तिलिचोमा ह्याप्पी बर्थ डे !
हेरेर आँखा नथाक्ने र वर्णन गर्दा शब्द कम हुने सुन्दरता छ हाम्रो देशमा। विश्वभरका मानिस नेपालको प्राकृतिक सौन्दर्यमा लट्ठिन आउँछन्। हामीचाहिँ कहिले घुम्ने ? कोभिड–१९ लाई हामी केहीले अवसर ठान्यौं। कोरोना कहरको नवौं महिना कात्तिक। मिलेसम्म हरेक हप्ता पोखरा आसपासका डाँडाकाँडा चढ्ने बानी। साइकलमै तिलिचो ताल जाने समूह मिलेपछि नजाने कुरै भएन। घुम्दा रमाइलो त छँदै छ, अझै साइकल वातावरण र स्वास्थ्यका हिसाबले पनि अत्यन्तै फाइदाजनक। अर्को कुरा रहनसहन र भौगोलिक विविधतालाई नजिकबाट अवलोकन गर्न पाइन्छ।
यात्राका संयोजक धर्मसिंह लामिछाने, सहसंयोजक लक्ष्मण सुनार, पोखरा माउन्टेन बाइक एडभेन्चर प्रालिका प्रमुख जगन विश्वकर्मा, साइकलिस्ट शेखर श्रेष्ठ, विनोद थापा, कुमार गुरुङ, राजीव पालिखे, विश्वास गुरुङ, खड्कबहादुर विक र स्तम्भकारको समूह बन्यो। पोखराबाट बेँसीसहरसम्म दुईवटा जिपको व्यवस्था आयोजक पोखरा माउन्टेन बाइक एड्भेन्चरले गरेको थियो। कात्तिक २१ गते बिहान ८ बजे पोखराबाट निस्केको टोली गाडी चढेर लमजुङ बेँसीसहर पुग्यो। अब साइकल यात्रा। बेँसीसहरबाट ताल, च्याम्चे हुँदै धारापानी पुग्यौं। पहाडका भित्ता फोडेर बनाइएका बाटा। च्याम्चेबाट अलिमाथि ताल भन्ने ठाउँ छ। पहिले त्यहाँ पानी जमेको रहेछ, पहिरोले बाँध पुरिदिएपछि ताल नाम राखिएको स्थानीयको भनाइ छ। गाउँछेउमा झरना।
अर्कोपट्टि मस्र्याङ्दी। साह्रै रमाइलो छ हेर्नलाई तर बर्खामा त्यहाँका बासिन्दाको मन आधा हुन्छ। बेलुकी ७ बजे धारापानी पुग्यौं। नारसुङ गाउँपालिकामा पर्ने धारापानीमा करिब २७ होटल छन्। सिजनको यो समयमा पर्यटक देख्न नपाएका होटल सञ्चालक बिर्ख गुरुङ र उर्मिला गुरुङले स्वागत गरे। लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका वीरबहादुर गुरुङ ९ महिनापछि आन्तरिक पर्यटन देख्दा दंग परिन्। भोलिको यात्रा चामेसम्मको थियो।
दोस्रो दिनको यात्रामा निस्कनै लाग्दा टोलीनेता लामिछानेकी आमा सिकिस्त भएको खबर आयो। फर्कने तरखर गरेपछि झस्कें। एक्कासि आत्मविश्वास घट्न थाल्यो, आँखा भरिएर आए। फर्कौंजस्तो लाग्यो। ‘डन्ट गिभ अप, तिमीे ५० प्रतिशत सफल भइसक्यौ। विस्तारै जानु यो कुनै प्रतिस्पर्धा होइन’, उहाँले ढाडस दिनुभयो। मस्र्याङ्दीलाई दाहिने पार्दै पहरा छिचोल्दै अघि बढ्यौं। तिमाङ गाउँ पुग्दा बालबालिकालाई हामी अर्कै ग्रहबाट आएका झैं भयौं।
३ बजेतिर चामे पुग्यौं। भोलिपल्ट बिहान आँखा खुल्दा झ्यालबाट अन्नपूर्ण हिमाल नजिकै देखियो। अन्नपूर्णको सौन्दर्यले भावुक बनायो। एकछिन हिमालमा हराउँदै अन्नपूर्ण स्त्रोत्रमा रमाएँ। हिमाल छेउछाउ पुगेर होला, चिसोले हातखुट्टा कठ्यांग्रिएर साइकल चलाउन अप्ठेरो भयो। आज भने विस्तारै साइकल चलाउँदै प्रकृतिसँग रमाउँदै गफिँदै फोटोमा भौगोलिक विकटता कैद गर्न थालें। भ्राताङमा भ्राताङ एग्रो फार्मका सञ्चालक सोमराज गुरुङले स्याउका ६७ हजार बिरुवा रहेको र सबैभन्दा ठूलो स्याउ फार्म भएको बताए। स्याउको स्वाद लिँदै उकाली ओराली गर्दै ढिकुरपोखरी पुग्यौं।
साँझ ५:३० बजे मनाङ पुग्दा तस्बिरमा देखिएको मनाङ गाउँ आँखाभरि भयो। भर्चुअल दुनियाँ र भौतिक दुनियाँबीच निकै बेर द्वन्द्व चल्यो। आखिर भौतिक धरातल नै यथार्थ थियो। भौतिकमा पाउने वास्तविक मजा भर्चुअल दुनियाँमा कहाँ ? ३४ किलोमिटर साइकल चलाएर त्यो स्थानमा पुग्दाको मजा कहाँ ? होटलको छतबाट देखिएका सौन्दर्य कैद गर्न आपसी प्रतिस्पर्धा नै चल्यो। थकान हो या हाई अल्टिच्युट, गहिरो निद्रा पर्न सकेन। सबेरै उठेर योग गरे। बेस क्याम्प जाने तरखर गर्यौं। बिहानीपख मनाङ झनै रमाइलो देखियो। चिसो सिरेटोले मन चोरेर लगेझैं भयो। डेढ घण्टामा खाङसार पुग्दा घामले गज्जबले स्वागत गर्यो, अनौठो लाग्यो। खाङसार गाउँ हेरिरहूँ भयो। उता सेताम्मे खुलेको गंगपूर्ण र अन्नपूर्ण तेस्रोलाई नियाल्दै हिँड्दा त यत्रो यात्राको थकान कहाँ पुग्यो कहाँ ?
