बैतडीमा थप १७ जनामा कोरोना पुष्टि
बैतडी : बैतडीमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेनामा कार्यरत ४ जना, सशस्त्र प्रहरीमा कार्यरत २ जना, दशरथचन्द नगरपालिकाका ४ जना र डिलाशैनी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
जिल्ला अस्पतालको प्रयोगशालामा १८३ जनाको स्वाब परीक्षण भएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पुर्चौंडी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।
मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५६८ पुगेको छ । ५ सय ६८ जना मध्ये ६८ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४६ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै डिलाशैनी गाउँपालिकामा १६ जना, पाटन नगरपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा २ जना र सुर्नया गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा अहिले सम्म ६ हजार ९६३ जनाको स्वाब परीक्षण गरिएकोमा ५६८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित मध्ये ४९९ जनाले कोरोना जितेका छन् भने एकजनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।