आन्दोलन, नारीवाद र संशय

आन्दोलन, नारीवाद र संशय

नारीवाद आजको दिनसम्म आइपुग्न विश्वस्तरमा उर्लेका विभिन्न छाल र यसका उपलब्धिका बारेमा प्रशस्तै विवेचना हुने गरेका छन्। अभियान सुरु भएदेखि धेरै प्रकारका उछालसँग सामना गर्दै नारीवाद आजको दिनसम्म आइपुगेको हो। त्यस्तै नारीवादबारेको मान्यता र दृष्टिकोणले पनि प्रशस्तै विविधता झेलेको छ। नारीवादी आन्दोलनलाई हेर्ने दृष्टिकोण नारीबीचमै समेत एकसमान नभएको यसको इतिहास र वर्तमानले प्रस्ट पार्छ।

नारीवाद, राजनीतिक तथा सामाजिक आन्दोलनका क्रममा अगाडि सारिएको एक विचारधारा हो, जसले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यक्तिगत तहमा रहेको लैंगिक विभेद अन्त्य गर्दै विश्वव्यापी रूपमा लैंगिक समतामूलक समाज स्थापना गर्ने लक्ष्य बोकेको छ। अठारौं शताब्दीमा नारीवादी अवधारणा सुरु हुनुअघि युरोप अमेरिकामा समेत महिलाको स्थिति राम्रो थिएन। उनीहरू घरायसी कामकाज र पुरुषका सहायकका रूपमा मात्र चिनिन्थे। सन् १७८९-१७९० को फ्रान्सेली राज्यक्रान्ति र सन् १९८३ मै सम्पन्न अमेरिकी क्रान्तिले अमेरिका र युरोपेली मुलुकमा प्रजातान्त्रिक अधिकार र स्वतन्त्रता हासिल गरायो तर त्यसबाट लाभ लिने केवल पुरुषहरू मात्र देखिए। महिलालाई आफ्ना स्वविवेक प्रयोग गर्ने, शिक्षा हासिल गर्ने, रोजगार प्राप्त गर्ने तथा रोजगार महिलालाई पुरुषसरह समान ज्यालाको हक थिएन। यिनै कारणले ओलम्यदी गोगेस, मेरी उल्स्टोक्राफ्टजस्ता चेतनशील महिला आन्दोलित भए र पुरुषसरह समान् हैसियत र अधिकार प्राप्तिका लागि नारीवाद अगाडि सारियो। उनीहरूको सम्बोधन विश्वभरकै आमनारीका लागि थियो। पुरुष दासत्वबाट मुक्त भएर स्वतन्त्र र निर्णायक हुने क्षमता हरेक नारीले विकास गर्नुपर्छ भन्ने उद्घोषका साथ अभियान सुरु भएको थियो। अभियान अघि बढ्दै जाँदा महिलाले उपलब्धि हासिल गर्दैरहे। सुरुवातदेखि अहिलेको अवस्थासम्म आइपुग्दा नारीवादी आन्दोलनले गौरवमय इतिहास बनाइसकेको देखिन्छ।

