सहकारी बजार सुरु

सहकारी बजार सुरु

काठमाडौं : तरकारी तथा फलफूल बजारमा बिचौलियाको बिगबिगी छ। किसानले उचित मूल्य पाउन सकेको छैनन्। उपभोक्ताले चर्को मूल्यमा तरकारी तथा फलफूल किन्न बाध्य छन्। बिचौलिया अन्त्य गर्न पहिलोपटक काठमाडौंको चाबहिलमा केन्द्रीय सहकारी बजार स्थापना भएको छ। 

कालिमाटी तथा बल्खुमा तरकारीका ठूला बजार छन्। ती बजारबाट कृषकले उचित मूल्य पाउन सकेका छैनन्। कम्तीमा ५/६ तहमा किनबेच भई कालिमाटीसम्म आइपुग्दा तरकारी महँगो हुने गरेको छ। सहकारी बजार स्थापना भएसँगै उपभोक्ताले चर्को मूल्यमा तरकारी तथा फलफूल किन्नुपर्ने बाध्यता अन्त्य हुने देखिएको छ।  

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी बजारले कृषक र उपभोक्ता दुवैले राहत पाउने बताइन्। शुक्रबारदेखि उद्घाटन भएको सहकारी बजारको व्यवस्थापन कृषि, बिउ, तरकारी तथा फलफूल केन्द्रीय संघले गर्नेछ। ‘अब किसानको उत्पादन सिधैं बजारमा आउनेछ र उपभोक्ताले समेत सस्तोमा किन्न पाउनेछन्’, मन्त्री अर्यालले भनिन्।

सुरुमा किसानले आफूले उत्पादन गरेको फलफूल र तरकारी सहकारी संस्था हुँदै संकलन केन्द्रमा जम्मा हुनेछ। किसानको उत्पादनको उचित मूल्य दिएर उक्त फलफूल र तरकारी संकलन केन्द्रले खरिद गर्नेछ। सरकारले किसानलाई दिनुपर्ने मूल्य र उपभोक्ताका लागि बजार मूल्यसमेत तोक्न सक्नेछ। किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने बजार मूल्यबीच ठूलो अन्तर भने हुने छैन। 

बजारमा चिस्यान केन्द्र, प्रयोगशाला, लेभलिङ, प्याकेजिङ, ग्रेडिङको काम हुन्छ। किसानले उत्पादन गरेका तरकारी र फलफूलले मूल्य पाउन नसकेपछि बजार सुनिश्चितताका लागि सहकारी बजार स्थापना गरेको हो।

मन्त्रालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी)को सहयोगमा सहकारी बजार स्थापना गर्न लागेको हो। ललितपुरको महालक्ष्मी नगरपालिका पनि पूर्वाधारको निर्माण भइरहेको छ। काठमाडौं आसपासका ६ जिल्लामा संकलन केन्द्र तथा सहकारी बजार स्थापना हुनेछ। 

मन्त्रालयका उपसचिव अनन्त बस्नेतका अनुसार गाउँमा उत्पादन भएको तरकारी सहकारीमार्फत केन्द्रीय बजारसम्म आइपुग्नेछ। कतिपय सहकारीले आफ्ना सदस्यबाट उत्पादन तरकारी तथा फलपूल बजारसम्म ल्याउन सक्छन्। केन्द्रीय संघले आफ्नै गाडीबाट पनि संकलन केन्द्रबाट तरकारी तथा फलफूल बजारसम्म ल्याउन सक्नेछ। 

फलफूल र तरकारी उत्पादन हुने नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, चितवनमा संकलन केन्द्र तथा तरकारी बजार र काठमाडौं उपत्यकामा तीन ठाउँमा तरकारी बजार स्थापना गर्ने तयारी सरकारको छ। तरकारी तथा फलफूलको बिक्रीमा बिचौलिया अन्त्य गर्न सरकारले साझेदारीमा पहिलो चरणमा ६ जिल्लामा सहकारी बजार स्थापना गर्न लागेको हो। मन्त्री अर्यालले देशव्यापीरुपमा सहकारी बजार गर्न आवश्यक भएको बताइन्। 

मन्त्रालयले बजार सञ्चालनका लागि निर्देशिकाको मस्यौदाको नमूना बनाएको छ। संघ तथा सहकारीले नमूना मस्यौदा आधार बनाएर निर्देशिका जारी गरी साझेदारी गर्न सक्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.