दुस्मनलाई पनि नहोस्
आईसीयूमा पुग्नासाथ नसा खोल्ने, अक्सिजन जोड्ने र आवश्यक परीक्षणका काम भए। अक्सिजन जोड्नासाथ सहज भई स्वर्गमा पुगेझैं आनन्द भयो। खोकी कम भयो र निद्र्रा लाग्न सक्ने अवस्थामा पुगें। अब त बाँचिन्छ भन्ने आशा जाग्यो।
पहिलो केस देखिएको पुस मसान्तदेखि नै महामारी नियन्त्रणको तयारीमा संलग्न।
चैत ११ मा बन्दाबन्दी अर्थात् लकडाउन भएपछि त झनै मेचीदेखि महाकालीसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेशमा समन्वय गर्न, कोभिड सेवाहरू— क्वारेन्टिन, आइसोलेसन, अस्पतालको तयारी, सामान तथा उपकरणहरूको उपलब्धता र समन्वय, तयारी तथा अनुगमन र मूल्यांकन आदिको खटाइ।
- नेपाल चिकित्सक संघको कोषाध्यक्ष पनि भएकाले त्यो सरकारी अनुभवलाई आत्मसात् गर्दै अग्रपंक्तिमा सेवारत सदस्यहरूलाई सुरक्षित राख्न, मानमर्यादा उँचो बनाउन तथा हौसला दिन पनि सक्रिय।
- संघका अध्यक्ष र महासचिवसँग स्वास्थ्यकर्मीलाई यातायात, क्वारेन्टिन, आइसोलेसन, होटल व्यवस्था, स्वास्थ्य बिमामा संलग्न।
- चिकित्सक संक्रमित भएर जटिलता आए आईसीयू र भेन्टिलेटरको व्यवस्था, प्लाज्मा थेरापी, रेम्डेसिभिरको उपलब्धताको प्रत्याभूति दिलाउने काममा संलग्न।
- देशका विभिन्न स्थानमा पुगेर स्वास्थ्यकर्मीको मनोबल बढाउँदै नेपाली चिकित्सकले आफ्नै स्रोत तथा सहयोगबाट प्राप्त नेपाल चिकित्सक संघको आइडेन्टिटी या डिग्निटी ज्याकेट, स्यानिटाइजर, मास्क हस्तान्तरण।
- लुम्बिनी प्रदेशमा कोरोनाले वैशाख, जेठमा महामारीको रूप लिँदा त्यहाँका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, अस्पतालहरू, प्रयोगशालालाई प्राविधिक सहयोग गर्न तथा समग्र प्रदेश ५ को संघसँग समन्वय।
- त्यहीँ बसेर सीआईसीटी गठनमा सक्रिय साथै बाँकेको नरैनापुर, कपिलवस्तुको यशोधरा, पकडी, रूपन्देहीका सीमाका स्थानीय निकायमा विशेष काम सम्पन्न।
कसरी भयो संक्रमण ?
संक्रमण कहाँ र कोबाट भयो भन्नेमा अझै खोजीमा छु किनभने कोरोना आफैंमा नयाँ रोग भएकाले यसको संक्रमण अवधि, लक्षण देखिने अवधि, सम्पर्क भएदेखि लक्षण सुरु हुने अवधि, जटिलता आउनसक्ने समय, निको हुने समय र पीसीआर नेगेटिभ हुने समय सबै विश्वभर बहसमा छन्। असोज ११ गते बेलुका हल्का ज्वरो देखियो। सिटामोल खाएर सुतेपछि मंगलबार फ्रेस लागेकाले ललितपुर मेयरसाबको नजिकका सम्पर्कको नमुना लिने कार्यक्रम (मेयर चिरिबाबु महर्जनलाई ८ गते लक्षण देखिएकाले ९ गते कोरोना पोजिटिभ) लगायत कार्यक्रम सकी प्रदेश २ का अस्पतालहरूको कोभिड र ननकोभिड सेवाहरू अनुगमन गर्न वीरगन्ज गएँ। वीरगन्ज पुगेको रात पसिना आउने गरी ज्वरो आयो, ज्वरो बढी भएकाले खाना रुचेन तर स्वाद र गन्ध थियो।
राजविराज र त्यसपछि...
