बीपीको डायरी दूरदर्शिताको दस्तावेज

बीपीको डायरी दूरदर्शिताको दस्तावेज

हालसम्मका नेपाली नेतालाई दस्तावेजीकरणका लागि अवार्ड दिने हो भने बीपी कोइरालाले नै पाउँथे होला। खुला राजनीतिका व्यस्त दिनदेखि बन्दीगृहका फुर्सदिला दिनसम्मका दस्तावेज हेर्ने हो भने त बीपीलाई एक अवार्ड मात्रैले पुग्दैन। दस्तावेजीकरणका हस्ती बीपीको पछिल्लो समयमा आएको छ, बीपी कोइरालाको डायरी। शिखा बुक्सले ल्याएको डायरीमा बीपीको ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ भन्दा भिन्न कथा छ।

२०१६ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री भएपछिका डायरी मात्रै छन् अहिले बजारमा। यो डायरी कोइराला जननिर्वाचित प्रधानमन्त्री हुनुअगाडिको हो। नेपालमा जहानियाँ राणा शासन अन्त्य भएर सुरु भएको नयाँ राजनीतिक व्यवस्थाको साढे ६ वर्षको बीपीको दैनिक दस्तावेज र दृष्टिकोण छ डायरीमा। डायरीको पनि रोचक कथा रहेछ। पदमबहादुर थापाले दिल्लीको नेहरू स्मारक तथा संग्रहालयमा भेटेको बीपी कोइरालाका अप्रकाशित डायरीलाई बीपीपुत्र प्रा.डा. शशांक कोइरालाको सिफारिसमा ल्याइएको हो। अंग्रेजी भाषाको डायरीलाई नेपालीमा महेश पौड्यालले अनुवाद गरेका छन्। डायरीमा २००८ वैशाख २५ देखि २०१३ कात्तिक २७ सम्मका बीपीका दैनिकी समेटिएका छन्। १९८ पृष्ठको डायरीको शुभारम्भ यात्राबाट भएर यात्रामै टुंगिन्छ। डायरीमा बीपीले दिएका दृष्टिकोण कसरी समयक्रममा सही हुन आए भन्ने ८ वटा प्रसंगका बुँदागत चर्चा :

नेपालको उत्तरी सीमाका भारतीय चेकपोस्ट बन्द

२००८ चैत्र ५ को डायरीमा बीपी लेख्छन्, ‘भारतबाट सैन्य मिसन नेपाल आएको विषयलाई लिएर नेपाली सेनाभित्र ठूलो रुष्टता थियो। नेपाली सेना निकै संवेदनशील बनेको थियो।’ बीपी पनि संवेदनशील थिए। नेपाली कांग्रेसले भारतीय सैन्य मिसन हटाउने निर्णय गरेको थियो। २००९ चैत्र १७ मा वीरगन्जबाट लेखेका छन्, ‘गेराशल जाँदा र फर्कंदा ठाउँठाउँमा मैले कांग्रेस कार्यकर्ता भेटें र उनीहरूलाई भारतीय जनसेवा अधिकारी तथा भारतीय सैन्य मिसन फिर्ता पठाउनुपर्नेबारे कार्यसमितिको निर्णय सुनाएँ।’ यस बारेमा उनले २०१० साउन २६ को डायरीमा लेखेका छन्, ‘पटनामा मैले केही आक्रोशित पत्रकारको पनि सामना गर्नुपर्‍यो।’

नेपालमा जहानियाँ राणा शासन अन्त्य भएर सुरु भएको नयाँ राजनीतिक व्यवस्थाको साढे ६ वर्षको बीपीको दैनिक दस्तावेज र दृष्टिकोण छ डायरीमा।

नेपालको परराष्ट्र नीतिमा पीएचडी गरेका भारतीय प्राध्यापक डाक्टर एसडी मुनिको पुस्तक ‘फरेन पोलेसी अफ नेपाल’ का अनुसार सन् १९५२ को फेब्रुअरी महिनामा आएको मिसनमा सुरुमा २० सैनिक अफिसर थिए भने पछि बढेर १९७ जना पुगे। नेपालमा भारतीय सैन्य मिसन आएको १८ वर्षपछि मात्रै फिर्ता भएको थियो। सन् २०१५ को डिसेम्बर १४ मा सान कोबनले रेकर्ड नेपाल डटकममा लेखेको एक आलेख अनुसार उत्तरी सीमामा रहेका भारतीय चेकपोस्ट हटाउन कीर्तिनिधि विष्टले सन् १९६९ को सेप्टेम्बर महिनामा सम्झौता गरेका थिए। १९७० को अगस्टभित्र कालापानीबाहेकको क्षेत्रमा रहेका भारतीय सैन्य पोस्टहरू हटेका थिए।

