लैंगिक हिंसा अन्त्यमा ऐक्यबद्धता
व्यक्तिको आचरण कुनै कानुन र नीतिनियमले नभई सिकाइने शिक्षा र व्यवहारले निर्धारण गर्छ
लोसन् १९९९ मा संयुक्त राष्ट्रसंघ महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध दिवसका रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेपछि हरेक वर्षको २५ नोभेम्बरलाई विश्वभर महिला हिंसाविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ। यस दिवसलाई नेपालमा पनि सोह्रदिने अभियानका रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने प्रचलन २०५४ देखि नै सुरु भएको हो।
यो वर्ष पनि ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्घता’ भन्ने राष्ट्रिय नाराका साथ महिला हिंसाविरुद्घको सोह्रदिने अभियान कार्यक्रम सुरु भएका छन्। श्लोगनले बताउँछ– सबैको सहयोग र ऐक्यबद्घताविना यो अभियान र अझ भन्नुपर्दा महिलामाथि हुने हिंसाजन्य अपराध न्यूनीकरण सम्भव छैन। बर्सेनि यस्ता अभियानले निरन्तरता पाइरहँदा पनि महिला तथा बालबालिकामाथि हुने अपराधजन्य हिंसात्मक घटना झनै बढेर जानु दु:खद स्थिति बनिरहेको छ। यस्ता असामाजिक, हानिकारक, अपराधजन्य मानसिकता कसरी सृजना हुन्छन् एकपटक बुझ्ने प्रयास गर्नैपर्छ।
सम्मान र प्रेम
जब व्यक्तिमा प्रेम र सम्मानको भावना हराउँछ तब ऊ अपराधमा उत्रिन्छ। सुन्ने गरिन्छ– प्रेमको कारणले आफ्नी प्रेमिका या प्रेमीको हत्या ग¥यो, यो कसरी सम्भव हुन्छ ? बलात्कार अनि हत्या, धोका अनि आत्महत्याजस्ता घटनाले सुन्दर जीवन किन यसरी बर्बाद गर्न बाध्य हुन्छन् मानिस भन्ने प्रश्न उठ्छ। जब व्यक्ति कारणवश, स्वार्थवशको प्रेम र सम्मान देखाउँछ तब आफूले पाएको चिज प्राप्त गरेन भने अपराधमा सामेल हुन्छ। यो त सम्मान र प्रेम भएन।
हामी जसलाई प्रेम गर्छौं उसलाई सम्मान गर्छौं र जसलाई सम्मान गर्न सक्छौं उसलाई नै प्रेम गर्छौं। जुन घरमा अभिभावकले आपसमा प्रेमपूर्ण व्यवहार गर्छन् र आपसमा सम्मानपूर्ण अभिव्यक्ति र व्यवहार दर्शाउने अभ्यास गरेका हुन्छन् उनीहरूका सन्तानले पनि त्यही व्यवहार सिक्छन्। त्यसैले अपराधजन्य मानसिकताको उपज भनेकै प्रेम र सम्मानको संस्कारको अभाव हुनु हो।
व्यक्तिको आचरण घरबाट, उसलाई सिकाइने शिक्षा र व्यवहारबाट सुध्रिन्छ कुनै कानुन र नीतिनियमले व्यक्तिको आचरण सुध्रिने होइन। त्यसैले प्रेमपूर्ण व्यवहार, सही शिक्षा, सकारात्मक सोचको विकास, चेतना जागरणको कला अनि एकले अर्कालाई गर्ने सम्मानको कला सिकाउने र त्यसलाई व्यवहारमा अपनाउने अभ्यासको विकास गर्नमा सरकारको अनुगमन, सबै तहका व्यक्ति, संघसंस्था, अधिकारकर्मी, सुरक्षाकर्मी र अन्य सबै क्षेत्रको ऐक्यबद्घता जरुरी छ।
कमजोर प्राणीका रूपमा मूल्यांकन
हाम्रो सामाजिक संरचना र धारणा छ– महिला कमजोर छन् भनेर जताउनका लागि। तर, धेरै उदाहरण छन्। समाज र राष्ट्रमा महिलाको पहल र नेतृत्वले प्रशंसनीय र उच्च मूल्यांकनका काम गरिएका छन्। आर्थिक, व्यावसायिक, राजनीतिक, न्यायिक, मानवअधिकार, महिला अधिकार, शैक्षिक संस्था, सुरक्षा निकाय र प्रशासनिकलगायतका क्षेत्रमा अब्बल दर्जाको सेवासहित महिलाले आफ्नो भूमिका, जिम्मेवारी र नेतृत्व कुशलतापूर्वक निर्वाह गरिरहेका छन्। ती सबै उदाहरण हुँदाहँुदै पनि सबै भूगोलका महिलाले यो अवसर पाएका भने छैनन्। सबै क्षेत्रका सबै महिलाले यो अवसर नपाउनुमा घरको संस्कार, रुढिवादी सोच, आर्थिक अभाव, शिक्षाको अभाव, स्वास्थ्य सुरक्षामा महिलालाई उपेक्षा गरिनु, सामाजिक मान्यता र पितृसत्तात्मक र विभेदकारी सामाजिक संरचनाका परिणाम नै हुन्।
