'सरल सरकार, सहज सेवा' को बाटोमा सन्धिखर्क नगरपालिका

'सरल सरकार, सहज सेवा' को बाटोमा सन्धिखर्क नगरपालिका

सन्धिखर्क :  अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सिंह दरवारको अधिकार गाउँगाउँमा पुर्‍याउनका लागि 'सरल सरकार सहज सेवा' को नाराका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । 

आफ्नै गाउँबाट सेवा प्राप्त गरेको नागरिकले महशुस गर्ने गरी नगरपालिकको मुख्यालयमा सीमित सेवाहरु वडा कार्यालयबाट प्रदान गर्न सुरु गरिसकेको छ । राजस्व प्रशासनको सेवालाई वडास्तरबाट पुराउन तथा नागरिकलाई कम लागतमा छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह सुरु भएपछि नगरबासी खुशी भएका छन्  । 

सिंहदरवारको अधिकार गाउँगाउँमा भनेर नारामा भनिने तर पहिले गाउँ विकास समितिबाट प्रदान हुने सेवाको लागि पनि नगरपालिकामा धाउनुपर्ने बाध्यतालाई हटाएर वडा कार्यालयलाई मजबुत बनाई बडा कार्यालयबाटै सेवा प्रवाह गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए ।  

नगरपालिकाको कार्यालयबाट प्रदान हुने जनताको प्रत्यक्ष सरोकार रहेका सेवाहरुलाई वडावडाबाट सुरु गरेको छ । नगरवासीलाई मालपोत कर, सम्पत्ती कर, व्यवसाय दर्ता, नविकरण र खारेजी आदि कामका लागि नगरपालिकाको कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको छ । 

अहिले मालपोत कर, सम्पत्ती कर तथा व्यवसाय दर्ताको सबै काम सम्बन्धित वडा कार्यलयबाटै सुरु गरेको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । 

नगरवासीहरुको मालपोत कर तथा सम्पत्ति कर तिर्न तथा व्यवसाय दर्ता र व्यवसाय नविकरणका लागि नगरपालिकामा धाउनुपर्ने समय तथा आतेजाते भाडाको समेत बचत भएको छ । कम लागतमा बढी सेवा नागरिकले पाउने गरी कामहरु अगाडि बढेपछि नगरवासी पनि दंग छन् । 

ज्येष्ठ नागरिकहरु ज्येष्ठ नागरिक परिचयपत्र बनाउन नगरपालिकाको कार्यलयमा जानु पर्ने बाध्यता थियो । अहिले ज्येष्ठ नागरिक परिचय पत्र पनि वडा कार्यलयबाटै प्रदान गर्न सुरु गरेको छ । वृद्धवृद्धाहरुले सहजरुपमा आफ्नै गाउँबाट परिचयपत्र प्राप्त गरुन भन्ने उद्देश्यले वडा कार्यलयबाटै वितरण गर्न सुरु गरिएको सन्धिखर्क नगर पालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । 

अहिले सबै वडा कार्यलयमा प्राविधिक खटिएका छन् । पहिले जस्तो प्राविधिक भेट्न भन्दै नगरपालिकामा धाउनु पर्दैन । वडा कार्यलयमै बसेका प्राविधिकले योजनाको इस्टिमेट तथा मुल्यांकन गर्न थालेपछि वडावासीहरु पनि खुशी भएका छन् । प्रशासनीक कर्मचारीको कमी भएमा वडामा रहेका प्राविधिक कर्मचारीहरुलाई  खटाएर भएपनि सेवा प्रवाहलाई छिटो र छरितो बनाउन नगरपालिका लागि परेको छ । 

व्यक्तिगत घटना दर्ता पनि सबै वडा कार्यलयबाट अनलाइन प्रणालीमै सुरु गरेको छ । योजना सम्झौता गर्न उपभोक्ता समितिका पदाधीकारीहरु नगरपालिकामा आउन जान समस्या हुने भएपछि वडा कार्यलयमै पुगेर योजना सम्झौता गर्ने गरेको छ । 

ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने कार्य गरेको छ । ज्येष्ठ नागरिकहरु समाजका गहना भएको तथा उहाँहरुको योगदान महत्वपुर्ण रहेको ठहर गर्दै ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान पनि गर्दै आएको सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार विकले बताए । 

वडा कार्यलयको भौतिक संरचनामा पनि नगरपालिकाले जोड दिएको छ । वडा नम्बर १ र १० का भवन निर्माण सम्पन्न भएपछि आफ्नै भवनबाट सेवा दिइरहेका छन् । 

३,४,५ र ९ नम्वर वडा कार्यलयको भवन निर्माण सुरु भएको छ । वडा नं. १२ को वडा कार्यालयको भवन निर्माण सम्पन्नै हुन लागेको छ । वडा कार्यालयहरुको संस्थागत विकासका लागि अभियान नै सुरु गरी वडाकार्यालयलाई अधिकतम प्रविधिमैत्री बनाउनका लागि सवै वडा कार्यालयमा डेडिकेट इन्टरनेट सुविधा, फर्निचर, कम्प्युटर, प्रिन्टर, फ्याक्स आदिको प्रयाप्तता प्रदान गरेको छ । 

