जिल्ला अस्पताल बैतडीमा आइसीयु कक्ष
बैतडी : जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसीयु कक्ष स्थापना भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पातलमा भेन्टिलेटरसहितको आइसीयु कक्ष स्थापना भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।
कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसीयु कक्ष स्थापना गरिएको डा. जोशीले जानकारी बताए । उनले भने, 'हामीले जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसीयु कक्ष स्थापना गरेका छौं ।
जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको छ । आइसीयुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा. जोशीले बताए ।
आइसीयु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भएपनि जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसीयु सञ्चालनमा समस्या आउने उनले बताए ।
यस्तै जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई पनि आइसीयु सञ्चालनका लागि तालिमको आवश्यकता पर्ने र त्यो तालिम पनि कसैले पनि लिएको छैन् । भेन्टिलेटरसहितको आइसीयु कक्ष स्थापना भएपनि सञ्चालनमा समस्या आउने देखिएको डा. जोशीले जानकारी दिए ।
कोरोनाका गम्भीर बिरामीहरुलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा भेन्टिलेटर सहितको आइसीयु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो । उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक पर्ने भएपनि दक्ष जनशक्ति नपठाउँदा आइसीयु कक्ष सञ्चालनमा समस्या भएको छ ।