गुइँठा नै इन्धन
जोमसोम : उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका समुद्री सतहबाट ४ हजार मिटर उचाइमा अवस्थित छन्। यी ठाउँमा वन नहुँदा आगो बाल्न दाउरा पाइन्न। विद्युत् नपुगेकाले हिटरलगायत विद्युतीय सामानको प्रयोग पनि सम्भव छैन। न खाना पकाउने एलपी ग्यास नै पाइन्छ। त्यही भएर स्थानीयले इन्धनका रूपमा गुइँठा प्रयोग गर्दै आएका छन्।
यहाँको भौगोलिक अवस्था सुक्खा पठार र नांगो डाँडाकाडा भएकाले दाउराको विकल्पमा खाना पकाउन र चिसोबाट सुरक्षित रहन गुइँठालाई इन्धनका रूपमा प्रयोग गर्न बाध्य हुनु परेको लोमान्थाङ–३ ठिंगरका टसी नर्बु गुरुङ बताउँछन्। गुरुङका अनुसार याक चांैरी र घोडा खच्चडको गोबरलाई एक सातासम्म घाममा सुकाएर गुइँठा बनाई खाना पकाउन र आगो ताप्न उपयोग गर्ने गरिएको हो।
लोमान्थाङ-४ किम्लिङका छिरिङ ढिन्डु गुरुङ कृषिका लागि मलका रूपमा प्रयोग गरिने गुइँठाले इन्धनको काम गरेको बताउँछन्। चाइनिज चुल्होमा सल्काएर खाना बनाउन, पशुचौपायाका लागि कुँडो पकाउन र जाडोबाट बच्न आगो ताप्न गुइँठा वरदान साबित भएको उनको भनाइ छ। उनका अनुसार उक्त फलामे चुलो चीनको स्वशासित क्षेत्र तिब्बतबाट आयात गर्ने गरिएको छ।
चुलोमा फलामे पाइप जडान गरी घरको छतमाथि धुवाँको निकास गरिन्छ। यो चुलोको मूल्य १५ देखि २० हजार रुपैयाँसम्म पर्ने लोमान्थाङ–५ का आंगेल गुरुङ सुनाउँछन्। उनका अनुसार गुइँठा चुल्होमा राखेपछि निर्बाध रूपमा सल्किन्छ।
बर्सेनि एक बाली मात्र हुने उपल्लो मुस्ताङमा स्थानीयले हिउँदयाममा गुइँठा नै बालेर जाडो छल्ने गर्छन्। स्थानीयवासी यसपटक त कोरोना भाइरस महामारीको कहरका कारण गाउँमै बस्न बाध्य छन्। उपल्लो मुस्ताङमा यति खेर तापक्रम माइनस १५ डिग्रीमा झरेकाले अत्यधिक चिसो छ। अधिकांश स्थानीय विगतमा यो बेला जाडो छल्न घुम्ती व्यापार गर्दै बेंसी झरिसकेका हुन्थे। अत्यधिक चिसो हुने र खेतीपातीको कामकाजसमेत नहुने भएकाले हिउँदमा बेंसी झर्नुपर्ने परम्परा रहेको छिरिङ ढिन्डु सुनाउँछन्। ‘हिउँदमा केही घर कुरुवा तथा पशुचौपाया रेखदेखमा गोठाला र वृद्धवृद्धा गाउँमै बस्थे’, उनी भन्छन्, ‘तर, यसपटक कोरोना भाइरस संक्रमण जोखिमका कारण उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीय गाउँमै बस्न बाध्य हुनुपरेको छ।’
टसी नर्बुका अनुसार कोरोनाका कारण घुम्ती कमाइ गुमेकाले रोगभन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता बढेको छ। ‘उपल्लो मुस्ताङमा हिउँद याममा जाडोको समस्या त हुने नै भयो। त्यसमाथि त गाउँ नै ढाकिने गरी हिमपात पर्छ’, उनी भन्छन्, ‘मानिस र पशुचौपायालाई उत्तिकै सास्ती हुन्छ। बालबालिका र ज्येष्ठ नागरिकलाई रुखाघोकी र निमोनियाको सम्भावना रहन्छ।’
ग्यासको तुलनामा कम खर्चिलो हुने भएकाले गुइँठा प्रयोगकर्ता बढी भएको जनाइएको छ। उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेकाले धारा, सेफ्टी ट्यांकी र शाखा नदीहरू जमेकाले दैनिक क्रियाकलापमा समस्या परेको छ। धारामा पानी नआएपछि जमेको बरफलाई तताएर खाना पकाउन र खान प्रयोग गरिएको छ।