कर्मचारीको अभाव परिपूर्ति गर्नका लागि वडा कार्यालयमा खटाइएका प्राविधिक कर्मचारीहरु (सवन्जिनियर, एसिस्टेन्ट सब इन्जिनियरहरु) पनि आफ्नो नियमित कामका अतिरिक्त वडा सूचना प्रविधिसँग सम्बन्धित काममा सघाउन पर्ने अनिवार्य गरिएको छ ।

कृषि तथा पशु पंक्षी सेवाका लागि  हाललाई मोवाईल सेवाको रुपमा प्रति प्राविधिक २ वडाको जिम्मेवारी दिइएको छ । भने निकट भविष्य एक वडा एक प्राविधिक खटाइने छ । स्वास्थ्यतर्फका कर्मचारीहरु वडा कार्यालयसँग समन्वय गरेर काम गर्नुपर्ने गरी पत्रिपत्र गरिएको छ । 

यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा आएपछिको पहिलो बैठकमा नै बेरुजु शून्य नगरपालिका घोषणा गर्ने निर्णय भयो । सो निर्णयसँगै बेरुजु शून्य हुने गरी काम अगाडि बढिरहेको छ ।

आन्तरिक लेखा परीक्षण शाखाले आफ्नो कार्ययोजना नै बनाएर बेरुजु शून्य बनाउने रणनीतिका साथ काम गरिरहेको छ । विगत वर्षका वेरुजुरुहरु केलाएर सम्बन्धित पक्षलाई पत्राचार गरी असुल गर्नुपर्ने भए रकम दाखिला गर्न लगाइएको छ भने नियमित गर्नुपर्ने भए नियमित गर्नका लागि कागजात झिकाइ राखि महालेखा नियन्त्रक कार्यालयबाट खटिइ आउने सदरमुकाममार्फत फर्छ्यौट गरिने कुरा उल्लेख छ ।

यसैगरी कार्यालयमा उपयुक्त वातावरण बनाइएको छ । सबै कर्मचारीहरुलाई कार्यविवरण प्रदान गरिएको छ । प्रतिस्पर्धात्मक परीक्षाबाट सूचना प्रविधि अधिकृत भर्ना गरिएको छ भने कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउन कार्यायोजना बनाइ काम अगाडि सारिएको छ ।

त्यसैगरी वेवपेजलाई नियमित अद्यावद्यिक गर्ने, सेवा प्रवाहलाई भरपर्दो, गुणस्तरीय, पहुँचयोग्य बनाइ विकासका क्रियाकलापलाई प्रभावकारी रुपमा संचालन गर्ने अभियानको सुरुवात गरिएको छ । 

आम्दानी, खर्च, निर्माण भएका ऐन, नियम कार्यविधि, लेखा परीक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन कार्यालयको वेवसाईटमा सार्वजनिक गरिएको छ । त्यसैगरी राजनीति तटस्थ र सेवाप्रति प्रतिवद्ध भइ काम गर्ने वातावरण निर्माण गरिएको छ । 

कार्यालयमा रहेका स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारीको विवरण अद्यावद्यिक गरी वेबसाइटमा राखिएको छ।  सार्वजनिक जवाफदेहिता प्रवर्धनका लागि सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ भने सार्वजनिक परीक्षण् र सामाजिक परीक्षाण गर्ने कार्ययोजना अगाडि सारिएको छ।  

स्थानीय तहका कर्मचारीहरुलाई आधारभूत प्रशासनिक संस्कृति र कार्यप्रक्रिया सम्बन्धमा विभिन्न प्रशिक्षण (राजस्व प्रशासन, घटना दर्ता) नियमित बैठक, शाखा प्रमुखहरुको बैठकजस्ता कामहरु नियमित रुपमा संचालन गरिएको छ । वित्तिय सुशासन कायम राख्न सम्पूर्ण आथिक कारोवार सुत्रमार्फत संचालन गरिएको छ ।  आवश्यक कानुहरुको तर्जुमा गरी कामहरु अगाडि बढाइएको छ । 

नगरपालिकाले प्रदान गर्ने पशु सुत्केरी भत्ता लिन नगरपालिकामा कृषकहरुलाई धाउन नपरोस भनेर वडा कार्यलयमै पुगेर कृषकलाई बोलाएर पशु सुत्केरी भत्ता वितरण गरेको छ। गाई भैसी व्याएको कृषकलाई एक पशुको सुत्केरी भत्ता बराबर २ हजार रुपैयाँ प्रदान गरेको नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । सबैलाई वडा ,गाउँगाउँ तथा घरघरमा समेत पुगेर भत्ता प्रदान गरेको उनले जानकारी दिए ।  

कृषकहरुको मागको आधारमा मौषमी तथा बेमौषमी तरकारीको बिउ तथा गहुँको बिउ सम्बन्धित वडा कार्यfलयमै कृषकहलाई वितरण गरिएको छ । कृषकलाई बन्दा, फूल काउली, ब्रो काउली, पयाज, केराउलगायतका तरकारीका बिउ कृषकको मागका आधारमावितरण गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.