श्वेताको जुर्यो लगन
काठमाडौं : नायिका श्वेता खड्काको विवाहको लगन जुरेको छ। मंसिर २२ मा उनको विवाह पक्का भएको छ।
नायिका खड्का धनगढीका विजयेन्द्र सिंह रावतसँग वैवाहिक बन्धनमा बाँधिन लागेकी हुन्। उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए। श्वेताको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। यसअघि ती दुईको मंसिर ५ मै विवाहको हल्ला चलेको थियो। त्यसलाई श्वेताले अफवाह भनेकी थिइन्। मंसिर २२ मा हुने विवाहको भने उनले पुष्टि गरेकी छन्।
नायिका खड्का फिल्म ‘कहाँ भेटिएला’बाट नेपाली रजट पटमा पाइला टेकेकी थिइन्। उनले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ मा विवाह गरेकोमा २०७१ साउन २५ मा श्रीकृष्णको भारतमा उपचारका क्रममा निधन भएको थियो। श्रीकृष्णको निधनपछि पनि श्वेता चलचित्र क्षेत्र छाडिनन्, उनले ‘कान्छी’ फिल्म निर्माण पनि गरिन्। साथै श्रीकृष्णकै नाममा फाउन्डेसन खडा गरी समाजसेवा पनि अघि बढाइन्।