राजकुमारी बनिन् छुकिला
काठमाडौं : गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली फ्लेवरको गीत दर्शकमाझ आएको छ।
बिहेका लागि राजकुमारी हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवालीमा नायक पल शाह दोहोरो भूमिकामा छन्। पलले राजकुमार दाजुभाइको भूमिकामा अभिनय गरेका छन्। राजकुमारीको भूमिकामा सिक्किमकी सुन्दरी छुकिला शेर्पा देखिएकी छन्।
भिडियोमा होटल याक एन्ड यतीलाई दरबारको रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा सयभन्दा बढी कोरस प्रयोग गरिएको छ। भिडियोमा गायक दाजुभाइ पनि देखिएका छन्। सुदीप बरालले छायांकन गरेको भिडियोमा आलिया गिरीको डिजाइन प्रयोग भएको छ।
गीतमा अमृत खतिवडा (भाञ्जा भाइ) को शब्द रचना तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। कैलाश राईले निर्माण गरेको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन, सत्यम रानाको भीएफएक्स तथा रेनिस फागोको कलर करेक्सन रहेको छ। निर्देशक गहतराजले गीतअनुसार लोकेसन र ड्रेस छनोट गरेको बताए।
‘एकातिर जोनी जिपको सटमा पलको डबल रोल गर्नु च्यालेन्ज थियो भने अर्कोतिर सिक्किमबाट आएको नयाँ अनुहारलाई प्रोफेसनल रूपमा प्रस्तुत गर्नुपर्ने थियो। यो मेरो करिअरको सबैभन्दा उत्कृष्ट भिडियो बनेको छ’, कविराजले भने। गायक सत्यराज आचार्यले यो म्युजिक भिडियो आफूहरूको सांगीतिक करिअरमा आजसम्मकै सर्वोत्कृष्ट भिडियो बनेको बताए। ‘यो हाम्रो तीन वर्षपछिको एल्बम होे।
हामीले यो गीत अमेरिकाको सांगीतिक यात्राका क्रममा बनाएका थियौँ। यसको कम्पोज चाहिँ कवाली गजल टाइपको छ’, स्वरूपराजले भने। निर्माता कैलाश राईले सिक्किमको माया नेपालसँग जोड्ने सिलसिलामा यो गीत तथा यसको म्युजिक भिडियो तयार पारिएको बताए। म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो।