सिन्धुलीमा नेकपाका सदस्य २७ हजार बढी
सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीमा क्रियाशिल सदस्यको संख्या २७ हजार बढी रहेको पाइएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकतापछि नेकपा सिन्धुलीको क्रियाशिल सदस्यको संख्या २७ हजार ४० पुगेको हो ।
नेकपा सिन्धुलीले क्रियाशिल सदस्यता विवादलाई समाधान गर्दै तत्कालिन एमालेका १५ हजार १ सय १७ र माओवादी केन्द्रका तर्फबाट ११ हजार ९ सय २३ सहित जम्मा सदस्य संख्या २७ हजार ४० रहेको निर्णय गरिएको हो ।
दुबै पार्टीको क्रियाशिल सदस्य संख्यामा विवाद हुँदा लामो सयदेखि अन्यौलता थियो । तर, संगठन विभागले साविक नेकपा एमाले र माओवादी केन्द्रका क्रियाशिल सदस्यहरुको संख्या टुंगो लगाएपछि एकिकृत नेकपा सिन्धुलीको क्रियाशिल सदस्यहरुको संख्या २७ हजार ४० पुगेको नेकपा सिन्धुलीका संगठन विभाग प्रमुख सूर्य पाख्रिनले जानकारी दिए ।
दशैं अगाडि बसेको नेकपा सिन्धुली जिल्ला सचिवालय बैठकले दुवै तर्फका सदस्यहरुको संख्या र नाम टुंग्याउने जिम्मा संगठन विभागलाई दिएको थियो । संगठन विभाग प्रमुख सूर्य पाख्रिन र उपप्रमुख गणेश रत्नले केही दिन अगाडि एमाले र माओवादी केन्द्रले बेग्ला बेग्लै रुपमा बुझाएका पार्टी सदस्यको नामावली वाग्मती प्रदेश कमिटी र केन्द्रीय कार्यालयमा पठाएपछि सोही संख्या र नामावलीलाई पार्टी केन्द्रले पारित गर्ने भएको हो ।