कोरोना खोपमा असमान पहुँच
तेस्रो मुलुकका कतिपय देशका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भने झैं भएको छ।
खोप (भ्याक्सिन) कुनै निश्चित रोगको प्रतिरोधक क्षमता वृद्धि गर्ने प्राणीको शरीरको जैविक तयारी हो। ल्याटिन भाषाको शब्द भ्याक्सिनियाबाट भ्याक्सिन शब्दको उत्पत्ति भएको हो। अठारौं शताब्दीमा बेलायतका एकजना चिकित्सक एडवर्ड जेनरले गौशितला (काउपाँक्स) नामक रोगको रोगजनक भ्याक्सिनियाले शीतला (स्मलपाँक्स) रोगको प्रतिरोध गर्न सक्ने तथ्य पत्ता लगाए। उनले एकजना गौशितलाले संक्रमित मानिसको घाउको पिप निकालेर एकजना स्वस्थ मानिसको पाखुरामा काटेर बनाएको सानो घाउमार्फत घुसाइदिए। ती मानिसलाई शीतलाले आजीवन छोएन। यो प्रक्रियालाई पछि ‘भ्याक्सिनेसन’ भनियो तर त्यसबेला यो शीतला रोगमा सीमित थियो। त्यसको करिब सय वर्षपछि फ्रेन्च वैज्ञानिक लुई पास्चरले रेबिजको भ्याक्सिन बनाएपछि भ्याक्सिनले व्यापकता प्राप्त गर्यो। खोप (भ्याक्सिनेसन) का कारण शीतलासहित कतिपय अन्य रोग पूर्णरूपले उन्मूलन भएका छन्। जनस्वास्थ्यका लागि आधुनिक चिकित्सा विज्ञानमा भ्याक्सिनलाई एक प्रभावशाली साधनका रूपमा लिइन्छ।
गत वर्ष विश्वमा कोरोनाको संक्रमण देखिनेबित्तिकै वैज्ञानिकहरूले सन् २०२० को अन्त्यसम्ममा कोरोनाको खोप पत्ता लाग्न सक्ने अनुमानपश्चात् संसारको प्रतीक्षा कोरोना खोप अनुसन्धानको सफलतामा थियो। क्षमतावान् राष्ट्रहरूले कोरोनाको अनुसन्धान, खोप निर्माण, खोप उत्पादन र कोभिड– १९ को उपचार पद्धतिमा समय र स्रोत खर्चे। यस वर्षको अन्त्यसम्ममा कम्तीमा दुइटा कम्पनीका व्यापारिक खोप बजारमा आउने तयारीमा छन्। निर्माणाधीन खोपको परीक्षण सम्पन्न नहुँदै कतिपय कम्पनीले तीव्ररूपमा खोप उत्पादन गरिसकेका छन्। सन् २०२१ को अप्रिलसम्ममा थुप्रै खोपको व्यापारिक उत्पादन बजारमा देखिने संकेत मिलेको छ। कोरोनाको खोप निर्माणमा धेरै समय लागेन तर खोपको मूल्य, आपूर्ति, ढुवानी, रसद (लजिस्टिक्स) र दक्ष जनशक्ति अभावमा संसारका धेरै नागरिकको पाखुरासम्म यो खोप पुग्न निकै समय लाग्ने देखिन्छ।
कोरोनाको खोप निर्माणमा धेरै समय लागेन तर खोपको मूल्य, आपूर्ति, ढुवानी, रसद र दक्ष जनशक्ति अभावमा संसारका धेरै नागरिकको पाखुरासम्म यो खोप पुग्न निकै समय लाग्ने देखिन्छ।
अमेरिकास्थित फाइजर कम्पनीले जर्मनीको बायोएनटेकसँगको सहकार्यमा निर्माण गरेको खोप स्वीकृतिका लागि अमेरिकास्थित खाद्य तथा औषधि प्रशासन कार्यालयमा निवेदन दिएको छ। स्वीकृति प्राप्त भएमा खोपको तुरुन्त आपूर्ति गरिने तयारी भइसकेको छ। यस कम्पनीले करिब पाँच करोड खोप वितरण डिसेम्बर महिनामै गर्नेछ। अमेरिकाका केही निश्चित नागरिकले यसको सुविधा यसै डिसेम्बरमा प्राप्त गर्नेछन्। अर्को वर्ष यसले थप एक अर्ब तीस करोड खोप उत्पादन गर्ने बताइएको छ। एकजनालाई २८ दिनको फरकमा दुइटा खोपको आवश्यकता पर्ने यसको बजार मूल्य करिब २० डलर प्रतिखोप हुन आउँछ। यो खोपलाई ऋणात्मक ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले रसद समस्याले यसको मूल्य आकासिने छ।
