अछामका ६ स्थानीय तहमा अस्पताल शिलान्यास
अछाम : अछाममा थप ६ वटा अस्पताल बन्ने भएका छन् । ३ पालिकामा १५ शैया तथा ३ पालिकामा १० शैयाका गरी ६ वटा अस्पताल बन्न लागेका हुन्। निर्माण हुने अस्पतालको सोमबार एकै दिन शिलान्यास गरिएको छ ।
जिल्लाको कमलबजार नगरपालिका, चौरपाटी गाउँपालिका र बान्नीगढी जैयगढ गाउँपालिकामा १५ शैया तथा तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा १० शैयाको अस्पताल निर्माण हुने भएका छन् ।
कमलबजार र चौरपाटीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउने निर्णय यसअघि नै भएपनि हाल स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचीमा समेत समावेश गरिएका छन् ।
सोमबार बिहान ढकारी गाउँपालिका, दिउँसो तुर्माखाँद गाउँपालिकाहुँदै कमलबजार नगरपालिका र पनचदेवल विनायक नगरपालिकामा अस्पताल शिलान्यास गरिएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए ।
ती ठाउँमा प्रतिनिधिसभा सदस्य माननीय यज्ञ बोगटीले शिलान्यास गरेका हुन् । बान्नीगढी जयगढ गाउँपालिकामा बन्न लागेको १५ शैयाको अस्पतालको शिलान्यास प्रतिनिधिसभा सदस्य माननीय रामबहादुर बिष्टले गरेको पालिका अध्यक्ष राजेन्द्र खड्काल बताए ।
यस्तै चौरपाटी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी बन्न लागेको १५ शैयाको अस्पतालको शिलान्यास राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुँवरले उद्घाटन गरे ।
जिल्लाका दुई गाउँपालिका रामारोशन र मेल्लेख गाउँपालिकामा भने मन्त्रालयले जारी गरेको सुची समावेश नभएको पाइएको छ । यद्यपी ती दुई गाउँपालिकामा ५ बेड संचालन गर्ने गरी कोभिड विशेष अस्पताल भने संचालनमा आएका छन् ।
संघीय तथा प्रदेश सरकारको आर्थिक सहयोगमा ५ बेडको कोभिड विशेष अस्पताल संचालनमा आएका रामारोशन गाउँपालिका अध्यक्ष झंकर साँउदले बताए । अछामका मुख्य दुई नगरपालिकामा भने यसअघै नै अस्पताल संचालमा रहेका छन् ।
जिल्लाको मंगलसेन नगरपालिकामा जिल्ला अस्पताल संचालनमा रहेको छ भने साँफेबगर नगरपालिकामा ५० बेडको बयालपाटा अस्पताल संचालनमा रहेको छ । १५ शैयाको जिल्ला अस्पताललाई पनि ५० सैयाको अस्पतालका रुपमा घोषणा गरिनेछ ।
अस्पताल नभएका देशैभरका पालिकाहरुमा सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।
सबै नागरिकलाई सहज आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो । विभिन् पालिकामा निर्माण हुने ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।