सेटिङमा मानव तस्करी

सेटिङमा मानव तस्करी

काठमाडौं : पछिल्लो समय सेटिङमा मानव तस्करी मौलाएको छ। भिजिट भिसाका नाममा दैनिक डेढ सयभन्दा बढी महिला तथा पुरुष विदेश उडिरहेका छन्। स्रोतका अनुसार दसैंयता सेटिङमा तीन हजारभन्दा बढी महिला तथा पुरुष दुबईमा पुगेका छन् । त्यहाँबाट कुबेत, इराक, सिरियालगायत देशमा घरेलु कामदारका रूपमा पठाइने गरिएको छ। तस्करीमा पर्ने केही पुरुषसहित अधिकांश महिला छन्।

स्रोतका अनुसार उनीहरूलाई दुबईको अजमानमा लुलु मार्केटसँगैको भवनमा राखिएको छ। हाउसमेड राख्ने उक्त भवनमा नेपाली महिला भेडाभाख्राजस्तै कोचिएका छन्। त्यहाँका मालिकले उक्त भवनबाट रोजेर महिला लैजाने र घरेलु कामदारका रूपमा लगाउने गरेका छन्। एयर अरेबिया, जजिरा एयरलाइन्सलगायतबाट रातिको समयमा सेटिङमा उडाउने गरिएको छ। स्रोतका अनुसार बिहीबार र शुक्रबार भने सेटिङमा कुनै पनि जहाज उडेका छैनन्। तर, वैदेशिक रोजगारका नाममा मानव तस्करी गरेको भन्दै वैदेशिक रोजगार विभागले शुक्रबार मात्रै तीनवटा म्यानपावरमा छापा हानेको छ। 

विभागका महानिर्देशक कुमार दाहालले भिजिट भिसाका नाममा तस्करी गरेको आशंकामा छापा मारिएको बताए। वैदेशिक रोजगारीका लागि भन्दै भिजिट भिसामा श्रमिक विदेश पठाउन लागेको पूर्व सूचनाका आधारमा सीनामंगलमा रहेका म्यानपावरमा छापा हानेको हो। विभागले शुक्रबार स्काई अफ द वल्र्ड म्यानपावर प्रालि, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि र सुर्खेत ओभरसिज प्रालिमा छापा हानेको हो।

अनुसन्धान अधिकृत कुशल बरालले म्यानपावरमा छापा हानी पासपोर्ट, कम्प्युटरलगायत आवश्यक कागजात नियन्त्रणमा लिइएको बताए। छापा हान्ने संकेत पाएपछि सुर्खेत ओभरसिजका कर्मचारी कार्यालय बन्द गरेर भागेका थिए। अनुगमन टोलीले म्यानपावर सञ्चालकलाई तुरुन्त कार्यालय आउन निर्देशन दिए पनि नआएपछि सिल गरिएको उनले बताए।
भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने क्रम सुरु भएसँगै विभागले मंसिर १६ गते ध्यानाकर्षण गराउँदै अवैध रूपमा नपठाउन र नजान सूचना गरेको थियो । यूएईलगायत देशमा आकर्षक सेवा–सुविधाको प्रलोभन पारी व्यक्ति तथा संस्था संलग्न भएर श्रमका लागि पठाइरहेको भन्दै त्यसो नगर्न विभागले भनेको थियो।

गैरकानुनी प्रक्रिया र बाटो अवलम्बन गरी विदेश जानेहरू ठगीमा परेको र उजुरी गर्ने क्रम सुरु भएको महानिर्देशक दाहालले बताए। अवैधानिक रूपमा श्रमका लागि भिजिट भिसामा गएका व्यक्तिको सेवा सुविधा तथा सर्त तथा सुविधामा वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४ आकर्षित नहुने तथा शारीरिक, मानसिक हिंसा भए स्वयं व्यक्ति नै जिम्मेवार हुने भएकाले सचेत हुन विभागले सार्वजनिक सूचना जारी गरेको थियो। तर, त्यो क्रम नरोकिएपछि विभागले म्यानपावरमा छापा हानेको महानिर्देशक दाहालले बताए। व्यक्ति वा संस्थाले बलजफ्ती  गरेकाले तीव्रतासाथ छापा हानेका छौं’, उनले भने, ‘गल्ती गर्ने म्यानपावर तथा व्यक्ति कारबाहीको दायरामा आउँछन्।’

