भक्तपुरमा कोरोना : एकसय ११ जनाको मृत्यु, ८ सय ७५ सक्रिय संक्रमित
भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या एकसय ११ जना पुगेको छ । ७० पुरुष र ४१ महिला गरी एकसय ११ जनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका २७ पुरुष र १५ महिला गरी ४२ जना संक्रमितले ज्यान गुमाएका छन् । भक्तपुरपछि मध्यपुर थिमि नपाका २४ पुरुष र १२ महिला गरी ३६ जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै सूर्यविनायक नपाका १३ महिला र १२ पुरुष गरी २५ जना तथा चाँगुनारायण नपाका ७ पुरुष र एक महिला गरी ८ संक्रमितको मृत्यु भएको कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
८ हजार ४ सय ९७ संक्रमित
प्रमुख मिजारले अहिलेसम्म भक्तपुरमा संक्रमितको कूल संख्या ८ हजार ४ सय ९७ जना पुगेको बताए । जसमा ४ हजार ७ सय ९६ पुरुष र ३ हजार ७ सय एक महिला रहेका छन् ।
यहाँका चार नपामध्ये मध्यपुर थिमि नपामा सर्वाधिक संक्रमित रहेका छन् । यहाँ एकहजार ७ सय २८ पुरुष र एकहजार ३ सय ९३ महिला गरी कूल ३ हजार एकसय २१ जना संक्रमित रहेका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेको सूर्यविनायक नपामा एकहजार ५ सय ५४ पुरुष र एकहजार एकसय ३५ महिला गरी कूल २ हजार ६ सय ८९ जना संक्रमित पुगेका छन् ।
भक्तपुर नपामा ८ सय ८३ पुरुष र ७ सय ८६ महिला गरी कूल एक हजार ६ सय ६९ संक्रमित पुग्दा चाँगुनारायण नपामा ४ सय ८५ पुरुष र २ सय ८६ महिला गरी कूल ७ सय ७१ संक्रमित पुगेका छन् ।
सक्रिय संक्रमित ८ सय ७५ मात्रै
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार यहाँ सक्रिय संक्रमित ८ सय ७५ जनामात्रै रहेका छन् । जसमा पुरुष ४ सय ७६ र महिला ४ सय ७ रहेका छन् ।
भक्तपुरका ८८.३९ प्रतिशत कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।
कूल संक्रमितमध्ये ७ हजार ५ सय ११ जना संक्रमण निको भएर घर फकिएको कार्यालयका प्रमुख मिजारले जानकारी दिए । उनका अनुसार ४ हजार २ सय ५८ पुरुष र ३ हजार २ सय ५३ महिला डिस्चार्ज भएका हुन् ।
सक्रिय संक्रमितमध्ये ४ सय २६ पुरुष र ३ सय ७६ महिला गरी ८ सय २ जना होम आइसोलेसनमा रहेका छन् । यो संख्या सक्रिय संक्रमितको ९१.६५ प्रतिशत हो ।
भक्तपुरका ४२ पुरुष र ३१ महिला गरी ७३ जना संक्रमितमात्रै अस्पताल तथा नपाले सञ्चालन गरेको आइसोलेसनमा रहेका छन् ।