अब परिवार र समाजका पुरुषको इज्जत बचाइदिन अनि आफ्ना व्यत्तिाmगत इच्छाभन्दा पनि करकाप र छोरीले बोल्न हुन्न भन्ने मान्यतालाई सबैले परास्त गर्नैपर्छ।
महिला दोस्रो कोटिका र कमजोर प्राणी भनेर धारणा बनाउने समाजलाई भर्खरै मात्र म्याग्दीकी चेली सपना रोका मगरले बेवारिसे शवलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्ने कर्ममा लागेका कारण सारा विश्वलाई नै प्रेरित गरिदिएकी छन्। विश्वव्यापी मिडिया बीबीसीले विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा समावेश गरेर उनको असाधारण कामको प्रशंसा बढाएको छ। छोरीले दागबत्ती दिनु हुँदैन भन्ने संस्कार र समाजलाई आफ्ना बुबाआमा र आफन्तलाई बेवारिसे बनाउनु हुन्न भन्ने सन्देश दिएकी छन्। वंश धान्न, अन्तिममा दागबत्ती दिन छोरा चाहिन्छ भन्ने समाजलाई धेरै छोरीले दागबत्ती दिएर, किरिया बसेर संस्कारको लैंगिक विभेद तोडिदिएका छन्। त्यसैले महिलालाई कमजोर ठान्ने र दोस्रो कोटिमा राखेर हेर्ने रुढीवादी संस्कार अन्त्य हुन जरुरी छ।
महिलामा सक्षमताको जरुरी
समाजमा महिलामाथि नै गरिने विभेद र अपराधजन्य घटना न्यूनीकरण गर्न महिलाले आफूलाई सक्षम, सचेत र निर्भय बनाउनु जरुरी छ। परिवार र समाजका पुरुषको इज्जत बचाइदिन अनि आफ्ना व्यक्तिगत इच्छाभन्दा पनि करकाप र छोरीले बोल्न हुन्न भन्ने मान्यता परास्त गर्नका लागि आफूलाई परेका आपत् र असहजताका कुरा खुलेर बोल्न सक्नुपर्छ। आफ्नो सुरक्षाका लागि केके गर्न सकिन्छ सबै उपाय जान्ने र उपयोगमा ल्याउने हिम्मत राख्नुपर्छ। आफूलाई अन्याय महसुस हुनासाथ आफ्नै नातागोता, परिवार, साथीभाइ, छिमेकी जोसुकै होऊन् सुरक्षा निकाय र कानुनको सहारा लिन अग्रसर हुनुपर्छ।
‘रोक नसके टोक’ भन्ने उखानलाई आत्मसात गर्दै पहिले सुरक्षित हुने कोसिस गर्ने, भएन भने जाइलाग्न पछि पर्नुहुन्न। जुन कुरा ठीक छ भन्न सकिन्न त्यसलाई खुलेरै नो, हँुदैन भन्न सक्नुपर्छ। यसका लागि कुनै हिम्मत गर्न नसक्ने महिलालाई राज्यस्तरबाट प्रशिक्षण दिने, जनचेतना जागृत गराउने काममा अग्रसर हुनुपर्छ। असामाजिक, अमानवीय घटना नै नहोऊन्, त्यसका लागि पूर्व सचेतनाका कार्यक्रम र जानकारीमुलक सूचना बारबार प्रसारित गरिनुपर्छ। महिलाका पीडामा राज्यको उपस्थिति छ भन्ने अनुभव गर्न पाउनुपर्छ।
सञ्चारमाध्यममा महिला
जो बोल्न सक्दैनन्, जान्दैनन् तर पीडा दबाएर बसेका छन् तिनलाई सञ्चारमाध्यममा धेरै स्थान दिइनुपर्छ। सूचना र सञ्चारमाध्यमले बोल्ने र प्रस्तुत गर्ने कुराले सूचनाको हकलाई उपयोग गर्न सकेको बोध दिलाउँछ। कस्तासम्म समस्या भोगेका हुन्छन्, घरेलु हिंसाका रूप कस्ता हुन्छन्, पञ्चभलाद्मीले महिलाको इज्जतको मापन कसरी गर्छ जस्ता कुरा खोतलेर महिला मुद्दालाई बाहिर ल्याउन सञ्चारमाध्यमको ठूलो भूमिका रहन्छ। आफ्ना पीडा र भावना दबाएर राखेका महिलाले बोल्न पाउने, आफ्ना धारणा खुलेर राख्न पाउने सहज माध्यम बन्न सक्नुपर्छ सञ्चारमाध्यम। सञ्चारमाध्यमको हौसलाले नै महिलालाई आफ्नो आत्मसम्मान र आत्मनिर्णयलाई बुझ्न सक्ने बनाउँछ।
जुन परिवर्तन राज्य व्यवस्थामा ल्याउन खोजिएको छ त्यो परिवर्तन महिलाको सम्मान, स्थान र सहभागिताविना अपूर्ण हुनेछ। त्यसैले सभ्यताको विकास र समृद्घिको चाहना राख्नेले महिलामाथि हुने अन्यायलाई नजरअन्दाज गर्न मिल्दैन। महिलाको भूमिका, महिलाको सहनशीलता र घर–समाजमा महिलाले थपेको सुन्दरतालाई महत्त्वका साथ स्थान दिन सकेमा त्यो स्थान एक आमाको स्थान बराबर हुनेछ।