अमेरिकी राष्ट्रिय सुरक्षामा चिनियाँ कम्युनिस्ट पार्टी खतरा: अमेरिका
वासिंटन: चिनियाँ कम्युनिस्ट पार्टीप्रति प्रश्न उठाउँदै अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी राष्ट्रिय सुरक्षाका लागि चिनियाँ कम्युनिस्ट पार्टी खतरा रहेको आरोप लगाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले चिनियाँ कम्युनिस्ट पार्टी सहित ८० वटा चिनियाँ कम्पनीहरुको सूची तयार पार्दै यस्तो प्रश्न उठाएको हो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकी खुद्रा लगानीकर्ताहरुले अन्जानमै सैनिक उत्पादनमा संलग्न ती चिनियाँ कम्पनीहरुमा लगानी गरेका छन् ।
रक्षा मन्त्रालयले हालै एक विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेको हो । 'चिनियाँ कम्युनिस्ट पार्टीको अमेरिकी राष्ट्रिय सुरक्षाको खतरा हाम्रो वित्तिय बजारमा फैलिएको छ । र यसले अमेरिकी लगानीकर्ताहरुलाई असर पुगेको छ,' अमेरिकाले दावी गरेको छ ।
साथै चिनियाँ ती कम्पनीहरुले नागरिकमाथि निगरानी तथा मानवअधिकार दमनका लागि काम गरिरहेको पनि अमेरिकी दावी छ । यस्तै केही कम्पनीले छिजियाङस्थित उघुर र अन्य स्थानका मुस्लिम अल्पसंख्यक समूहमाथि दमन तथा भेनेजुएला र इरान जस्ता दमनकारी व्यवस्थाका लागि पनि सघाएको अमेरिकी विज्ञप्तिमा उल्लेख छ ।
उक्त सूचीमा चिनियाँ एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, एभिएसन इन्डस्ट्री कर्पोरेशन अफ चाइना, हुवेइ टेक्नोलीजी, चाइना स्पेसकास्ट लगायत कम्पनीको नाम पनि अमेरिकी रक्षा मन्त्रालयको सूचीमा छ । पछिल्लो समय चीन र अमेरिकाबीच तिक्ततापूर्ण सम्बन्धका बीच अमेरिकाले यस्तो सूची तयार पारेको हो ।