५३ वर्षपछि नयाँ टर्मिनल

५३ वर्षपछि नयाँ टर्मिनल

जनकपुरधाम : जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवनबाट सेवा सञ्चालन भएको छ। १८ जना यात्रु बोक्ने सानो जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म जेनतेन सेवा सञ्चालन भएको थियो। भवन अभावमा यात्रुलाई न्यूनतम सेवा सुविधासमेत पाउन गाह्रो भएको बेला नवनिर्मित अत्याधुनिक टर्मिनल भवनबाट मंगलबारदेखि सेवा सञ्चालन हुने जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले बताए। 

४२ करोडको लागतमा चार रोपनी जग्गामा निर्माण गरिएको नयाँ टर्मिनल भवन नेपालकै पहिलो स्टिल स्ट्रक्चरको भवन रहेको जनकपुर विमानस्थल टर्मिनल भवन निर्माण आयोजनाका प्रमुख नलविक्रम थापाले बताए। ‘यस भवनमा तत्कालै सात सय यात्रु एक पटक राखेर सेवा दिन मिल्ने व्यवस्था छ। त्यसैगरी सीसीटीभी, फायर अलार्म, सञ्चार सेवा, भीआईपी कक्ष, आमाबच्चा स्यहार कक्ष, धूमपान क्षेत्रको समेत बन्दोबस्त मिलाइएको छ’, थापाले अन्नपूर्णसँग भने, ‘उल्लिखित बजेटबाटै ३५ जना सुरक्षाकर्मीका लागि आवासगृह, ८० वटा कार र १ सय ५० वटा मोटरसाइकलको पार्किङ स्थल, बगैंचा र अन्य संरचना पनि निर्माण गरिएको छ।’

२०६९ कात्तिकमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले पहिलो चरणमा १८ करोडको लागतमा निर्माण कार्य शिलान्यास गरेका थिए। डेढ वर्षमै काम सक्ने गरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो। तर, निर्माण कम्पनीले समयमा काम नगरी आलटाल गरेपछि ठेक्का तोडेर दोस्रो चरणमा थेगिन जाल्वा उमा एन्ड कम्पनी जेभीसँग सम्झौता गरी काम सम्पन्न गरिएको हो। 

‘पुरानो भवनमा ठाउँ अभावले एयरलाइन्सको काउन्टर राख्न पनि समस्या थियो’, बुद्ध एयरलाइन्सका जनकपुर स्टेसन म्यानेजर विजय सिंहले भने, ‘प्यासेन्जरलाई न्यूनतम सेवासुविधा दिन पनि कठिन थियो तर अब नयाँ भवन भएपछि सेवा विस्तारको अवसर पनि विमान कम्पनीले पाउनेछन्।’ जनकपुरमा कार्यालय राख्न खोज्ने विमान कम्पनीलाई पनि अब सेवा विस्तारको अवसर मिल्ने सिंह बताउँछन्। 

हाल यहाँबाट बुद्ध एयरलाइन्सको ३ वटा यती एयरलाइन्सको १ र श्री एयरलाइन्सको १ गरी पाँचवटा विमान सञ्चालित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.