चीनसँगको सम्बन्धको स्वागत
भारतमा जन्मेको नेपाली कांग्रेसका संस्थापक हुन् बीपी। दिल्लीमा भारतकै समन्वयमा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय दल नेपाली कांग्रेस, निर्वासित राजा त्रिभुवन र तत्कालीन सत्तारूढ राणाबीच तीनबुँदे सहमतिको घोषणा २००७ पुस १७ गते भएको थियो। कांग्रेसले हतियार बिसाउने सबैलाई आममाफी दिने, नियममा रहेर राजनीतिक दलहरू खोल्न र गतिविधि सञ्चालन गर्न पाउने तथा राजा त्रिभुवनलाई पुन: राजा मान्नेजस्ता तीनबुँदे सम्झौता गराउन सफल भारत 

२००७ फागुन ७ मा राणा र कांग्रेसको सहमतीय सरकार बनाउनसमेत सफल भएको थियो। तर, भारतले नेपालको चीनसँग सम्बन्ध बनाउनेमा असहमति जनाएको थियो। यो मुद्दामा भारतीय आशीर्वाद पाएका राजा त्रिभुवन लचक थिए। चीनसँग जोडिएको उत्तरी सीमामा भारतीय सैन्य पोस्ट राख्न अनुमति दिएको नजिरबाट पनि यो प्रस्ट हुन्छ।

बीपी भने भारतसँगै उत्तरी छिमेकी चीनसँग पनि सन्तुलित सम्बन्ध बनाउनुपर्ने पक्षमा थिए। महेन्द्र राजा भएपछि २०१२ साउन १२ मा लेखेको डायरीमा बीपीले भनेका छन्, ‘कूटनीतिक सम्बन्धको सुरुवातका लागि एउटा चिनियाँ प्रतिनिधिमण्डल राजधानी आइपुगेको थियो। वार्ताहरू अन्त्यन्तै गोप्य रूपमा सम्पन्न भए। यसबारे सल्लाह नगरेको भन्दै भारतीय पक्ष रुष्ट पनि थियो तर मैले यी वार्ताहरूको स्वागत गरेको थिएँ।’ २०१२ साउन १७ मा बीपीले डायरी लेखे, ‘आज चीनसँग नेपालले सम्झौतामा हस्ताक्षर गर्‍यो। यो चीनसँग दौत्य सम्बन्धको सुरुवात र नेपाली राजनीतिमा नयाँ पक्षको प्रवेश थियो।’ 

राष्ट्रिय शत्तिाm हुन नसक्ने साम्प्रदायिक दल 
चन्द्रेश्वरप्रसाद नारायण सिंह (सीपीएन) भन्ने नेपालका लागि दोस्रा भारतीय राजदूतसँगको कुराकानीमा बीपीले उनी कांग्रेसको तत्कालीन प्रतिस्पर्धी मानिने गोर्खा परिषद्सँग निकट भएको २००९ वैशाख २३ को डायरीमा उल्लेख गरेका छन्। सिंहले के कारण गोर्खा परिषद् राष्ट्रिय शक्ति हुँदैन भन्ने प्रश्नमा बीपीले उक्त पार्टी राष्ट्रिय दल हुन नसक्नुको नम्बर १ कारण उसको साम्प्रदायिक चरित्र भनेका छन्। उनी तिनै शक्तिशाली भारतीय राजदूत थिए जसले त्रिभुवनलाई दूतावासमा शरण दिएर दिल्ली उडाएका थिए। सिंहलाई बीपीले साम्प्रदायिक चरित्रको दल भएकाले राष्ट्रिय गोर्खा परिषद्ले राष्ट्रिय शक्ति नहुने भनेको व्याख्या पूरा पनि भयो।

महेन्द्र युवराज हुँदै ‘कु’ र निर्दलीयता अभ्यासको पूर्वानुमान
बीपी २०१६ जेठ १३ मा प्रधानमन्त्री बने। उनको कार्यकाल २०१७ पुस १ गतेसम्म रह्यो। १८ महिना १८ दिनसम्म चलेको बीपी कोइराला सरकारलाई तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेर हटाए। महेन्द्र अत्यधिक सत्तामोहमा छन् भन्ने सुइँको बीपीले ‘कु’ हुुनुभन्दा ६ वर्षपहिले नै अनुमान गरेका थिए। २०११ फागुन १० गतेको डायरीमा यसतर्फ संकेत गर्दै बीपीले लेखेका छन्, ‘युवराजले एक रेडियो सन्देशमार्फत कुशल शासनका लागि विभिन्न राजनीतिक पार्टी र सामाजिक संस्थाहरूबाट सुझावका लागि आह्वान गरे। यो सूचना षड्यन्त्रको पराकाष्ठा थियो। पहलहरू राजनीतिक पार्टीलाई बाहिर राखेर गरिँदैथ्यो। यस्ता कदमले थप अन्योल मात्रै सिर्जना गरिरहेका थिए।’

