चीनको कोइला खानीमा ग्यास चुहिँदा १८ जनाको मृत्यु
दक्षिणपश्चिम चीनस्थित एक कोइला खानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ। शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो । खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्।
सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घटनाहरू भइरहन्छन्। डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो । उक्त खानी दुई महिनादेखि बन्द थियो । गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो ।
गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइला खानीमा विस्फोटन हुँदा १४ जनाको मृत्यु भएको थियो।