हरेक मुलुकमा त्यस देशका महिलाद्वारा सञ्चालित आन्दोलन मात्र हैन, विश्वस्तरमै लैंगिक समानता स्थापनाका लागि संयुक्त राष्ट्रसंघको प्रयास पनि उल्लेखनीय छ। राष्ट्रसंघले सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेर ‘सबै मानव स्वतन्त्र जन्मन्छन्, अधिकार र मर्यादाको हिसाबले सबै समान छन्’ भन्ने उद्घोष गर्‍यो। सदस्य देशका लागि बाध्यकारी बनाउन घोषणापत्रकै प्रावधानलाई समावेश गरेर सन् १९६६ मा नागरिक तथा राजनीतिक अधिकार अनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार विषयक दुई अनुबन्ध ल्याइए। दुवै अनुबन्धलाई अनुमोदन गर्ने मुलुकले पनि नागरिकबीच लैंगिक समानताको मुद्दालाई निश्चित उचाइमा पुर्‍याउन सकेनन्। विश्वस्तरमा लैंगिक समानता कायम गर्न सन् १९७९ मा राष्ट्रसंघले ‘महिलाविरुद्धका सबै प्रकारका भेदभावविरुद्धको महासन्धि’ पारित गरेर सदस्य देशहरूलाई लैंगिक समता स्थापना गर्न निर्देश गर्‍यो। त्यसयता राष्ट्रसंघअन्तर्गत महिलासम्बन्धी अन्य दर्जनौं दस्ताबेज तथा संयन्त्र बनेका छन् तर व्यवहारमा समकक्षी पुरुषको तुलनामा जुनसुकै मुलुकका महिला अझै पछाडि नै छन्। प्रजातन्त्र र मानवअधिकारको दुहाइ दिने अमेरिकाजस्तो समृद्ध देशले अत्यन्तै बहिस्करणमा परेको अश्वेत समुदायका व्यक्तिलाई स्वीकारिसक्दासमेत महिलालाई राष्ट्रपतिमा स्वीकार्न सकेको छैन। विकासोन्मुखदेखि विकसित मुलुकमा लैंगिक विभेद देशकै परिवेशअनुसार कायम छ। तसर्थ विश्वस्तरमा लैंगिक समानताका नारा अझै घन्किरहेको छ। नारीवादी आन्दोलन चलिरहेको छ तर सुरुवातदेखि अहिलेसम्म पनि नारीवादी आन्दोलनले पुरुषको सट्टा महिलाको आधिपत्य कायम हुनुपर्छ भनेको छैन, महिलाद्वारा अब पुरुष प्रताडित हुनुपर्छ भन्ने माग राखेको छैन तर नारीवादको नाम सुन्नासाथ धेरैजसो पुरुष त्यहीखाले बुझाइले ग्रस्त देखिन्छन्।

हुन त नारीवादी आन्दोलन अघि बढ्ने क्रममा उग्र–नारीवाद (र्‍याडिकल फेमिनिज्म) ले पनि प्रवेश नपाएको हैन। पुरुषको अस्तित्व नै नस्वीकार्ने र महिलाको मात्रै एकाधिकार चाहने मान्यताको उग्र नारीवादले विश्वस्तरमा तरंग त ल्यायो तर नारीवादी आन्दोलनको खास लक्ष्यलाई त्यसले आत्मसात गर्दैन। यो किन पनि मूल प्रवाहको नारीवादभन्दा भिन्न छ भने यसले सबै पुरुषप्रति घृणाभाव जगाउँछ जबकि नारीवादी आन्दोलनलाई यस चरणसम्म पुर्‍याउन प्रो–फेमिनिस्ट (नारीवादको सक्रिय समर्थन गर्ने पुरुष) को पनि महत्त्वपूर्ण भूमिका छ। 

महिलाभित्र नारीवादी चेतना घुसाउन तथा त्यसलाई निरन्तर समृद्ध बनाउन लागिपर्ने पुरुषहरू हरेक देशमा छन्। उनीहरूको भूमिकालाई निस्तेज बनाउनेभन्दा एकाकार भएरै अघि बढ्दा नारीवादले छिटो लक्ष्य भेट्टाउँछ। नारीवादअन्तर्गतको उग्र विचारधाराको अस्तित्व साघुरिँदै गएकाले यसप्रति चिन्तित हुनुपर्ने अवस्था भने देखिन्न।