डोल्पाका केशव बुढामगर उकालोमा दुईवटा सिमेन्टका बोरा खप्टिएर फर्कंदै थिए। मन कटक्क खायो, हामीलाई घुम्दा पनि पुगेको छ, कसैलाई दिनरात भारी बोक्दा पनि पुग्दैन...। परिवारसँग बसेर पुग्ने भए यो रूखो चिसोमा कसलाई काम गर्न मन होला र ? खाङछारबाट श्रीखर्क पुग्दा भोकले पेटमा मुसा दगुरिरहेका थिए। भोजन होइन, हामीलाई भोक मीठो भयो। होटल सञ्चालक नुर छिरिङ र छिरिङ छोरतेङको खानाको बलले अत्यन्तै जोखिमपूर्ण यात्रा पनि सहज गरायो। भिरालो जमिनमा खोल्सा र पहाड फोडेर बनाइएका गोरेटा बाटा। खुट्टाले अलिकति मात्र बिरायो भने सीधै खोलामा। तल हेर्दा रिँगटा छुट्ने, माथि आँखा घुमाए विशाल ढुंगाले गइस् तँ आज’ भनेझैंं लाग्ने। सुक्खा पहिरो जाने क्षेत्रले भूत बनेर तर्सायो। अन्तत: तिलिचो बेस क्याम्प देख्यौं, मन यसै यसै खुसीले ढक्क भयो। नजिकै लागेर के गर्नु, पुग्न निकै समय लाग्यो। बेस क्याम्पमै बस्यौं, भोलि बिहान तिलिचोलाई भेट्ने र माया साट्ने वाचाका साथ निद्रादेवीको काखमा लुटपुटियौं।
सबेरै ४ बजेतिर तिलिचो ताल चुम्न अघि बढ्यौं। त्यहाँ निकै चिसो हुने भएकाले १० मिनेट पनि बस्न सकिँदैन भन्ने सुनेकी थिएँ। बेस क्याम्पबाट बिहानीपखको रातमा देखेको आकाशको जगमगाउँदो तारामण्डल चिसो हावा, सेताम्य हिमाल अनि मस्र्याङ्दी सुसाएको आवाज, हाम्रो फुलेको स्वास, अहो ! जीवनमा भुल्न नसक्ने क्षण बनेर मानसपटलमा जोडिए। त्यो बिहानको हिँडाइ जति आनन्द र शान्ति कहिल्यै महसुस गरेकी थिइनँ। सास फुलेर २०/२५ पाइला हिँडेपछि रोकियो। लामो सास फेर्यो, फेरि पाइला चाल्यो। हजारौं पटकको यही निरन्तरतापछि चार घण्टामा तिलिचो ताल पुग्यौं। बेस क्याम्पबाट पाँच किलोमिटर ठाडो उकालो। सास फुस्केर एकै चोटि माथि पुगिएलाजस्तो। सबै सँगै पुग्न सकेनौं। लक्ष्मण सुनार र कुमार दाइको पाइला पहिलो भए। सबै भेला भएपछि एकछिन तालमै हरायौं, सबै थकान शरीरबाट फुत्त कतै भागेजस्तो...।
कुमार दाइले कफी खाने व्यवस्था मिलाउनुभयो। कफीसँगै ‘ह्याप्पी बर्थ डे टु यु दुर्गा मिस’ भन्दा त सबै अचम्म। सबैलाई सरप्राइज दिँदै तिलिचोलाई साक्षी राखेर जन्मदिन मनायौं। पहिलो पटक प्रकृतिमा हराउँदै रमाएर जन्मदिन, त्यो पनि विशेष माहोलमा मनाइयो। आँखाअगाडि तिलिचो पिक र अन्य हिमाल। फोटा खिच्नसम्म खिच्यौं। हावाले मुटु काँप्न थाल्यो। स्वर्ग भनेको यही होला, मनबाट स्वर्ग शब्द निस्केर तिलिचोतिर कतै बिलायो। तिलिचो त्यो पनि साइकलमा ! असम्भव लाग्थ्यो। पुगेर आएपछि त्यो हाउगुजी पनि हरायो।