अनुगमन अधिकृत बरालका अनुसार स्काई अफ द वल्र्ड म्यानपावर प्रालिद्वारा सञ्चालित मल्टिपल टुर एन्ड ट्राभल्सले भिजिट भिसामा धेरै कामदार पठाएको भेटिएको छ। उक्त ट्राभल्सबाट अन्य म्यानपावर कम्पनीले समेत भिजिट भिसामा पठाउने गरेको तथ्य खुलेको बरालले बताए। सीपीयू अध्ययनपछि थप कुरा पत्ता लाग्ने उनको भनाइ छ। 
देशमा बढ्दो बेरोजगार, नाजुक आर्थिक अवस्था र पारिवारिक बेमेलका कारण महिलामा जसरी पनि विदेश जाने प्रवृत्ति बढ्दै गएको छ। जसले गर्दा मानव तस्करी र बेचबिखन बढ्ने गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख डा. देवबहादुर बोहराले मानव बेचबिखनका मुद्दा गम्भीर रूपमा लिएर अनुसन्धान गरिएको बताए । ब्युरोले हालसम्म १ सय ३८ मुद्दा दायर गरेको छ। ४४ पुरुष र ९ महिला गरी ५३ जना मानव बेचबिखन मुद्दामा पक्राउ परिसकेका छन्। ब्युरोमा चालु वर्षको ५ महिनामा मात्रै मानव बेचबिखनमा १ सय ४ मुद्दा दर्ता भएका छन् । साउनयता मात्रै २८ पुरुष र ४ महिला गरी ३२ जना पक्राउ परिसकेका छन्।

ब्युरोले सूक्ष्म ढंगले अनुसन्धान गरे पनि पीडित पहिचान हुन नसक्दा अनुसन्धान प्रभावित हुने गरेको ब्युरोका कार्यकारी निर्देशक एसएसपी बोहरा बताउँछन्। ‘पीडित नभेटिने समस्या बढेको छ’, उनले भने, ‘हामी पीडित खोज्न घरदैलोसम्म पुग्ने गरेका छौं ।’ मुद्दा दायर गर्दा पीडितले बयान फेरे, सम्पर्कमा नआएमा मुद्दा कमजोर बन्छ। कतिपय अवस्थामा पीडकसँग मिलेमतोमा पीडित गायब हुने गरेको उनको भनाइ छ। ब्युरो स्थापना भएदेखि हालसम्म २ सय ३४ महिला र ६६ पुरुषलाई उद्धार गरिएको छ। 

तस्करले सेटिङमा त्रिभुवन विमानस्थलबाट छिराउन नसके भारतको बाटो हुँदै विभिन्न देश पुर्‍याउने गर्छन्। ब्युरोले भारतलगायतबाट त्यहाँको प्रहरी, दूतावास, गैरसरकारी संस्थाको समन्वयमा उद्धार गर्छ। प्रतिनिधिसभा सदस्य सांसद डा. डिला संग्रौला कोरोनाका कारण कतिपय गन्तव्य मुलुकमा वैधानिक बाटोबाट जान सहज नहुँदा युवा जस्तोसुकै जोखिम मोलेर पनि वैदेशिक रोजगारीमा जान थाल्दा तस्करी बढेको बताउँछिन्। सरकारका सबै निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी मानव तस्करका घटना न्यूनीकरण गर्न विशेष भूमिका खेल्नुपर्ने उनले बताइन्।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ बेरोजगार समस्याका कारण मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएको बताउँछन् । कतिपय व्यक्ति तथा संस्थासमेत महत्वाकांक्षी हुँदा मानव बेचबिखनका घटना बढ्दै गएको उनको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.