सामाजिक जीवनका परिवेश

सामाजिक जीवनका परिवेश

मृत्युलाई एक ‘नियमित आकस्मिकता’ मान्न सकिन्छ। यो संसारको नियमै हो। तर, हरेक मृत्यु कसैका लागि एक आकस्मिक घटना बन्न पुग्छ। ‘अरूलाई पर्दा कथा, आफूलाई पर्दा व्यथा’ भन्ने भनाइ मृत्युका सन्दर्भमा सटिक लाग्छ।

त्यस्तै एउटा व्यथा मैले भोग्नुपर्‍यो– नब्बे वर्षकी मेरी आमा (पुण्यमाता देवी) लाई गुमाउँदा। तिहारको मौका थियो। भोलिपल्टको भाइटीकाको तयारीमा सबै व्यस्त थियौं। बार्धक्यबाहेक कुनै खास समस्या आमालाई थिएन। यमपञ्चकका बेला यमराज आफ्नी बहिनी यमुनासँगै व्यस्त रहनुपर्ने हुनाले उनले यता मत्र्यलोकतर्फ ध्यान देलान् भन्ने कल्पना त्यसै पनि गरिएको थिएन।
घरमा लक्ष्मीको निर्बाध प्रवेश हुन सकोस् भनेर सबै झ्याल–ढोका खुला राखेका थियौं। लक्ष्मीले बाटो बिराउलिन् भनेर घरभरि नै बिजुली बत्ती र दियाहरू सजाएर राखिएका थिए। यसको नाजायज फाइदा उठाएर यमदूत घरभित्र छिरेछन् र पाँचै मिनेटमा आफ्नो काम फत्ते गरेछन्। आमा दिवंगत, परिवारका हामी सबै स्तब्ध ! हाम्रा लागि यो एक ठूलो आकस्मिकता थियो भलेही बृहत्तर समाजका लागि एक नियमित घटना किन नहोस्।

नब्बे वर्षको इतिहास बोकेकी आमासँगका केही सम्झना यहाँ राख्दा यस अवधिमा हाम्रो सामाजिक जीवनमा आएको परिवर्तनको एउटा सानो पाटो पनि देखिन्छ कि !
आफ्नो जीवनको पहिलो ३६ वर्षमै आमाले १० जना छोराछोरीलाई जन्म दिइसक्नुभएको थियो। पहिलो र अन्तिम सन्तानका बीच केवल १९ वर्षको अन्तर थियो। अहिलेको हाम्रो पुस्ताले १९ वर्षमा १० सन्तान जन्माउने र हुर्काउने कल्पना सायदै गर्न सक्ला। एकातिर उनीहरूको पठनपाठन र घरजमको जोहो गर्ने काम सजिलो थिएन भने अर्कातिर प्रजनन स्वास्थ्यका हिसाबले पनि यो जोखिमपूर्ण कुरा थियो। अनि, यो सबै एउटी ‘अबला नारी’ ले एक्लै गर्नुपरेको थियो। आफ्नो अध्ययन र अध्यापनमा झन्डै ५० वर्ष घरबाहिर बिताउनुपरेकाले बुवाले घरका काममा सघाउन सक्ने अवस्था थिएन। यत्रो काम एक्लै सम्हाल्न अति कठिन थियो, तर यस परिस्थितिका लागि आमाको कुनै गुनासो थिएन।

म सानै भए पनि जेठो छोराका नाताले आमाको सल्लाहकारजस्तो पनि थिएँ। आफ्नो बालसुलभ जिज्ञासा राख्दै एकपटक मैले सोधेको थिएँ– हाम्रो (छोराछोरीको) संख्या बढी भएको त होइन ?’ हो, तर छोराछोरी हुन नदिने औषधि संसारले बनाएन त ?’ भन्नुहुन्थ्यो उहाँ। उहाँ प्रजनन सक्रिय हुँदासम्म परिवार नियोजनको प्रविधि आइपुगेको थिएन। अहिलेको पुस्ताका दुलहीको छनोटको अवसरलाई हेरेर ’ईष्र्या’ गर्नुहुँदो हो। उहाँको परिवार–वृक्षमा हामी ७० जना अटाएका छौं।

