चट्टानी भीरमा मह सिकार (फोटो फिचर)

चट्टानी भीरमा मह सिकार (फोटो फिचर)

पोखरा : जङ्गली मौरी (भीर मौरी) चट्टानी भीरमा बस्ने गर्दछन् । आफूलाई सुरक्षित राख्न पहाडका भीरपाखा जङ्गली मौरीको रोजाइँ हुने गर्दछ । बाँदर लड्ने भीरमा मह सिकार गर्नु सजिलो छैन् । 

त्यस्ता डरलाग्दो भीरमा मह सिकारी डोरीको भर्‍याङ्को सहायतामा मह सिकार गर्न मौरीसँग पौठेजोरी खोल्छन् । कास्कीको मादी गाउँपालिका ७ थाकको जंगलमा यसै साता मह सिकार गर्नेको मेला नै लाग्यो । थाक गाउँबाट २ घण्टा बाक्लो वनको भीर पाखाको हिँडाइ पछि चट्टानी भीर देखा पर्छ । त्यही चट्टानी भीरमा ५६ वटा भीर मौरीको स्याखु जत्रा चाका बनाएका छन् । 

तिनै भीरमौरीले जम्मा गरी आवश्यक पर्दा खान साँचेर राखेको महमा सिकारीको आँखा लाग्छ । मह सिकार गर्न सिकारी र गाउँले मौरीसँग पौठेजोरी खोज्छन् । बिहान सबेरै भीरमौरी सिकार गर्न पुगेको टोलीले चट्टानी भीरको फेदमा पुगेर स्याउला सल्काएर आगो बाल्छन् । 

बेस्सरी धुवाँ मौरीका चाका सम्म पुग्ने गरी सल्काउँछन् । केही मौरी धुवा खप्न नसकेर यता उता भनभनाउँछन् । केहीले त मान्छे भएतिर गएर टोक्ने र भाग्ने मान्छेलाई लखट्ने समेत गर्दछन् । मह जोगाउँन मान्छे सँगको पौठेजोरीमा मौरी धुवाँको कारण पछि हट्न बाध्य हुन्छन् । धुवाँमा मौरी लठ्ठ पर्छन् । मह सिकार गर्न आउनेलाई प्रतिकार गर्न नसक्ने अस्थामा पुग्छन् । 

मह सिकार गर्न सिकारीको समूहले भिरको माथीबाट एउटा डोरी फ्याँक्छन् । त्यही डोरीको सहायताले लठ्ठोको भर‍याङ् भीरमाथि तान्छन र मौरीको चाका लगाएका भीरभन्दा माथि रुखमा बाँध्छन् । सिकारी त्यही भर्‍याङ्को सहयतामा मह सिकार गर्न लामो घोचोको टुप्पोमा आँसी बाँधेर पुग्छन् । जोखिमपूर्ण रुपमा दुई हातले दुईवटा घोचो समाएर मौरीका चाकामा घोच्छन र चाका तल खसाल्छन् । मह निकाल्छन् । 

यति डरलाग्दो भिरमा मादी- २ ताङतिङका ६२ वर्षीय गोरे गुरुङ चढेर एक्लै मह निकालेका हुन् । १६ वर्षको उमेर देखि भीरमौरीको मह निकाल्न थालेका यस क्षेत्रका अहिलेका एक्ला मह सिकारी हुन् उनी । परम्परागत शैलीमै उनले जोखिम पूर्णरुपमा महा निकाले ।

चट्टानी भीरमा चढ्दा अपनाउनु पर्ने सुरक्षाका लागि अहिले विभिन्न साधन बजारमा छन् । चट्टानी भीमा (रक क्लाइमिङ) गर्दा लगाउने हारनेक्स डोरी पनि बजारमा सजिलै पाइन्छ् । युवा पुस्तालाई यस्तो कामका लागि तालिम दिने पनि विज्ञहरु पोखरा बजारमै छन् । 

तर पनि जोखिमपूर्ण रुपमा पुरानै शैलीमा मह काढ्ने काममा गोरे गुरुङ लागिरहेका छन् । उनी भन्छन्,' मेरो हारर्नेस जंगलकै लहरा हुन् । अहिलेसम्म भगवानको साथ पाएको छु।'

भीरमा चढेर मह निकाल्नुअघि उनले सिमे-भूमे, परमेश्वरलाई सम्झे । आफूले नजानेर गरेको गल्तीलाई क्षमा होस भन्दै देवता सम्झेको उनले बताए । चट्टानी पहाडमा डोरीको भर्‍याङ्को सहयतामा उनी उक्लिए र पालै‍पालो सबै चाकाको मह निकाले । उनलाई सहयोग गर्न भीरमाथि, तल सहयोगी जुटे ।

भीर मौरीको मह निकाल्नु साहसिक काम हो । मह सिकारलाई देखाएर गाउँमा पर्यटक पनि तान्ते योजना रहेको मादी गाउँपालिका ७ का वडा अध्यक्ष लालबहादुर गुरुङ बताउँछन् ।

'हामीसँग संस्कृति, प्रकृति मात्र होइन साहसिक मह काड्ने कौशल पनि छ । यही कौशल देखाएर विदेशी मात्र होइन स्वदेशी पर्यटक पनि आकर्षण गछौं,' अध्यक्ष गुरुङले भने।

वर्षका दुई पटक चैत महिना र मंसिर महिनामा मह सिकार गरिन्छ । सुरक्षित रुपमा महा काढ्न युवालाई तालिम पनि दिइने उनले सुनाए । यहाँका झरना, अग्ला चट्टान, वन्यजन्तु पर्यटकलाई देखाएर पर्यटक आकर्षण गर्ने उनले सुनाए ।

कास्कीको प्रख्यात पर्यटकीय गुरुङ गाउँ सिक्लेस जाने बाटोमै पर्छ थाक गाउँ । थाक गाउँ पनि गुरुङ गाउँ नै हो । पोखराको काहुँखोलाबाट १५ किलो मिटरमा पर्छ यो गाउँ । यहाँ आन्तरिक र वाह्य पर्यटकलाई आकर्षण गर्न होमस्टे पनि सुरुवात भएको छ ।

घलेखर्कबाट तारा हिलहुँदै सिक्ले पुग्ने इको ट्रेक अव यो गाउँमा पनि जोडिने भएको छ । अरमला, आटीघर, मौजा, मोरिया, थाक भएर तारा हलि हुँदै सिक्ले पुग्ने नयाँ पदमार्ग विकास हुँदैछ । 

६ दिनको पदयात्रा मार्ग अध्ययन गरी म्याप पनि निकालेको र संचालनको क्रममा रहेको टान पोखराको कार्य समिति सदस्य, स्थानीय पर्यटन व्यवसायी विकास गुरुङले बताए । यसरी भिरमौरीको मह सिकार गरियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.