विवेकशील साझाको एकता महाधिवेशन ६ महिनाभित्र

विवेकशील साझाको एकता महाधिवेशन ६ महिनाभित्र

काठमाडौं : साझा र विवेकशील पार्टी फेरि एक भएका छन्। यसअघि मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने संकल्पसाथ पार्टी एकता भएको १७ महिनामै विभाजित भएका थिए। त्यसपछि भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार दुई पार्टीबीच फेरि एकता भएको हो।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले एकताको सहमतिपत्रमा हस्ताक्षर गरे। यससँगै पार्टीको नाम विवेकशील साझा राखिएको छ भने चुनाव चिह्न र लोगो तराजु छ। तराजु साझाको चुनाव चिह्न थियो। एकीकृत पार्टीमा अध्यक्ष मिश्र र संयोजक पाण्डे छन्।

अध्यक्ष मिश्रले विवेकशील साझा मुलुकको निर्विकल्प पार्टी बन्ने बताए। पार्टी विभाजन आफूहरूको कमजोरी भएको स्विकार्दै उनले गल्ती सच्याएर आफू अगाडि बढ्ने घोषणा गरे। ‘हामी विभाजित भएपछि आमनेपालीको मन दुख्यो। हामीले त्यो महसुस गरेका थियौं। आज हामीले त्यो सच्याऔं’, उनले भने, ‘विवेकशील–साझा पार्टीलाई देशको वैकल्पिक पार्टी होइन, निर्विकल्प पार्टी बनाउँछौं।’

उनले शिक्षा र स्वास्थ्यलाई स्तरीय र निःशुल्क बनाउन चाहेको उल्लेख गरे। साथै, देशको सुशासन, समृद्धि र स्वाभिमान स्थापित गराउने उद्देश्य रहेको बताए।

संयोजक पाण्डेले पार्टी विभाजनलाई ‘राजनीतिक दुर्घटना’को संज्ञा दिँदै विगतमा भएका कमजोरीबाट पाठ सिकेर एकता भएको बताए। ‘हिजो जानेर-नजानेर हामीले यहाँहरूको मन दुखाएका छौं। त्यो पोलिटिकल एक्सिडेन्ट थियो। हामी दुवै पक्षबाट कमजोरी भयो। हिजो भएका कमजोरीप्रति माफी माग्न चाहन्छु,,’ उनले भने, ‘संरचनागत, व्यावहारिक र नीतिगत कमजोरीलाई सच्याएर अगाडि बढ्ने प्रण गरेका छौं।’

उनले विवेकशील साझालाई ‘प्रोग्रेसिभ पार्टी’ बनाउने बताए। ‘पार्टीलाई युवा, महिला, किसान, मजदुर, सीमान्तकृतको पार्टी बनाउनेछौं। यसलाई निर्विकल्प पार्टी बनाउनेछौं,’ उनले भने।

तीन वर्षअघि स्थानीय चुनावअघि स्थापना भएका दुई पार्टीबीच ०७४ साउन ११ गते एकता भएको थियो। दुई संयोजक रहने गरी एक भएको साझा विवेकशील पार्टी ०७५ पुस २७ गते फुटेको थियो।

एकीकृत पार्टीको केन्द्रीय कार्यसमिति १ सय ३० सदस्यीय रहनेछ। दुवै पार्टीबाट ६५-६५ गरी केन्द्रीय सदस्य चयन हुनेछन्। त्यस्तै, दुवै पार्टीबाट १३-१३ सदस्य रहने गरी केन्द्रीय सचिवालय गठन गरिनेछ। दुई महिनाभित्र तल्लो तहका संगठनबीच एकता भइसक्ने जनाइएको छ। ६ महिनाभित्र एकता महाधिवेशन हुनेछ। महाधिवेशनअघि बाधा–अड्चन आए केन्द्रीय समितिले निरुपण गर्नेछ। 

भ्रष्टाचारविरुद्धको अभियान प्रमुख ध्येय रहेकाले भ्रष्टाचार दिवसकै दिन पार्टी एकता गरिएको मिश्रले स्पष्ट पारे। उनले अबको राजनीति कुनै वादमा आधारित नभई मुलुकको समृद्धिलाई केन्द्रमा राखेर हुने बताए। ‘हाम्रो प्रमुख मुद्दा सुशासन, स्वाभिमान र समृद्धि हो,’ पार्टी एकता घोषणा सभालाई भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै भने, ‘शिक्षा र स्वास्थ्य गुणस्तरीय र निःशुल्क बनाउने हाम्रो प्राथमिक मुद्दा हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.