असोज १५ गते राजविराज पुगेर स्वास्थ्य सेवा विभागबाट पठाइएका सामान बुझाउने, छलफल र अस्पतालको अनुगमनपछि गजेन्द्रनारायण सिंह अस्पताल पुगें। क्यान्टिनतिरबाट कसैले ए दाइ, त्यहाँ किन गएको ? तिनीहरूलाई कोरोना लागेको छ भनेर चिच्याए। काम र आकस्मिक सम्पर्क भइसकेको थियो। काठमाडौं घर फर्किएपछि शरीर तात्न थाल्यो। आइसोलेसनमा बसेँ। श्रीमतीलाई थर्माेमिटर र पल्स अक्सिमेट्री ल्याइदिन भनें। हरेक घण्टामा नाप्दै बस्न थालें। असोज १५ गते सुर्खेतका मित्र डा. हरि सापकोटाको मृत्यृले मनमा चिसो पस्यो। मन कमजोर बनाउँदै थियो। निजी ल्याबमा स्वाब दिएँ, साँझ सिटी अंक १९ सहित कोरोना पुष्टि भएको रिपोर्ट पाएँ।
तर पनि सार्क तहको आकस्मिक सेवाका लागि अस्पतालहरूको तयारी अर्थात् खोपको भर्चुअल तालिम भएकाले ज्वरो, रक्तचाप, अक्सिजनको मात्रा हेर्दै सहभागी भएँ। भोलिपल्ट अक्सिजनको मात्रा ९७ प्रतिशतबाट घट्यो। सुक्खा खोकी सुरु भयो, अक्सिजनको मात्रा ९० भन्दा तल र खोकी बढ्दै गएपछि घर फर्किएँ। तातो पानी, औषधि, घोप्टो परेर सुत्ने गर्दा पनि श्वास फेर्न गाह्रो हुँदै गयो। अक्सिजनको मात्रा ८५ तिर पुगेपछि र समस्या थपिँदै गएपछि बाँच्न सकिँदैन होला, मृत्यु भएकाहरूको प्रतिशतमै समाहित भइन्छ भन्ने लागिसकेको थियो।
संक्रमणले च्याप्दै गएका बेला मोबाइल फोनको आवाजले झनै व्यथा थप्दो रहेछ। डा. अनुप बाँस्तोलाले तुरुन्त अस्पताल पुग्न भनेपछि टेकु अस्पताल पुगें। बेड रहेनछ। आकस्मिक कक्षमै भए पनि उपचार गर्ने सहमतिअनुसार काम सुरु भयो। चिकित्सक साथीहरूले सिटी स्क्यानपछि आईसीयू बेडमा पु¥याए। आईसीयूमा पुग्नासाथ नसा खोल्ने, अक्सिजन जोड्ने र आवश्यक परीक्षणका काम भए। अक्सिजन जोड्नासाथ सहज भई स्वर्गमा पुगेझैं आनन्द भयो। खोकी कम भयो र निद्र्रा लाग्न सक्ने अवस्थामा पुगें। अब त बाँचिन्छ भन्ने आशा जाग्यो।
सिटी स्क्यानमा दुवै फोक्सोमा निमोनिया भई गम्भीर एआरडीएस अर्थात् सेभेर कोभिड १९ निमोनिया देखिएछ। उपचारमा सबै औषधि ट्रायलमा भएकाले लक्षणअनुसारका औषधि सेप्ट्राक्जोन, डेक्सोना, हेपारिन, एट्रोभास्टाटिन, पेन्टाप्रोजल, लेभासेट्रिजिन, लिनाग्लिप्टिन, मेटफर्मिन, इन्सुलिन प्रयोग हुन थाल्यो। इन्सुलिनका दैनिक ८ वटा कुनै नाइटो वरिपरि, कुनै तिघ्रामा त कुनै सलाइन र नसाबाट दिँदै साथै सल्लाहमा रेम्डेसिभिर पनि बेलुकाबाटै सुरु भयो। मधुमेहको बिरामी, त्यो पनि धपेडीका कारण नियन्त्रणमा रहन नसकेकाले पनि उपचारका क्रममा त्यो नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो।