संसारमा करिब ५० प्रतिशत खोप खेर जाने विश्व स्वास्थ्य संगठनको आँकडा छ। सञ्चित गर्ने उपयुक्त वातावरण नहुनु यसको प्रमुख कारण हो। अर्को अमेरिकी कम्पनी मोडर्नाले निर्माण गरेको खोपको तेस्रो चरणका सकारात्मक प्रारम्भिक नतिजा सार्वजनिक भइसकेका छन्। मोडर्नाले पनि सन् २०२१ मा करिब एक अर्ब खोपको उत्पादन गर्न सक्ने भनेको छ। यसको भण्डारण गर्न ऋणात्मक २० डिग्री सेल्सियसको तापक्रम भए पुग्छ तर २१ दिनको फरकमा दुइटा खोप दिनुपर्ने यसको मूल्य प्रति खोप करिब २५ देखि ३७ डलरसम्म हुन आउँछ। यसको व्यापारिक उत्पादन पनि डिसेम्बरसम्ममा आउने भनिएको छ। रसद, ढुवानी र मूल्य जोड्दा यी खोप तेस्रो मुलुकका कतिपय देशका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भने झैं भएका छन्।
अर्को अमेरिकी कम्पनी जोन्सन र जोन्सनको खोपको तेस्रो चरणको परीक्षण जारी छ। अर्को वर्ष यसले करिब एक अर्ब खोपको निर्माण गर्नेछ। एउटा मात्र खोप भए पुग्ने यसको मूल्य करिब १० डलर पर्नेछ। साधारण फ्रिजरमा यसलाई तीन महिनासम्म सञ्चित गर्न सकिन्छ। यो सस्तो भए पनि यसको उत्पादन विश्वका गरिब देशसम्म पुग्न समय र खर्च लाग्नेछ। यसबाहेक रूसले स्पुतनिक– ५ नामक खोप निर्माण गरेर त्यहाँको सरकारले यसलाई स्वीकृति दिएर प्रयोगमा ल्याइसकेको छ। तर यसको तेस्रो चरणको परीक्षण नभएकाले यसको प्रभावकारिताको वैज्ञानिक पुष्टि भएको छैन।
चीनको सिनोफार्म ग्रुपले निर्माण गरेको खोप चीनले आपत्कालीन प्रयोगमा ल्याइसकेको छ। यसको प्रभावकारिताका सम्बन्धमा तथ्य स्पष्ट भएका छैनन् तर यसको परीक्षण भने चीनभित्र र बाहिर बृहत्रूपमा भइरहेछ। सिनोफार्मले दुई खोपको १४४ डलर पर्ने भनेको छ। बेलायतस्थित एस्ट्राजेनेका नामक कम्पनीले अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा निर्माण गरिरहेको खोप स्वीकृतिको प्रक्रियामा छ। यो खोप तुलनात्मक रूपले सस्तो छ। भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नामबाट यस खोपको व्यापारिक उत्पादन गर्दैछ। यसलाई साधारण फ्रिजरमा भण्डारण गर्न सकिन्छ। प्रतिव्यक्ति दुईवटा खोप दिनुपर्ने यस खोपको मूल्य करिब ३–५ डलर मात्र हुन आउँछ। सेरम इन्स्टिच्युटसँग प्रति महिनामा करिब पाँच करोड खोप उत्पादन गर्ने क्षमता छ।
अर्को भारतीय कम्पनी भारत बायोटेकले निर्माण गरिरहेको कोभ्याक्सिन नामक भारतको स्वदेशी खोपको परीक्षण अन्तिम चरणमा छ। यसको मूल्य तोकिएको छैन तर यो महँगो नहुने भनिएको छ। मूल्य र रसदको सुलभताका कारणले यी दुइटा भारतीय खोपको सफलताले विश्वलाई प्रभावित पार्ने छ। सेरम इन्स्टिच्युट एक परिवारबाट सञ्चालित निजी कम्पनी हो। यसले भारतमा चार करोड खोप उत्पादन गरेर तयारी अवस्थामा बसेको छ। सरकारी स्वीकृति प्राप्त भएमा भारतमा तिनको तुरुन्तै प्रयोग हुनेछ।
