रतीक्षामा खडा गरिएका छन्। कसैले ट्यांक्टर र ट्रकमा ओछ्यान लगाएका छन् भने कसैले ट्रक र ट्यांक्टरको ट्रलीमुनि खाना बनाएर बसेका छन्।

‘खानाका लागि ट्रलीमुनि बसेका छौं, ट्याक्टरमा ओछ्यान छ, कति दिनसम्म यस्तो गर्नुपर्ने हो ? थाहा छैन’ धनगढी उपमहानगरपालिका—११ घोडसुवाका किसान टेकबहादुर चौधरीले भने। ‘अधिया, ठेक्का गरेर कमाएको धान बिक्री गर्न सकस गर्नु परिरहेको छ।’कञ्चनपुरको कृष्णपुर नगरपालिका—११ पिपरियाका किसान सुरेन्द्रप्रसाद जोशी भन्छन्, ‘खाद्य उद्योगसँग मिलेर संस्थानले यस्तो गरिरहेको छ।’ बजारमा (निजी खाद्य उद्योगमा) अहिले मोटा र मध्यम धानको मूल्य किलोको २२ देखि २३ रुपैयाँ चलेको छ। सरकारले मोटा धानको २७ रुपैयाँ ३५ पैसा र मध्यम मोटा धानको २८ रुपैयाँ ३५ पैसा तोकेको छ। 

‘खाद्य माफियासँग मिलेर संस्थानले किसानलाई सकस दिइरहेको जस्तो लाग्छ, यता किसानले तड्पिएपछि, उनीहरू बजारमा सस्तोमा धान बिक्री गर्न बाध्य होलान् भनेर पनि यस्तो गरिएको हो जस्तो लाग्छ’, किसान जोशीले भने। सरकारले तोकेको मूल्य राम्रो भएकाले, अहिले निजी खाद्य उद्योगभन्दा किसान, संस्थानलाई धान बेच्न आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.