एउटै अस्पताल दुई पटक शिलान्यास !
बर्दिबास : सात वर्षअघि महोत्तरीको गौशालामा सरकारी भवनको शिलान्यास भएको थियो । तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले तामझामका साथ भवन शिलान्यास गरेका थिए । तर, अस्पताल भवन बन्नु त परको कुरो भयो । काम पनि सुरु भएन ।
सोमबार अस्पताल भवनको दोस्रो पटक शिलान्यास गरियो । गौशला नगरपालिका मेयर शिवनाथ महतोले सुविधा सम्पन्न भवनको इट्टा, सिमेन्ट मसाला राखेर निर्माण कामको थालनी गरे ।
'मन्त्रीज्यूले सातअघि अस्पताल भवनको शिलान्यास गरेर जानुभयो ।तर, भवन निर्माण गर्न मन्त्रालयले न बजेट पठायो न त मन्त्रीले फर्केर आउनुभयो,'मेयर महतोले भने,'यसपाली अस्पताल पक्का बन्छ । संघीय सरकारले १८ करोड बजेट बिनियोजन गरेको छ ।'
पञ्चवर्षिय योजनाअन्र्तगत १५ शैयाको अस्पताल भवन निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले जनाए । अस्पतालको अत्याधुनिक प्रविधियुक्त भवन बन्छ । भवन निर्माण टेण्डर प्रक्रियाबाट हुनेछ ।
गौशाला क्षेत्रमा सुविधा सम्पन्न अस्पताल नहुँदा गाउँलले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । ग्रामिण भेगमा पर्छ, गौशाला । पाँचवटा स्थानीय तहको बिरामी आउने गौशालास्थित प्राथमिक स्वास्थ्य उपचारमा केन्द्र गर्भवतीलाई खासै सुविधा छैन। 'अप्रेशन गरेर बच्चा निकाल्नु परे जनकपुर, बर्दिबास जानुपर्छ, स्थानीय प्रकाश महराले भने, 'पैसा हुनेलाई त सजिलै छ ।गरिबलाई धेरै कठिन हुन्छ ।'
स्वास्थ्य केन्द्रको अस्पतालमा स्तरउन्नती नहुँदा नागरिकले अकालमै ज्यान गुमाउन बाध्य रहेको उनले दुखेसो पोखे । स्वास्थ्य केन्द्रका प्रमुख डा. रवीन्द्र कुश्वाहाले अब अस्पताल बनेपछि पहिले भन्दा राम्रो सेवा नागरिकले पाउनेछन्।