सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले भने- संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हौं
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न गणतन्त्र इतर सबै दल एक हुनुपर्ने बताएका छन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन्। बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पारेका थिए।
पछिल्लो समय मुलुकभर एकातिर राजतन्त्र पक्षधरको प्रदर्शन भइरहेको छ भने अर्कोतिर विप्लवले हिंसात्मक राजनीति जारी राखेको छ। प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका छन् । बैठकमा सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।
नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए। उक्त छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटेको थियो।