उपत्यकामा थपिए ७२३ जना कोरोना संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा थप ७२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १४ सय ९० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरै थपिएका १४ सय ९० सहित संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ।
१६ हजार ५४७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार बुधबार १५ सय ६७ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ। यस्तै आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ।
देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ५ हजार ६०८ र होम आइसोलेसनमा १० हजार ७४१ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३६५ जनाको आइसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।