संकटमा परम्परागत पेसा
भोजपुर : घरेलु कामकाजका लागि बजारमा पाइने रेडिमेट औजारले गाउँका परम्परागत घरेलु सामग्री लोप हुँदै गएका छन्। आधुनिक प्रविधिको विकाससँगै परम्परागत घरेलु सामान बिक्री र प्रयोग हुन छाडेपछि साना घरेलु उद्योग विस्थापित हुने अवस्थामा पुगेका छन्।
पेसाबाट गुजारा चलाउने धेरै मानिसलाई घरेलु सामान बजारमा बिक्री नै हुन छाडेपछि आम्दानीको गुम्ने चिन्ताले सताउन थालेको छ। काठको मुढोलाई कुँदेर बनाइने परम्परागत सामान अहिले बिक्री हुन छाडेको षडानन्द नगरपालिकाका चक्रबहादुर बस्नेतको बताए। बजारमा सामान नै बिक्री नभएपछि परिवार खर्च धान्नै धौधौ हुने गरेको उनी सुनाउँछन्। उनी भन्छन्, ‘सामान बजारमा बेच्न लग्यो, किनिदिने कोही भेटिन्नँ, त्यही सामान बोकेर रित्तो हात घर फर्कनुपर्छ।’
वनमा पाइने दार, ढ्यांग्रे सल्ला, कटहर, खमारी र चौंंलायोलगायत काठबाट चँदारो पेसा गर्ने चक्रबहादुरले ठेकी, हर्पे, दुधेरो, तोङ्बाको ढुङ्ग्रोलगायत काठका दूध, दही, मही राख्ने भाँडा बनाउने गर्छन्।
पछिल्ला केही वर्षयता आधुनिक सामानको बढ्दो प्रयोग बढ्न थालेपछि गाउँघरमै पनि घरेलु काठका सामान प्रयोग हुन छाडिसकेका छन्। सस्तो मूल्यमै आधुनिक सामान पाइन थालेपछि व्यवसाय संकटमा पर्दै गएको स्थानीय व्यापारी भीमबहादुर विश्वकर्मा बताउँछन्। चँदारो पेसाले पेट पालिन छाडेपछि पेसाकर्मी रोजगारीका लागि विदेश पलायन हुन थालेका छन्।
काठका सामान बनाउन काठ नपाउनु साथै बजारको अभावले यो पेसा खस्किँदै गएको हो। परिवारको गुजारा चलाउन समस्या भएपछि जीवन निर्र्वाह गर्नै मुस्किल भएको उनीहरूको गुनासो छ।