अमेरिकी महामारी वैज्ञानिक एन्थोनी फाउसीले अप्रिलसम्ममा मानिसको जनजीवन सामान्य हुन सक्ने आशा जगाएका छन् यद्यपि खोपका प्रभावकारिताको समयावधिसम्बन्धी केही प्रश्न अनुत्तरित छन्। अधिकांश अमेरिकी नागरिकसम्म कोरोनाको खोप निःशुल्क पुग्नेछ। तर अमेरिकाको जनसंख्या विश्वको जनसंख्याको केवल आठ प्रतिशत मात्र हुन्छ। ढुवानी, रसद र खोपको मूल्य युरोपीय मुलुकका लागि बाधक हुने छैनन्। युरोप र अमेरिकाको जनसंख्या संसारको करिब १८ प्रतिशत हुन्छ। भारत र चीन खोप उत्पादनको दौडमा निकै अघि पुगिसकेका छन्। त्यसैले भारत र चीनको जनसंख्यासमेत जोड्दा त्यो करिब ५४ प्रतिशत हुन आउँछ। बाँकी ४६ प्रतिशतमा पनि कतिपय देश खोप खरिद र व्यवस्थापन गर्न सक्षम छन्।
तर नेपाल, पाकिस्तान, बंगलादेशलगायत एसिया र अफ्रिकाका अनेक राष्ट्रमा त्यो सुविधा उपलब्ध छैन। पाँचजना उपप्रधानमन्त्री भएको अफ्रिकी देश दक्षिण सुडानमा केवल चारवटा भेन्टिलेटर भएको र १० वटा अफ्रिकी मुलुकमा भेन्टिलेटर नै नभएको द न्युयोर्क टाइम्सले छापेको छ। अमेरिकाले सयवटा भेन्टिलेटर सहयोग गरेको विषयलाई राष्ट्रिय छापाले प्रमुखताका साथ छापेको मेरा आदरणीय पाठकहरूको स्मरणमा ताजै होला। अरूले दिएको खोपको सुरक्षित ढुवानी र उचित व्यवस्थापन गर्नसमेत कठिन पर्ने मुलुक संसारमा धेरै छन्।
अमेरिकास्थित ड्युक विश्वविद्यालयको ग्लोबल हेल्थ इन्स्टिच्युटले धनी देशहरूले करिब तीन अर्ब ८० करोड खोपको खरिद गरिसकेको र अर्को पाँच अर्ब खोपहरू खरिद गर्ने विकल्प ती देशसँग भएको एक लेख प्रकाशित गरेको छ। यो तिनलाई चाहिनेभन्दा ठूलो परिमाण हो। विश्वव्यापी आर्थिक असमानताको कुरूप तस्बिरलाई कोरोनाले उजागर गरिदिएको छ तर केही आशावादी हुने ठाउँ पनि छन्। गाभी (द ग्लोबल एलाएन्सफर भ्याक्सिन एन्ड इमुनाइजेसन), सेपी (कोएलिसन फर एपिडेमिक प्रिपेयड नेसइनोभेसन) र विश्व स्वास्थ्य संगठनको अगुवाइमा बनेको कोभ्याक्स नामक योजनाद्वारा संसारका ९२ वटा गरिब मुलुकलाई सहजरूपमा खोप उपलब्ध गराइनेछ। यसअन्तर्गत प्रथम चरणमा यी देशलाई जनसंख्याको तीन प्रतिशत र दोस्रो चरणमा कुल २० प्रतिशत जनतालाई पुग्ने गरी खोप उपलब्ध गराउने योजना रहेको छ। यो सहुलियत दरमा सहजरूपले उपलब्ध हुनेछ तर यसका लागि पनि अर्को वर्षको मध्य वा अन्त्यसम्म कुर्नै पर्ने देखिन्छ। नेपाल यी ९२ देशको सूचीमा छ। चीन र भारतले पनि नेपालमा अलिकति मद्दत निश्चय नै गर्नेछन्। आर्थिक अनुदान पनि नेपालमा आउने नै छ। अनुदानको सदुपयोग र प्राप्त खोप व्यवस्थापन गर्नुपर्ने चुनौती भने नेपाललसँग छ।
—भट्ट अमेरिकास्थित टेनिसी स्टेट विश्वविद्यालयमा प्राध्यापनरत छन्।