मानव अधिकार दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन
भक्तपुर : ७२ औं विश्व मानव अधिकार दिवसको पूर्वसन्ध्यामा बुधबार भक्तपुरमा दीप प्रज्ज्वलन गरिएको छ।
नेपाल मानव अधिकार संगठन भक्तपुर जिल्ला शाखाले भक्तपुर नगरपालिका ५ टौमढीस्थित पाँचतले मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो।
प्रत्येक वर्षको १० डिसेम्बरका दिन विश्वभर मानव अधिकार दिवस मनाइँदै आएको छ। सोहीअनुसार उक्त दिवसमो पूर्वसन्ध्यामा भक्तपुरको टौमढीमा दीप प्रज्ज्वलन गरिएको शाखाका सभापति रामकृष्ण मानन्धरले जानकारी दिए।
‘कोरोना भाइरस महामारीको कारण यस वर्ष मानव अधिकार दिवस औपचारिकतामा सीमित गर्न दीप प्रज्ज्वलन गरेका हौं’, उनले भने।
दीप प्रज्ज्वलन कार्यक्रममा संगठनका पूर्वमहासचिव योगेन्द्रमान बिजुक्छे, भक्तपुर जिल्ला शाखाका पूर्वसभापति विश्वमोहन जोही र शाखाका वर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्य र मानव अधिकारवादीहरुको सहभागिता रहेको थियो।
विश्व मानव अधिकार दिवसअन्तर्गत यस वर्षको नारा ‘स्वस्थ बनौं, मानव अधिकारको लागि उठौं : कोरोनाबाट मुक्ति, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना’ तय गरिएको छ।