अन्तिम संस्कार या अन्त्येष्टि ?
मानिस जन्मेदेखि मृत्युपर्यन्त विभिन्न संस्कृति र परम्परामा अनुबन्धित भएर जीवन निर्वाह गर्छन्। बाँचुञ्जेल जति काम र उत्तरदायित्व निर्वाह गर्छन्, तीमध्ये धेरैजसो व्यक्ति आफ्नो सहज मृत्युको इच्छा गर्नुका साथै मृत्युपश्चात् मेरो अन्तिम संस्कार यसरी गरिदिनू, मेरो नाममा यस्तो गरिदिनू भनेर आफ्नो अन्तिम इच्छा र चाहना पनि व्यक्त गर्ने गर्छन्।
मृत्यु भएका व्यक्तिको अन्तिम दाहसंस्कारपछि उसको आत्मालाई सम्मान गर्ने विभिन्न परम्परा देखिन्छ, परम्परा पूरा गरे मृत्यु भएकाको उचित सम्मान र मर्यादा हुन्छ, आत्माले शान्ति पाउँछ भन्ने विश्वास छ। जिउँदाका जन्ती मर्दाका मलामी भन्ने भनाइ त्यसै बनेको होइन। तथापि हाल भाइरस सर्न सक्ने जोखिमले परम्पराअनुसार दाहसंस्कार गर्न पाएका छैनन्, जसले मनोवैज्ञानिक धार्मिक र सांस्कृतिक गहिरो प्रभाव पारेको भए पनि कोरोना तथा सरकारको आग्रहलाई आत्मसात गर्दा परम्परानुसार सतगत गर्न पाएका छैनन्।
संवेदनशीलता
समाजमा छोरीहरूले पनि अन्तिम संस्कार गर्ने गरेको भए पनि शास्त्रीय दृष्टिकोणले अझै ग्राह्य मानिएका छैनन्। शवलाई जो पायो त्यहीले छुन नहुने, तिलाञ्जली, दागबत्तीदेखि चिता जलाउनेसम्मका कर्म परिवारबाटै सम्पन्न हुनुपर्ने, खानपान, शुद्धाशुद्धि, छूतअछूत मिहिन ढंगले बार्नुपर्नेछ। तथापि हरेक जातजाति, धर्म, सम्प्रदायको सदगतका आआफ्नै विधि र परम्परा छ। तर कोरोनाले मृत्यु हुनेहरूको शव व्यवस्थापनमा परिवार संलग्न हुन नपाउँदा संस्कारगत आस्था हुनेका लागि ठूलो चिन्ता बनेको छ। कतिपय स्थानमा सेनाले शव व्यवस्थापन भइसके पनि मृतकका परिवारले कुशको शव बनाएर त कहीं उत्खनन गरेर पुनः दाहसंस्कार गरेका खबर आउने गरेका छन्।
सामान्य अवस्थाको अन्त्येष्टि भन्दा कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिमा फरक भनेको केवल सावधानी मात्र हो, जुन जीवित व्यक्तिसँग पनि हामीले हरसमय र हरस्थानमा अपनाइरहेका छौं।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा गुणात्मक रूपले बढ्न थालेपछि पशुपति क्षेत्र विकास कोषले कोरोना मृत्यु प्रमाणित रिपोर्टबाहेक कोरोना आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक तर सरकारले मृत्युपछि परीक्षण गर्न नपाइने निर्णयका कारण मलामी, आफन्त, कर्मचारी र संलग्न सबैको लामो समय उपस्थितिका कारण उक्त क्षेत्र संक्रमण फैलाउने हटस्पट बन्ने खतरा छ। आर्यघाटमा दाउराको परम्परागत विधिबाटै तीनदेखि चार घन्टा लगाई जलाउन बाध्य छन्।
शंकास्पद मृत्यु र व्यवहार
हालसम्म कोरोनाले मृत्यु भएका भनिएका १३ सय बढीको मृत्यु वास्तविक कारण कोरोना नै हो त ? किनभने धेरैैको मृत्युपछि मात्रै कोरोना पुष्टि भएकाले यसको वास्तविक कारण खोज्नु स्वाभाविक हो। विकसित देशहरू बढी उमेर समूहका व्यक्तिलाई पनि बचाउन सफल भएका छन् भने नेपाल स्रोत साधनको कमीका कारण बचाउन सकिने उमेर समूह पनि जोखिममा छ र गुमाइरहेको पनि छ। नेपालमा अहिले सरकार अघिअघि कोरोना पछिपछि हुनुपर्नेमा ठीक उल्टो कोरोना अघिअघि सरकार पछिपछि प्रतिकार्यका रूपमा भइरहेको छ। अन्तिम संस्कारमा सरोकार नराख्ने र संलग्न नभएकाहरू पनि सञ्चारमाध्यमबाट देखाइने पीपीई लगाएकाहरूले सदगत गरेका सनसनीपूर्ण लाग्ने दृश्यबाट बढी हतासिएका छन्। क्षतिको तथ्यांकगत जानकारी आवश्यक भए पनि समाज नै भयभीत हुने तस्बिर र दृश्यको औचित्य ?
