अर्घाखाँची कांग्रेसले क्रियाशील सदस्यता केन्द्रमा बुझायो
सन्धिखर्क : नेपाली कांग्रेस अर्घाखाँचीले क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुधबार बुझाएको छ । देशभरमा क्रियासिल सदस्यता बुझाउनेमा अर्घाखाँची कांग्रेस प्रथम भएको छ ।
कोरोना भाइरस महामारीबीच क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएर केन्द्रमा पठाएको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान) ले जानकारी दिए ।
नेपाली कांग्रेसका जिल्ला सचिव विष्णुप्रसाद भुसालले आज केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यको विवरण बुझाएका हुन् । पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार क्रियाशीलको विवरण बुझाउने अर्घाखाँची कांग्रेस पहिलो हो । अरू ७३ जिल्लामा क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम भइरहेको छ ।
अर्घाखाँचीबाट ११ हजार आठ सय ७० जना क्रियाशीलको नाम केन्द्रीय कार्यालयमा बुझाएको जानकारी दिए । जुन संख्या २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा जम्मा ६ हजार मात्रै थियो ।
६ वटा स्थानीय तह रहेको अर्घाखाँचीका ४ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पद समेत जितेको छ । ४ स्थानमा जिताउने मुख्य भुमिका नेपाली कांग्रेसका जिल्ला सभापति मुस्कानकै रहेको थियो ।