स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने कार्य स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचनाहरू ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने बताएका हुन्।
विश्व मानव अधिकार दिवसका अवसरमा बिहीबार शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्ता असामाजिक र अमानवीय कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्।
प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने बताएका छन्। उनले भने,' आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई नेपाल सरकार सदैव उच्च सम्मान गर्दछ ।'
त्यस्तै लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चार माध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेशा स्वागत गर्ने भन्दै आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सैह्य नहुने उनले स्पष्ट पारे।
यस्तै प्रधानमन्त्री ओलीले कोभिड-१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।
समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्नका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था' ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गरिएको समेत स्मरण गराए ।
'विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणले मानवअधिकारको उपभोगमा चुनौति थपिदिएको छ । यसले बाँच्न पाउने हक पहिलो हक हो भन्ने कुरा पुनःपुष्टि गरेको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले आफ्नो स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त रही कार्य गरिरहेका छन्' सन्देशमा भनिएको छ, 'पूरै अनुभवशून्यताको अवस्थाबाट हामीले यसको रोकथाम, नियन्त्रण र उपचारको काम शुरु गरेका हौं । एउटा पनि परीक्षण गर्न नसक्ने अवस्थाबाट आज हामी एकैदिन हजारौँको सङ्ख्यामा परीक्षण गर्न सक्ने अवस्थामा पुगेका छौं । स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको छ । सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने काम प्रारम्भ भइसकेको छ ।'