धर्म निरपेक्षको सार्वजनिक वकालत
नेपालमा सुरु भएको धर्म निरपेक्षताको बहसले २०६२/६३ सालको जनआन्दोलनपछि मात्रै संस्थागत रूप लियो। पुनस्र्थापित संसद्ले २०६३ जेठ ४ गते धर्म निरपेक्ष घोषणा गरेको कुरा संविधानसभाबाट पारित भएर २०७२ असोज ३ मा जारी भएको छ। यही कुराको माग बीपीले भाषणहरूमा गरेका छन्। २०१३ चैत्र ८ गते तनहँुपछि भिमाद भन्ने स्थानमा भाषण गरेका मुख्य पाँच बुँदामा तेस्रो बुँदामा बीपीले धर्मको कुरा उठान गरेको उक्त दिनको डायरीमा छ।

पहाडमा व्यवस्थित एकीकृत नमुना बस्ती
बीपीले २००८ भदौ १५ मा धनकुटा यात्राको डायरीमा भनेका छन्, ‘ऊर्जावान् युवाको समूह बनाउने, त्यसमा प्राविधिक, इन्जिनियर, ओभरसियर, कृषि वैज्ञानिक, चिकित्सक आदि सबैलाई एकै भूगोलमा पुनर्बास गराएर नमुना गाउँको विकास गर्ने। त्यस्तो रचनात्मक कार्य हामीले मन्त्री भएर गरेको ठूल्ठूला गफभन्दा धेरै उत्कृष्ट हुनेछ।’

डा. तुलसी गिरी र विश्वबन्धुमाथिको टिप्पणी
२०१२ चैत्र ४ गतेको डायरीमा बीपीले दुई सहयोगी डाक्टर तुलसी गिरी र विश्वबन्धु थापाको बारेमा शंकालु टिप्पणी गरेका छन्। लेखेका छन्, ‘विश्वबन्धु र तुलसी गिरी मप्रति ठूलो निष्ठाका साथ समर्पित थिए तर दुवैमा एउटा कमी देखें। उनीहरू भविष्यप्रति बढी नै चिन्तित थिए। ज्यादै महत्वाकांक्षी पनि। कार्यसमितिमा सामेल नगरेको विषयलाई उनीहरूले मनमा लिएका रहेछन्। यो जानेर म चिन्तित भएँ।’ बीपीले टिप्पणी गरेझैं ६ वर्ष पूरा नपुग्दै बीपी सरकारकै सवारीमन्त्री गिरी महेन्द्रको सत्तामा सवार भए। २०१५ सालको चुनावबाट दुई तिहाइ प्राप्त दल नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतक रहेका विश्वबन्धु पनि महेन्द्रको प्रमुख हर्ताकर्ता भएर २०१७ पुस १ को महेन्द्रको ‘कु’ पछि उतै मिसिएर बीपीको टिप्पणीलाई सही साबित गरिदिए।

कवि देवकोटा र कलाकार बाङ्देलको व्याख्या 
बीपीको डायरीमा कमैमात्र मान्छेको प्रशंसा गरिएको छ। जसको गरिएको छ, उनीहरूको कालान्तरमा इतिहासमा नाम पनि छ। यस्ता दुई उदाहरण हुन्, महाकवि देवकोटा र महान् नेपाली चित्रकार लैनसिंह बाङ्देल। २००९ माघ ११ मा पछि महाकवि कहलिएका उनका बारेमा बीपीले लेखेका थिए, ‘कवि लक्ष्मीप्रसाद देवकोटाले हामीलाई एउटा चिया–पार्टीमा बोलाए। मैले देवकोटाजीका केही कविता प्रेमपूर्वक सुनें। उनी एक असामान्य प्रतिभा थिए। उनी एक यस्ता कलाकार थिए, जसमाथि कुनै पनि मुलुकले गर्व गर्न सक्थ्यो।’ २०१३ सालको पहिलो युरोप यात्रामा बीपीले भदौ ४ मा बेलायतमा रहेका बाङ्देलसँगको भेटपछि लेखेका छन्, ‘दिउँसो बाङ्देलसँग बाहिर निस्किएँ। उनले मलाई आफ्नो रोजाइ र निखारले निकै प्रभाव पारे।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.