आमा स्कुल जानुभएको थिएन तर साक्षर हुनुहुन्थ्यो। उहाँको ज्ञानका मुख्य स्रोत थिए– अरूबाट सुनेका शास्त्रीय चर्चा। यसमा बुवाले ठूलो गुन लाउनुभएको थियो। धर्मशास्त्रबाहेक संस्कृतका रघुवंश र मेघदूतजस्ता र नेपालीमा ऋतुविचार वा बुद्धिविनोदका प्रसंगमा साधिकार छलफल गर्न सक्नुहुन्थ्यो, यद्यपि यी कृति आफैंले पढ्नुभएको चाहिँ थिएन। उहाँले आफैं पढेको र अत्यन्तै मन पराएको पुस्तक थियो गुणरत्नमाला। जगन्नाथ उपाध्याय गुरागाईंले धेरैजसो शार्दूलविक्रीडित छन्दमा लेखेको यो कविता संग्रहका धेरै कविता कण्ठ पार्नुभएको थियो। हुन पनि व्यावहारिक ज्ञानका हिसाबले मात्र होइन, धर्म–संस्कार, राजनीति र जीवन–दर्शनका अर्थमा समेत यो एक अब्बल कृति रहेछ। आजको भाषामा यसलाई ‘अल इन वान’ भन्दा फरक पर्दैन। गुणरत्नमालाका कवितालाई व्यवहारमा पनि उपयोग गर्नुहुन्थ्यो। उदाहरणका लागि हामीले पढ्न अथवा काम गर्न अल्छी गरेको अवस्थामा तुरुन्त गुणरत्नमालाको ‘आलस्य–दोष’ भन्ने कविता सुनाउन थाल्नुहुन्थ्यो, ‘हे आलस्य तँ कप्टी झट्ट पर जा लौ निस्किजा मुन्टिजा’। त्यस्तै, ‘मूर्खको औषधि’ कविताबाट व्यंग्यात्मक लयमा गाउनुहुन्थ्यो, ‘सब्को औषधि दैवले रचिदियो, बिर्सेछ कि मूर्खको’। सायद यस्तै कविताका प्रभावले होला आमाले केही छन्दोबद्ध कविता पनि लेख्नु (अर्थात् लेखाउनु) भएको छ। उहाँका केही कविता खाँदबारीबाट प्रकाशित ‘पहराका फूलहरू’ (भाग २) मा समेटिएका छन्। यिनमा खासगरी पारिवारिक विषय रहेका छन्।

यसै प्रसंगमा खाँदबारीबाटै प्रकाशित ‘संखुवासभाका ज्येष्ठ नागरिकहरूका आवाज’ मा समावेश गरिएको उहाँको एक संस्मरणात्मक लेखले पनि तत्कालीन समाजको एक झल्को दिन्छ। एकपटक आमा आफन्तसँग काठमाडौं आउँदै हुनुहुँदोरहेछ। खाँदबारीबाट काठमाडौं आउन भोजपुर–दिक्तेल हुँदै १३ दिनको बाटो हिँड्नुपर्ने रहेछ। यसैबीच खुर्कोटमा आइपुगेपछि काठमाडौंबाट पढाइ सकेर उही बाटो घर फिर्दै गरेका बुवासँग भेट भएछ। अपूर्व भेट त भयो, तर बोलचाल हुन पाएन। कारण के भने उतिबेला छोराछोरी जन्मनुअघिसम्म पतिपत्नीले अरूका अगाडि बोल्न नहुने रहेछ। ‘लामो समयपछिको अप्रत्यासित भेटमा हामीले एकअर्कालाई हेरेरै मात्र चित्त बुझायौं’ भनेर लेख्नुभएको छ। फेरि पनि आजका हामी यो कुरा पत्याउँला ?

