बंगलादेशका रोहिंग्या शरणार्थीहरुलाई असुरक्षित टापुमा पठाइयो
ढाका: बंगलादेशको कक्स बजार आसपास रहेका एक हजार ६ सय रोहिंग्या शरणार्थीहरुलाई यहाँको सरकारले भसन चार टापुमा स्थानान्तरण गरेको छ ।
केही वर्षअघि देखि नै यहाँका एक लाख रोहिंग्याहरुलाई यस टापुमा सार्ने योजना अनुरुप सरकारले उनीहरुलाई पठाएको हो । तर असुरक्षित मानिएको उक्त टापुमा जान अधिकांश रोहिंग्या शरणार्थीहरु इच्छुक छैनन् भन्दै मानवअधिकारकर्मी समूहहरुले आवाज उठाएका छन् ।
भसन चार टापु समुद्री सतहबाट थोरै मात्र उचाइमा रहेकाले समुद्री छालका कारण सधैँ असुरक्षित मानिन्छ । तर सरकारले पहिल्यैदेखि ल्याएको योजना यस पटक लागु गरेको हो ।
विभिन्न एसियाली देशमा १० लाखको संख्यामा रहेका मुस्लिम अल्पसंख्यक रोहिंग्या समुदाय बंगलादेशमा मात्रै ८ लाखको संख्यामा रहेको बताइन्छ । उनीहरुमाथि २०१७ मा म्यानमारको सेनाले हिंसात्मक कारवाही गरेपछि बंगलादेश, भारत लगायत देशमा विस्थापित भएका हुन् ।