‘नालापानी’ विशेष फिल्म
काठमाडौं : सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर निर्माण भएको रिमेश अधिकारी निर्देशित फिल्म ‘नालापानी’लाई विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन फिल्म सम्बन्धित संघसंस्थाले सरकारसँग सिफारिस गरेका छन्।
चलचित्र विकास बोर्डले एक पत्रमार्फत फिल्मले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने हेतुले निर्माण भएकाले ‘नालापानी’लाई प्रदर्शन, प्रचारप्रसार लगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको हो।
त्यस्तै चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ र राष्ट्रिय विभूति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालले फिल्मलाई राष्ट्रिय विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
फिल्मका निर्माता तथा निर्देशक अधिकारीले चलचित्र विकास बोर्डसहित ६ वटा संस्थाले गरेको सिफारिस पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई बुझाएका छन्। राष्ट्रिय गौरवको कथामा फिल्म निर्माण भएकोमा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्रालयबाट हुने सहयोग गर्ने आश्वासन दिए। यो फिल्मको अहिले पोस्ट् प्रोडक्सनको काम भइरहेको छ।