मरिने डर मृत्युसँग सम्बन्धित अनिश्चिततासँग जोडिएको हुन्छ र यसमा खासगरी मृत्यु कष्टपूर्ण हुन्छ कि भन्ने चिन्ता रहन्छ। मृत भइने डरचाहिँ मृत्युपछि आफ्ना प्रियजनसँगको विछोड र अझ उनीहरूले दुःख पाउलान् कि भन्ने चिन्ताबाट जागृत हुन्छ।

नारीलाई आफ्नो ठाउँमा बस्न सिकाउने शास्त्र–साहित्यका आदेशलाई स्वीकार गर्नै पर्दथ्यो उतिबेला। यसमा मनुस्मृतिदेखि ‘वधूशिक्षा’ का लयबद्ध ‘उपदेश’ हरू पर्दथे। लैंगिक समानताका पक्षमा गरिने सबै तर्क यिनै शास्त्रका आधारमा खारेज हुन्थे। यस्तो अवस्थामा पनि उहाँ आफ्नो तर्क अघि सार्न हिच्किचाउनु हुन्नथ्यो। नारीलाई होच्याउने शास्त्र वा साहित्यका कुरा गर्दा आमाको प्रश्न हुन्थ्यो– ती शास्त्रकार वा साहित्यकार को हुन् ? तिनीहरू पुरुष हुन् भने तिनका कृति पनि त्यस्तै हुन्छन्। वस्तुतः यो कुरा आजकै सन्दर्भमा पनि लागू हुन्छ। यस्ता बलिया तर्क आफूसँग भए पनि स्थापित संस्कारका विरुद्धमा उत्रने स्थितिमा भने उहाँ हुनुहुन्थेन।

हामी मानिस कतिपय अवस्थामा हुँदै नभएको युद्धविरुद्ध पनि लडिरहेका हुन्छौं। आफ्नो अदम्य संघर्षमा आमाले पनि यस्तो लडाइँका लागि बन्दोबस्त गर्नुपरेको थियो। २०१८ सालको एउटा घटना याद आउँछ। त्यस वर्षको माघमा ठूलो भुइँचालो जाने ‘पक्कापक्की’ भएको थियो। ज्योतिषी र अन्य प्रकारका भविष्यद्रष्टाले ठोकुवा गरिसकेका थिए। भूकम्पको हल्ला फैलाउन नपाइने भन्ने नियम आइसकेको थिएन। स्वयम् सार्वजनिक संस्थाहरू नै हल्लाको पछि लाग्थे।

तत्कालीन समयमा गाउँघरमा चर्चाको विषय बनेको र हाम्रै छिमेकी गाउँ वानालाई केन्द्रविन्दु बनाएर गएको १९९० सालको महाभूकम्पको सम्झना धेरैको मनमा ताजै थियो। यसैले क्षति नियन्त्रणका लागि पाठपूजा र यज्ञयज्ञादि भइरहेका थिए। हाम्रोजस्तो महिला नेतृत्व भएको परिवारलाई सबैभन्दा गाह्रो समस्या थियो– वैकल्पिक आबासको व्यवस्था। लगभग निःसहाय अवस्थामा पुगिसकेका बेला आमाले एउट जुक्ति निकाल्नु भो– खरको घर बनाउने।