यथार्थसँग मेल नखाए पनि नारीवाद भन्ने शब्दले महिलामात्रैको एकाधिकार वा वर्चश्व हो कि भन्ने भान गराउँछ। तसर्थ नारीवाद भनेकै पितृसत्ता हटाएर मातृसत्ता कायम गर्नु हो भन्ने कतिपयका निष्कर्षलाई नारीवाद शब्दले सहयोग पुर्‍याएको हुनुपर्छ। महिलाको बोलवाला रहेको समाज निर्माण भए निरीह र पीडित हुने पालो पुरुषहरूको भन्ने टिप्पणी सर्वत्र सुनिएकै छ। कतिपय महिला लेखकले समाजमा पुरुषहरूको ‘होल्ड’ गुमिरहेको चर्चासँगै ‘बाईसौं शताब्दी महिलाहरूको शताब्दी बन्ने’ उल्लेख गर्दै आलेखहरू लेख्ने गरेका छन्  र ‘दि एन्ड अफ मेन : एन्ड दि राइज अफ वोमेन’ पुस्तकको प्रसंग पनि बेलाबेला उठ्ने गर्छ। जसका कारण नारीवादबारे त्यस्तै धारणा बनाउनेहरू अझ त्रस्त बनेको देखिन्छ। 

नारीवाद शब्दकै कारण लैंगिक समानतालाई असफल गराउन उद्यत् हुने स्थिति रहिरह्यो भने यसले समग्र महिला आन्दोलनलाई नै नकारात्मक प्रभाव पार्ने प्रस्ट छ जबकि नारीवादले लैंगिक समतामूलक समाजको मात्र वकालत गर्छ न कि महिलाद्वारा पुरुषप्रताडित हुने युगको सुरुवात। 

विगतमा पद्मकन्या क्याम्पसभित्र कुनै कामले प्रवेश गरेको पुरुषलाई छात्राको जमातले गर्ने उखरमाउलो व्यवहार र पार्ने हतासा यससँग मिल्ने एउटा गतिलो उदाहरण हो। जसका कारण काम परेर कुनै पुरुष पद्मकन्या कलेज जानुपर्‍यो भने उसको नौनाडी पहिल्यै गलिसक्थ्यो। त्यस्तै महिला मात्र उपस्थित हुने भेला, तीज, रत्यौलीलगायतका थलोमा महिलाका बोली र व्यवहारमा देखिने छाडापन र पुरुषप्रतिको पटाक्षेपले एकल वर्चश्व कुनै पनि समुदायको ठीक नहुनेतर्फ इंगित गर्दछ।

नारीवाद भनेको पुरुषलाई परास्त गर्ने आन्दोलन हैन, पुरुषकै समकक्षमा पुगेर साथसाथ अघि बढ्ने स्वाभाविक अभियानतर्फको यात्रा हो। तर शाब्दिक अर्थमा नारीवाद भन्नेबित्तिकै महिलाको मात्रै साम्राज्य खडा गर्न ल्याइएको अवधारणा भनेर बुझाइराख्ने पुरुषहरू नारीवादले लक्ष्य भेटेमा आफ्नो अस्तित्व बाँकी नरहने त्रासमा छन्, जसका कारण नारीवाद मात्रै हैन, समग्र नारीप्रति समेत उनीहरू सकारात्मक बन्न नसकेको प्रस्ट छ। पहिलो, महिलामात्रैको अधिनायकत्व स्थापित हुने भनेर बुझिने नारीवाद शब्द परिमार्जन गरेर लैंगिक समानताको पक्षपोषण गर्ने अर्को कुनै शब्द चयन गरिनुपर्छ। दोस्रो, नारीवाद शब्द नै प्रयोग गरिरहने हो भने महिला पुरुषको बराबरी हिस्सेदारीयुक्त समाज निर्माण गर्ने यसको स्पष्ट लक्ष्यबारेमा घनीभूत रूपले सचेतना फैलाउन जरुरी छ तर महिलाको जारी आन्दोलन र नारीवाद लैंगिक समानताकै लागि हो भन्ने बुझेर पनि अर्घेल्याईं गर्ने पुरुषका दृष्टिकोणलाई भने परास्त गर्दै अगाडि बढ्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.