डिजिटल दुनियाँ
कोभिड– १९ ले मानिसको जनजीवन अप्ठ्यारो अवस्थामा पुर्याए पनि प्रविधि प्रयोगमा भने धरैलाई अभ्यस्त गराइदिएको छ। कोरोना संक्रमण बढ्ने खतरासँगै भौतिक सम्पर्क विच्छेद भएको अवस्थामा व्यावसायिक तथा दैनिक जीवन सहज पार्न डिजिटल प्रविधिले महŒवपूर्ण भूमिका खेल्यो र खेलिरहेको पनि छ। डिजिटल प्रविधिलाई जीवनका हरेक पाटासँग जोड्न ढिला भइसकेको यो क्षेत्रमा पछिल्लो समय देखिएको आकर्षणले पुष्टि गरेको छ। यसको विकल्प अरू केही हुन सक्दैन भन्ने सन्देश पनि छरेको छ। फराकिलो दायरा बोकेको यो क्षेत्रलाई सशक्त र प्रभावकारी ढंगले अघि बढाउन जरुरी छ।
कोभिडले विश्व अर्थतन्त्रलाई अप्ठ्यारो स्थितिमा पुर्याएको छ। कोभिड निर्मूल भएपछि पनि यो प्रविधिको विकासलाई अनिवार्य आवश्यकता बनाएको छ। ई–कमर्स, अनलाइन सपिङ, डिजिटल बैंकिङ र ई–लर्निङलगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलाप नेपालका सहरी क्षेत्रमा मात्र होइन, धेरै स्थानमा आमजीवनको अंग बनेका छन्। पछिल्लो समय सेयर कारोबारमा प्रयोग भएको अनलाइन प्रणालीले त झन् यसको महŒव ह्वात्तै बढाइदिएको छ। समयको बचत, थोरै जनशक्तिमा काम सम्पन्न तथा छिटो काम यसका सकारात्मक पाटा हुन्। झन्डै एक दशकदेखि प्रचलनमा आएको भए पनि यो प्रविधिको विकास कोभिडको अवधिमा उत्साहप्रद रूपमा अघि बढेको छ। निकै प्राविधिक काम भएकाले धेरै नागरिक यसको प्रयोगमा सामान्य ज्ञान भएका भए पनि दुरुपयोगबाट हुन सक्ने नोक्सानी र सुरक्षा खतराका विषयमा भने अनभिज्ञ छन्। डिजिटल लिटरेसीको अभावमा हुन सक्ने यस्ता सुरक्षा संवेदनशीलताका विषयमा भने सरकार चनाखो हुनुपर्छ। यसबाट हुने कारोबारलाई पारदर्शी, विश्वासिलो र टिकाउ बनाउनेतर्फ राज्यले गम्भीर अध्ययन गर्न जरुरी छ। प्रयोगकर्ताले पनि आफूले कुन प्रविधि के प्रयोजनका लागि चलाइरहेको छु भन्ने हेक्का राख्नुपर्छ।
सरकारी कार्यालयको ७० प्रतिशत काम डिजिटल प्रविधिबाट भइरहेको छ। सरकारले पछिल्लोपटक डिजिटल नेपालको खाका तयार गरेर ई–गभर्नेन्सको नीतिगत आधार कार्यान्वयनमा ल्याएको छ। उक्त डिजिटल नेपाल खाकामा कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी आठ प्रमुख क्षेत्रको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको छ। यसका साथै यी आठ क्षेत्रलाई समेट्ने गरी नेपाललाई आर्थिक–सामाजिक प्रगतितर्फ निर्देशित गर्ने उद्देश्यका साथ ८० डिजिटल पहल पहिचान गरिएको छ। मन्त्रिपरिषद् बैठक पेपरलेस भएको छ। भर्चुअल माध्यमबाट बैठक, सभा, सेमिनार तथा गोष्ठी सञ्चालन हुन थालेको छ। यसले दुनियाँलाई डिजिटल युगमा धकेलेको स्पष्ट हुन्छ। विगतमा विदेशबाट रेमिट्यान्स पठाउनु मात्रै डिजिटल प्रयोग हो भन्ने सोचमा सीमित नागरिक अहिले भान्सामा चाहिने तरकारी खरिददेखि ठूला–ठूला कारोबारसमेत यही प्रविधिबाट गरिरहेका छन्। निश्चय नै यो सकारात्मक पक्ष हो।
नेपालमा छोटो समयमै डिजिटल बढिरहेको जनआकांक्षा पूरा गर्न पूर्वाधारको विकास द्रूत गतिमा हुनुपर्छ। यस्ता काममा निजी क्षेत्रसँग पनि साझेदारी गर्नुपर्छ। सूचना प्रविधिको प्रयोगसँगै हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्छ। बनेका र बन्न लागेका पूर्वाधारलाई विश्वसनीय बनाउनुपर्छ। सूचना प्रविधिको जननी मानिने मुलुकमा समेत बेलाबेलामा हुने तथ्यांक तथा महŒवपूर्ण सूचना चोरीको घटनाबाट नेपालजस्तो भर्खरै वामे सर्दै गरेको मुलुकले धेरै ज्ञान लिन आवश्यक छ। व्यक्तिगत गोपनीयता भंगदेखि राष्ट्रिय सुरक्षामै गम्भीर खतरा पैदा गर्न सक्ने यो क्षेत्रलाई सुरक्षित राख्ने उपायबारे सोच्नुपर्छ।