मंसिर–पुसको समय भएकाले घरमा खरपराल प्रशस्त थियो। खरका भारीलाई लहरै राखेर गारो तयार गरियो र मान्द्राको छाना हालियो। परालले ओछ्यानको काम गर्‍यो। खरपरालको घर असाध्य न्यानो पनि हुँदोरहेछ। हामीले सबैजना अट्नका लागि तीनचारवटा यस्ता ‘प्रि–फ्याब’ बनायौं र भूकम्पविरुद्ध ढुक्क भयौं। यसपछि हामी भूकम्पको प्रतीक्षा गर्न लाग्यौं।
माघ २ गतेकै ठूलो ‘आशा’ थियो। तर भुइँचालो आएन माघभरि नै र त्यसपछि पनि। हामीकहाँ नआएर अन्यत्र कतै पो आयो कि भनी जान्न खोज्यौं। तर गाउँभरि नै रेडियो नभएकाले जान्न पाएनौं। यी आजका सामाजिक सञ्जाल त्यतिबेला भइदिएका भए ! पछि थाहा भयो– कहीं पनि भुइँचालो गएनछ। ज्योतिषीले फेल खाए। तर कसैलाई केही कारबाही भएन। न त उनीहरूको विश्वसनीयतामै प्रश्न उठाइयो।

रूपान्तरण जीवनको एक प्रक्रिया हो। पचास वर्ष टेक्नै लाग्दा आमाले आफ्ना संघर्षहरूको फल देख्न थाल्नुभयो। केटाकेटी हुर्के, बढे र व्यवसायको बाटोमा लागे। कठोर बुहार्तन पार गरेर आउनुभएकी आमा अब बुहारीबाट सासूमा रूपान्तरण हुनु भो। अनि, बुवा सेवानिवृत्त भएर घर आएपछि दाम्पत्य जीवनले साँचो अर्थमै पूर्णता पायो। यसैबीच ईश्वरीय चिन्तन, पूजाआजा र तीर्थवर्त पनि भए। तर यो आदर्श जीवन दिगो त किन हुन्थ्यो र !

माधवप्रसाद घिमिरे भन्छन्, ‘ओइली यो मधुमास जान्छ कोइली बिउँझी जसै बोल्दछ’। चौहत्तर वर्षको उमेरमा बुवालाई अकस्मात गुमाउनुपरेपछि आमा फेरि एक्ली हुनुभयो। आखिर हामी सबैले खप्तड स्वामीले भनेजस्तो अपूर्णताका बीचमा नै बाँच्न सिक्नु र्ने रहेछ। त्यसो त तीन पुस्तामा बाँडिएका आफ्ना सन्तानकै बीच हुनुहुन्थ्यो, तर बुवाको रिक्तता हामीले पूरा गर्न सकेनौं।
उमेर ढल्किँदै गएपछि मान्छे आफ्नो सम्भावित अवसानबाट झस्कन्छ नै। चौरासी पूजापछिका वर्षमा आमा आफ्नो मृत्युको कुरा गर्न थाल्नुभएको थियो। यसमा व्यक्तअव्यक्त रूपमा मृत्युको भय पनि झल्कन्थ्यो। मृत्युको भयलाई मनोविद्हरूले दुई वर्गमा बाँडेका छन्, ‘मरिने डर’ र ‘मृत भइने डर’। मरिने डर मृत्युसँग सम्बन्धित अनिश्चिततासँग जोडिएको हुन्छ र यसमा खासगरी मृत्यु कष्टपूर्ण हुन्छ कि भन्ने चिन्ता रहन्छ। मृत भइने डरचाहिँ मृत्युपछि आफ्ना प्रियजनसँगको विछोड र अझ उनीहरूले दुःख पाउलान् कि भन्ने चिन्ताबाट जागृत हुन्छ। 
आमालाई पहिलो प्रकारको डर (कष्टपूर्ण मृत्यु) लाग्थ्यो जस्तो लाग्छ।

तिहारका दिन लक्ष्मीका लागि खुला गरिएको बाटोको अनधिकृत प्रयोग गरी यमदूतले आमालाई लगे। तर आफ्नो गल्ती सच्याउनका लागि होला, उनले सहज मृत्युको आमाको इच्छा भने पूरा गरिदिए। आमा जानुभो। उहाँसँगै गाउँघर सबैकी ‘अन्तरी आमा’ पनि हराइन्। खालि बाँकी छन् सम्झना। यसलाई नियमित वा आकस्मिक जेसुकै भनियोस्, उहाँको जीवन एक प्रेरणा स्रोतका रूपमा रहिरहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.