लगातार विवादमा आइरहेको अन्तिम संस्कारका विषयमा विश्व स्वास्थ्य संगठनलगायतका संस्था तथा सबै देशले कोरोनापीडितहरूको शवको व्यवस्थापन कसरी गर्ने भनी विभिन्न निर्देशिका तथा प्रोटोकल बनाई लागू गरेको पनि धेरै महिना भइसक्यो। तर जनमानसमा विशेषतः नेपालीमा त्यसबारे प्रशिक्षण, सूचनाको सरल प्रवाह नगरिएकाले अनेक भ्रम तथा शंका छन्। जसकारण शव व्यवस्थापनमा अनावश्यक जटिलता हुन गई मानव शरीरले मृत्युपछि पाउनुपर्ने न्यूनतम संस्कारमा समेत ठूलो विचलन देखिएको छ। कुनै पनि सभ्य समाजको ठूलो मापक त्यस समाजका नागरिकलाई मरेपछि गरिने व्यवहार हो भन्ने विश्वब्यापी मान्यता छ।
शव व्यवस्थापनमा सुरक्षाका उपाय
- मृत्यु जहाँसुकै भए पनि शंकास्पद वा यकिन दुवै अवस्थाका शवहरूको यथाशक्य चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउने, अन्त्येष्टि गर्ने।
- प्रचलित विधिअनुसार दाहसंस्कार वा समाधिस्थ गर्ने।
- शवलाई धेरै नचलाउने, लागेका पाइप, क्याथेटरलगायतका सामग्री हटाउने, कुनै भागबाट स्राव बगिरहेको भए बन्द गर्ने, उठाउँदा, घाट लैजाँदा, चितामा राख्दा वा गाड्ने तयारी गर्दा गर्नुपर्ने प्रक्रियामा विशेष सुरक्षा सावधानी अपनाउने।
- शवको कुनै भागबाट स्राव आएको बाहेक शव राख्न विशेष ब्यागको जरुरत पर्दैन। शवलाई डिसइन्फेक्ट गर्न र विशेष शववाहन जरुरत पर्दैन।
- धेरै मलामी जम्मा नहुने, भौतिक तथा सामाजिक दूरी पालना गरी अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्दै एकदुई दर्जन मानिस भई अन्त्येष्टि गर्ने।
- ६० वर्षमाथिका वृद्धवृद्धा, केटाकेटी तथा अन्य शारीरिक रोगका कारण कमजोर स्वास्थ्य भएका दीर्घरागीहरू अन्त्येष्टिमा सहभागी रोक्ने।
- अन्तिम संस्कार प्रक्रियामा मुखमा पानी चुहाइदिने, ढोग्ने, छुने, अँगालो हाल्ने, मिचिमिची धुने नुहाउनेजस्ता प्रक्रिया नगर्ने। एक मिटर बढीको दूरीबाट पालैपालो हेर्दा, जल छर्कंदा, पाठ गर्दा, नमस्कार गर्दा, फूल चढाउँदा जोखिम हँुदैन, गर्न दिन सकिन्छ।
- शवसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिले हरेक चरणमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।
- शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीले मास्क, पञ्जा लगाएर मात्र गाडी चलाएमा पनि रोग सर्ने सम्भावना छैन। तथापि पीपीई प्रयोग गर्दा हुन्छ।
- शवसँग प्रत्यक्ष सम्पर्कमा आएकाले अन्त्येष्टि सकिएपछि बाहिरी सबै कपडा, जुत्ता, टोपी आदि डिस्पोजेबल भए सुरक्षित स्थानमा संकलन गर्ने र त्यसको उचित उपचार गरी थन्काउने वा जलाउने। पुनः प्रयोग गर्नुपर्ने वर्गका भए एक प्रतिशत क्लोरिन झोलले निर्मलीकरण गरी धुने, पखाल्ने र घाममा सुकाउने।
- अन्य शव नछुने मलामीले अरू समयमा जस्तै लगाएका कपडा धुने र नुहाइधुवाई गरेमा पर्याप्त हुन्छ।
सम्मान
शदीयौंदेखि आफ्नो सांस्कृतिक मूल्यमान्यताअनुसार गर्दै आएको अन्तिम संस्कार गर्न नपाउँदा आत्माले शान्ति नपाउने हो कि भन्ने चिन्ता सबैमा व्याप्त हुन्छ र त्यस्ता मनोवैज्ञानिक असर तत्कालै बाहिर कोरोना महामारीले आक्रान्त अवस्थामा आइहाल्ने सम्भावना नभए पनि परिवारका सदस्यमा दीर्घकालसम्म रहिरहन सक्छ। तसर्थ कोरोनाबाट मृत्यु भएकाप्रति राष्ट्र र समाजले स्मरण गर्दै स्तम्भ, शिलालेखबाट सम्मान गरेमा आफन्त गुमाएका र अन्तिम संस्कार गर्न नपाएका परिवार एवं आफन्तको पीडाप्रति पनि सहानुभूति भई योद्धाप्रति सम्मान व्यक्त हुन्छ।
अन्त्यमा, तथ्य तथा कार्य मृतकका परिवारका सदस्यले गर्न सधैं र सबै सक्षम नहुने भएकाले जिल्लास्थित कोरोना व्यवस्थापन समितिले विशेष प्रशिक्षण दिएका व्यक्तिको टोलीबाट शवको व्यवस्थापन गर्न भनिएको हो। अरू कसैले हेर्न, मलामी जान वर्जित गरिएको हैन र छैन। सामान्य अवस्थाको अन्त्येष्टि भन्दा कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिमा फरक भनेको केवल सावधानी मात्र हो, जुन जीवित व्यक्तिसँग पनि हामीले हरसमय र हरस्थानमा अपनाइरहेका छौं।