चिसापानीमा पर्यटकको घुइँचो (फोटो फिचर)
चिसापानी (कैलाली) : कोरोनाका कारण ९ महिनादेखि बन्दीजस्तै घरमै बसेकाहरु अब भने खुलेर बाहिर निस्कन थालेका छन् । सुदूरपश्चिम र प्रदेश ५ लाई जोडने कर्णाली चिसापानीमा पनि आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ ।
'कोरोनाका कारण मानिसहरु नौ महिनादेखि घरमै बन्द थिए । न बालबच्चालाई कतै घुमाउन लग्न पाइयो, न उनीहरु आफै निस्कन सके, बाँकेको खजुराकी पार्वती क्षेत्रीले भनिन्,' अहिले फ्रेस हुन आएका हौं।'
उनले कोरोनाको डर विस्तारै हड्दै गएको बताइन्। 'चिसापानीमा आएर माछा खाइयो, र्याफ्टिङ पनि गरियो, टिकटक बनाइयो,' कति भित्रभित्रै गुम्सिएर बस्ने, बच्चाहरु आजित भइसके, त्यही भएर उनीहरुलाई ल्याएर आएकी हुँ।'उनीसहित खजुराबाट ८ जनाको टोली कर्णाली चिसापानी आएका छन् ।
'नौ महिनासम्म न कलेज जान पाइयो, न आफन्तसँग भेट भयो, अत्यावश्यक काम बाहेक बाहिरै निस्कन पनि पाइएन, त्यसैले कलेजका साथीहरु मिलेर कर्णाली पुलमा आएको,' बाँकेको खजुराकै सर्मिला सिह सुनारले भनिन्।
सुदूरपश्चिमका कैलाली कञ्चनपुर, प्रदेश नम्बर ५ को बाँके र बर्दियाका पर्यटक बढीजसो चिसापानी आउने गरेका छन् । पछिल्लो समय कर्णालीको पुलमा तस्बिर खिच्ने, टिकटक बनाउने, र्याफ्टिङ गर्ने र जीप लाइनिङका लागि मानिस चिसापानी पुग्ने गरेका छन् । लामो समयसम्म कोरोनाका कारण घरमै गुम्सिनु परेपछि घुम्न निस्केको बताउछन्।
बर्दियाको मधुवन नगरपालिकाबाट आएकी निसा मिश्रले कोरोना कोरोना भनेर कति दिन बन्दी बस्ने भन्दै अत्यास लागेपछि कलेजका साथीहरु मिलेर आएको प्रतिक्रिया दिइन्।उनको कलेजका १४ जना साथीहरु चिसापानी आएका थिए । 'साथीहरुसँग भेट भयो, कत्ती दिनपछि यसरी रमाउन पाइयो, खुसी लागेको छ,' उनले थपिन् ।
कर्णालीको चिसापानी, माछाका लागि पनि प्रख्यात छ । त्यहाँ फ्राइ माछा र झोल माछा धित मर्ने गरी खान पाइन्छ । नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जबाट जंगली जनावर कर्णालीमा झुण्ड बाँधेर पानी खान आएको दृष्यले पर्यटकको मन जितेको छ। यसका साथै कर्णालीमा बेला मौकामा डल्फिन पनि देखिन्छन्।
धनगढीको भन्सार रोडबाट चिसापानी पुगेका शुभ शंकर सिले कर्णालीको पुलमा तस्बिर खिचाउन र माछा खानकै लागि आएको बताए। उनले कोभिड भन्दाभन्दै धेरै क्षेत्र तहस नहस भएकाले अब सावधानी अपनाउदै सबै क्षेत्र खुला गरिनुपर्ने बताए । अन्य दिनभन्दा शनिबार र विदाको दिन पारेर घुम्न आउनेको संख्या बढ्दो छ।