लिखु तामाकोसी गाउँपालिकामा सोमबारबाट नियमित पढाइ
रामेछाप : रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा सोमबारबाट विद्यालय सूचारु भएका छन्। कोरोना भाइरसका कारण लकडाउन भएपछि बन्द भएका सामुदायिक विद्यालय आजबाट संचालन भएका हुन्।
आइतबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको गाउँपालिका स्तरीय प्रधानाध्यापकको बैठकले सबै विद्यालयमा पढाइ सुरु गर्ने निर्णय गरेको हो। यस अगाडि गाउँपालिकाका केहि माध्यामिक विद्यालयका कक्षा आलोपालो प्रणालीबाट संचालन भएका थिए।
गाउँपालिकाका कोरोना भाइरसको हाल नभएकाले विद्यालयका सबै कक्षा संचालन गर्न लागिएको अरुणोदय माध्यामिक विद्यालय, सैपुका प्रधानाध्यापक सन्तोष पौडेलले बताए। ‘हामीले यस अगाडि आलोपालो कक्षा संचालन गर्दै आएका थियौं, आजबाट सबै कक्षाका विद्यार्थीलाई बोलाएका छौं’ उनले भने, ‘यस अगाडि पनि शिक्षा मन्त्रालयको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका थियौं, अब पनि क्षमताले भ्याएसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पढाइ सूचारु गर्छौं।’
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ र पाठ्यपुस्तक समायोजन ढाँचा २०७७ अनुसार सिकाइ सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ।
यसैगरी विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भएका विद्यालयले मंसिर मसान्तभित्र पुनर्गठन गरिसक्नुपर्ने निर्णयसमेत भएको छ। गाउँपालिका भित्र १२ वटा माध्यामिक विद्यालय, ३५ आधारभूत र प्रावि गरी ४७ वटा विद्यालय रहेका छन्।