मुखबाट खाने औषधि, बिहान रातिको सुई र त्यही अनुसारको रगतमा चिनीको मात्रा हेर्न पटक पटक तानिने रगतले कष्ट त धेरै दिएको थियो तर सहज र स्वस्थ हुने आसमा सबै गौण भए। सरकारले १४ दिनमा डिस्चार्ज गर्ने भने पनि एक हप्तामा स्वास्थ्यमा उल्लेखनीय सुधार, परिवार नै चिकित्सक र स्वाबमा सिटी भ्यालु ३४ देखिएकाले घर आउने इच्छा जाहेर गर्दै चिकित्सकहरूलाई अनुरोध गरेँ। १० दिनको होम क्वारेन्टिन र एक हप्तापछिको फलोअप अनिवार्य मान्ने सर्तमा असोज २८ देखि डिस्चार्ज भई घरमा बसें। दैनिक रक्तचाप, अक्सिजनको मात्रा, तापक्रम आदि नियमित पटक पटक हेर्दै व्यवस्थित खानपान र जीवनशैलीमा बस्दै छु। एक सातापछि फलोअपमा जाँदा गरेको स्वाब नेगेटिभ र सिटी स्क्यानमा निमोनिया र दागहरू भर्ना भएको बेलालाई १०० मान्ने हो भने ७० ठीक भएको छ भन्ने खबरले खुसी भएँ।
हालसम्म उपलब्ध कोरोनासम्बन्धी खोजसँग मेरो लक्षण, संक्रमणको स्रोत, निको अवधि सबै तालमेल गरिरहँदा ठ्याक्कै संक्रमणको स्रोत पत्ता लगाउन सकेको छैन। सुगर नियन्त्रणमा राख्न र निमोनिया पूरै हटाउन तथा केही पोस्ट् कोभिड सिन्ड्रोमलाई निमिट्यान्न पार्न हरसमय लागिपरेको छु, छिट्टै निको हुनेमा विश्वस्त छु।
के गर्ने के नगर्ने ?
१. कसैमा विश्वास नगर्ने : के ठूला के साना, के साथी के परिवार; कसैलाई पनि कोरोना छैन होला भन्ने ग्यारेन्टी नगर्नुहोस्। जसलाई पनि कोरोना भएको छ
भन्ने सोच्ने।
२. रोगलाई सामान्य मान्ने र भन्ने नगरौं: रोगले कसैलाई लक्षण नदेखाउला त कसैलाई सामान्य लक्षण तर जसलाई जटिलता हुन्छ, उसलाई मृत्यु वा मृत्युको मुखमा पु¥याउँछ। निको भए पनि विविध पोस्ट् कोभिड सिन्ड्रोम छोडेर जान्छ।
३. चाडबाडमा सचेत बनांै: भेटघाटले घरमै बस्ने ज्येष्ठ नागरिक, दीर्घ रोगीसँगै बढी सम्पर्क हुने भएकाले संक्रमणबाट जोगाउन जो जहाँ छौं, त्यहीँ पर्व मनाऔं। भर्चुअल माध्यम प्रयोग गरौं।
४. निको भए पनि अजम्बरी नठानौं : पोस्ट् कोभिड सिन्ड्रोमले दुःख दिइरहन्छ, पुनः संक्रमण झन् कडा हुनसक्छ।
५. अक्सिजन घरघरमा राखौं: सबैले थर्माेमिटर र पल्स अक्सिमेट्री घरमै राखौं। ज्येष्ठ नागरिक र अन्य दीर्घरोग भएका घरपरिवारमा अक्सिजन सिलिन्डर पनि किनेर चलाउन सक्ने गरी घरमै राखौं। अक्सिजनको मात्रा थाहा पाउन अक्सिमेट्री तथा घटिहाले अस्पताल खोज्ने र पु¥याउने समयसम्म बचाउन अक्सिजन सिलिन्डरबाट अक्सिजन प्रयोगको जरुरत पर्छ।
६. यो संक्रमण दुस्मनलाई पनि नहोस्।
७. कहीँ कतैबाट न केस इन्भेस्टिगेसन भयो, न त कन्ट्याक्ट ट्रेसिङ नै।
८. मलाई ४९ वर्षमा मानिस र समाज चिन्ने अवसर कोरोनाले दियो। घरपरिवारका अतिरिक्त सहपाठीले समेत यस्तो बेलामा पनि कोरोनामै खटिनुपर्ने, फिल्ड जानुपर्ने र सँगै घर तथा कार्यालयमा बस्ने र बैठक गर्ने भनेर हामी चिकित्सकलाई पनि कोरोना लगाई हत्या गर्न खोजेको भन्दै हत्याराको आरोप लगाएछन्।
९. गाउँघरमा देख्दै र समाचारमा सुन्दै आएको छुवाछूतको प्रत्यक्ष पीडक भइयो। छुवाछूतमा पीडकलाई कस्तो महसुस हुँदो रहेछ भन्ने अनुभव पनि भयो।