बेलायती रानी एलिजाबेथले कोभिड विरुद्धको खोप लगाउने
लण्डन: बेलायती रानी एलिजाबेथ (द्धित्तीय) ले अबको केही हप्तामै बेलायतमै तयार भएको कोभिड १९ विरुद्धको खोप फाइजर-बायोनटेक लगाउनेछिन् ।
आगामी सातादेखि प्रयोगका लागि स्वीकृति पाएको उक्त खोप राजपरिवारकी सदस्य एलिजाबेथले पनि लगाउने भएकी हुन् । ९४ वर्षीय रानी र उनका पति ९९ वर्षीय प्रिन्स फिलिपले उक्त खोप लगाउने बताइएको छ।
गत बुधबार बेलायतमा फाइजर-बायोनटेक भ्याक्सिनलाई प्रयोग गर्न अनुमति दिइएको हो । यद्यपि अमेरिकी विज्ञहरुले यसलाई स्वीकृति दिन हतारो भएको टिप्पणी गरेका छन् ।
यस्तै बेलायती अधिकारीहरुका अनुसार वृद्ध-वृद्धा, उनीहरुलाई हेरचाह गर्नेहरु र स्वास्थ्यकर्मीहरु खोप प्रयोगको पहिलो प्राथमिकतामा पर्नेछन् । फलस्वरुप स्वास्थ्यकर्मीहरु र ८० वर्षमाथिका वृद्धावस्थाका मानिसलाई लक्षित गरिनेछ ।
बेलायती रानी एलिजाबेथले खोप लगाउने भन्नुअघि नै अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन उपराष्ट्रपति कमला ह्यारिस सहित तीन जना पूर्वराष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामाले पनि खोप लगाउने बताएका थिए ।
यद्यपि बेलायतमा विकास भएको खोप फाइजर नै विश्वभर सबैभन्दा छिटो प्रयोगका लागि स्वीकृति पाएको खोप हो । अमेरिकाले तयार पारेको खोपको पनि अन्तिम चरणको क्लिनिकल परीक्षणको काम सम्पन्न भइसकेको छ ।