बस्ती हस्तान्तरण भएन
फिदिम : पहिरो पीडितका लागि एकीकृत बस्ती निर्माण हुँदा फालेलुङ गाउँपालिका–३ का बासिन्दा खुसी थिए। तर उक्त एकीकृत बस्ती हस्तान्तरण नहँुदा पीडितहरू आफन्तको शरणमा बसेका छन् भने नयाँ घरहरू झारले छोपिन थालेका छन्।
पहिरोले घर भत्काउँदा पाँचथरको फालेलुङ–३ बुङसिङ डाँडाकी लीला राईको काखमा महिना दिन नपुगेको बच्चा थियो। पैसा कमाउन बिदेसिएका उनका श्रीमान्को पनि उतै मृत्यु भयो। पहिरोले घरसमेत गुमाएकी लीलालाई आफ्ना पाँच सन्तान पाल्नसमेत धौधौ छ।
‘घर भत्किएपछि माइतीपट्टिका काका पर्ने मनकुमार थाम्सुहाङको घर बन्धकी लिएर बसेकी छु,’ लीला भन्छिन् ‘एक वर्षको भाका थियो। दुई वर्ष हुँदा पनि पैसा तिर्न सकेकी छैन।’ उनले काखको छोरो देखाउँदै पहिरोबाट बचाए पनि आफ्नै घरमा हुर्काउन नपाएको गुनासो गरिन्। स्थानीय सरकारले पहिरो पीडितका लागि बुङसिङ डाँडामा १५ वटा घरसहित एकीकृत बस्ती तयार गरेको छ। घर बनेको दुई वर्ष पुगे पनि पीडितलाई हस्तान्तरण हुन सकेको छैन। नयाँ घरहरू झारले छोपिन थालेका छन्।
२०७४ साउन २६ देखि चार दिनसम्म गएको पहिरोले बुङसिङडाँडा, खोलाघारी, माङ्लेबुङ र बिकटेका दर्जनौं घर भत्किए। तत्कालका लागि पहिरो पीडितलाई विद्यालयमा राखिएको थियो। कतिपय परिवारलाई त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाइएको थियो। बस्नै नमिल्ने गरी घर भत्किएका पीडितका लागि सरकारले एकीकृत बस्ती निर्माण गरे पनि बस्ती हस्तान्तरण नहुँदा पीडित समस्यामा छन्।
लीलाजस्तै १५ जना पहिरो पीडितका लागि प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको १७ लाख बजेटबाट उक्त बस्ती निर्माण गरिएको हो। ६ रोपनी जमिनमा १५ वटा घर निर्माण गरिएका छन्।